समाज

डोटीको क्वारेन्टिनमा भारतबाट आएका युवकको मृत्यु

पाँचदिनअघि भारतबाट आएर डोटीको एक क्वारेन्टिनमा बसेका १९ वर्षिय युवकको मृत्यु भएको छ। केआई सिंह गाउँपालिका–३ को सीताराम आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेको सोही ठाउँका युवकको आइतबार बिहान मुत्यु भएको हो।

उनी यही जेठ १९ गते भारतको लुधियानाबाट नेपाल भित्रिएका हुन्। त्यसपछि २० गते डोटी पुगेर गाउँपालिकाले व्यवस्थापन गरेको क्वारेन्टिनमा बसेका थिए।  

आइतबार बिहान करिब ३ बजे मृत्यु भएको क्वारेन्टिनमा बसेका अन्यहरुले बताएका छन्। उनी मुटुको रोगी भएको बुझिएको छ। उक्त क्वारेन्टिनमा तीन महिलासहित १० जना छन्।

मृत्युपछि स्वास्थ्य कार्यालय डोटीले उनको थ्रोट स्वाब संकलनका लागि टोली पठाएको छ।  ‘उक्त क्वारेन्टिनमा रहेका १० जनाकै स्वाब संकलन गरी आजै धनगढी पठाउछौं,’स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले  भने,‘ सकेसम्म साँझसम्म रिपोर्ट आउँछ।’ उनको पीसीआर रिपार्ट नआएसम्म दाहसंस्कार नहुने जनाइएको छ।

प्रकाशित: २५ जेष्ठ २०७७ ०३:३० आइतबार

युवकको मृत्यु