समाज

लकडाउन पीडित २ सय ६० परिवारलाई राहत

खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोल घर भइ हाल काठमाडौं उपत्यकामा बसिरहेका लकडाउन पीडितलाई राहत वितरण गरिएको छ । बाकाचोल घर भइ हाल काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बसिरहेको अवस्थामा लकडाउनको मारमा परेका २६० परिवारलाई वडा कार्यालय बाकाचोल र मातृभूमी बाकाचोल सेवा समाज नेपालको सहकार्यमा चामल, दाल, नुन, तेल लगायतका खाद्य सामग्री वितरण गरिएको हो ।  

लकडाउनका कारण समस्यामा परेका ३२० परिवारमध्ये २१० परिवारलाई वडा कार्यालय तथा ११० परिवारलाई मातृभूमी बाकाचोल सेवा समाजमार्फत राहत वितरण भइरहेको छ । लकडाउनका कारण समस्यामा परेका परिवारमध्ये ६० परिवारलाई राहत पुर्‍याउन बाँकी रहेको मातृभूमी बाकाचोल सेवा समाज नेपालका सचिव तुलसीराम पुरीले बताए । लकडाउन पिडितलाई प्रतिपरिवार २५ केजी चामल, २ केजी दाल, १ केजी नुन र १ लिटर तेल वितरण भइरहेको छ ।  

लकडाउन पीडित वडाबासीको राहतका लागि वडा कार्यालयले ४ लाख २० हजार रकम पठाएको थियो । मातृभूमी बाकाचोल सेवा समाजले भने ‘हुने परिवारबाट लिएर नहुने परिवारलाई’ वितरण गरिरहेको जनाएको छ । बाकाचोलका वडाध्यक्ष सन्तबीर तामाङ र वडासदस्य जयकुमार तामाङबीचको द्धन्द्धका कारण लकडाउन पीडितलाई राहत वितरणमा समस्या सिर्जना भएको स्थानीयको भनाई छ । वडा कार्यालयको राहत वितरणकाक्रममा वास्तविक लकडाउन पीडित छुटेको गुनासो आएपछि त्यस्ता छुटेका परिवारलाई मातृभूमी बाकाचोल सेवा समाजले राहतको व्यवस्था मिलाइरहेको जनाएको छ ।  

बाकाचोल घर भइ काठमाडौं बसिरहेका युवाले स्थापना गरेको समाजले सुरुदेखि नै मजदुर, विद्यार्थी, अपांग र असहाय जिल्लाबासीलाई नागरिकलाई राहतको प्रवन्ध मिलाउँदै आएको छ । 

प्रकाशित: २६ जेष्ठ २०७७ ०९:०८ सोमबार

राहत लकडाउन पीडित