समाज

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुमा कोरोना भाइरसको जोखिम

पहिलो पंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुमा कोरोना भाइरसको जोखिम बढेको छ ।  पछिल्लो तथ्याङ्क अनुसार नागरिकको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरु  बढी जोखिममा देखिएका छन् ।  

लकडाउनको ५९ औँ दिनसम्म आइपुग्दा उपत्यकामा मात्रै २ जनामा प्रहरीमा कोरोना पोजेटिभ देखिएको छ । संक्रमण देखिएका अन्य जिल्लामा पनि सुरक्षाकर्मीहरुमा संक्रमण देखिएको छ । लकडाउनको लामो समयसम्म चुपचाप बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय परीक्षणको दायरा बढाएको छ । जोखिममा रहेर पहिलो पंक्तिमा काम गर्ने स्वास्थ्यर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुको अवस्थालाई मध्यनजर गर्दै पीसीआर र आरडिटी परीक्षणलाई तिव्रता दिइएको मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले बताए।

कुनै पनि व्यक्तिमा कोरोना संक्रमण पुष्टि हुनु भन्दा पहिले सुरक्षाकर्मीको सम्पर्कमा बढी आउने भएकाले सुरक्षाकर्मीहरुमा संक्रमण जोखिम बढेको उनले बताए। सीमा नाकामा नागरिकहरुको व्यवस्थापन, क्वारेन्टाइन व्यवस्थापनमा बढी खटिनुपर्ने भएकाले भौतिक दुरी कायम गर्न, ड्युटीमा रहेको समयमा पनि स्यानिटाइजरको प्रयोग लगायत अन्य स्वास्थ्य सुरक्षाका उपाय अपनाउन उनले आग्रह गरे।

सह प्रवक्ता अधिकारीले स्वास्थ्यकर्मीहरुलाई समेत सावधान भएर उपचारमा खटिन आग्रह गरे। आफूले जानेका कुराहरु सावधानिका साथ व्यवहारमा लागु गर्न उनले आग्रह गरे । मन्त्रालयका अनुसार अहिले सम्म काठमाडौंमा २, कपिलवस्तुमा २, धनकुटा र बारामा १÷१ जनामा प्रहरीमा कोरोना संक्रमण देखिएको छ । यस्तै काठमाडौं, भक्तपुर, सुनसरी र कपिलवस्तुमा १÷१ जना सशस्त्र प्रहरीलाई पनि संक्रमण देखिएको छ । प्रदेशन नम्बर २ मा भने नेपाली सेनाका २ जना अधिकारीहरुलाई संक्रमण पुष्टि भइसकेको छ ।

फिल्डमा कम जनशक्ति परिचालन गर्ने र कार्यावधि बढाई सुरक्षा प्रबन्ध मिलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) मुख्यालयले निर्देशन पनि दिएका छन् । बुधबार महानगरीय प्रहरी वृत कालिमाटी अन्तर्गत खटिएका २ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ । यसबाट सुरक्षाकर्मीहरुले पनि आवश्यक स्वास्थ्य सावधानी अपनाएर मात्र काम गर्नुपर्ने देखिन्छ । प्रहरी मुख्यालयले पनि सोही अनुसार नै काम गर्न निर्देशन दिइसकेको छ ।

प्रकाशित: ८ जेष्ठ २०७७ १३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App