समाज

लकडाउन पीडित एक हजार ९३ परिवारलाई राहत

खोटाङको ऐसेलुखर्क गाउँपालिकाकाले काठमाडौं उपत्यकामा बसिरहेको अवस्थामा लकडाउनको मारमा परेका एक हजार भन्दा बढि परिवारलाई राहत प्रदान गरेको छ । ऐसेलुखर्क गाउँपालिका घर भइ हाल काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बसिरहेको अवस्थामा लकडाउनका कारण समस्यामा परेका एक हजार ९३ परिवारलाई राहत प्रदान गरेको हो । लकडाउनका कारण आयमुलक काम गर्न नपाउँदा रोजीरोटी गुमाएर समस्यामा झेलिरहेका परिवारलाई छानेर राहत उपलव्ध गराइएको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए ।  

लकडाउन पीडितलाई प्रतिपरिवार २५ केजी चामल, दुई केजी दाल, एक लिटर तेल र एक केजी नुन राहत स्वरुप बाँडिएको हो । राहत वितरणको काम जारी रहेको गाउँपालिकाले जनाएको छ । हालसम्म ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका १२९ परिवार, ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका ३१५, ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका १४६, ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका ८७, ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीका १६०, ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका १४३ र ऐसेलुखर्क गाउँपालिका–७ माक्पाका ११३ परिवारलाई राहत प्रदान गरिसकिएको अध्यक्ष निरौलाले बताए । शहरमा अलपत्र परेका अतिविपन्न, असहाय र अशक्त मजदुर, विद्यार्थी एबं औषधिउपचारका लागि काठमाडौं उपत्यका पुगेको अवस्थामा अड्किएका नागरिकलाई गाउँपालिकाले शहरमै राहतको व्यवस्था मिलाएको हो ।  

शहरमा बसिरहेको अवस्थामा लकडाउनबाट पीडित भएका परिवारको सहयोगार्थ गाउँपालिकाले १९ लाख ८० हजार खर्च गरेको छ । सुरुमा ९८५ परिवारका लागि राहत व्यवस्था गर्न भनिए पनि कतिपय राहत दिनैपर्ने खालका परिवार छुटेको पाइएकाले उनीहरुलाई समेत राहतको व्यवस्था गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुकुप्रसाद आचार्यले बताए । ‘नौ सय ८५ परिवारका लागि राहत व्यवस्था गर्न रकम पठाइएको थियो,’ आचार्यले भने, ‘तर नदिइ नहुने खालका परिवार पनि छुटेको पाइएकाले उनीहरुलाई समेत राहत बाँड्ने काम भइरहेको छ ।’ 

प्रकाशित: २७ जेष्ठ २०७७ ०७:३८ मंगलबार

राहत लकडाउन पीडित