समाज

कोरोना संक्रमित फेला परेसँगै हलेसी तुवाचुङ नगरपालिका सिल

एक जना कोरोना संक्रमित फेला परेसँगै खोटाङको हलेसी तुवाचुङ नगरपालिकालाई सिल गरिएको छ। काठमाडौंबाट आएका हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका एक २० वर्षीय युवालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पूष्टि भएपछि नगरपालिकालाई सिल गरिएको हो। संक्रमित फेला परेसँगै नगरपालिका प्रवेश गर्न र बाहिरिन रोक लगाइएको मेयर इवन राईले बताए। नगरपालिकाभित्र सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ।  

यस्तै, संक्रमित युवाको गाउँसँगै रहेको हलेसीबजारलाई पूर्णरुपमा सिल गरिएको छ। बिहान र बेलुका अत्यावश्यक सामग्री किनमेलका लागि हलेसीबजार खुला गर्ने गरिएको भए पनि मंगलबार बिहानदेखि पूर्णरुपमा ठप्प पारिएको मेयर राईले बताए। हलेसीमा हिँडडुल गर्न, सवारी साधन चलाउन पूर्णरुपमा रोक लगाइएको छ। यस्तै, संक्रमित युवाको घरलाई पनि सिल गरिएको छ। कोरोना भाइरसको संक्रमण भए/नभएको यकिन गर्नका लागि नगरपालिकाबाट धरान पठाइएका ३३ जनाको स्वावमध्ये सोमबार साँझ उनको पिसिआर रिपोर्ट पोजिटिभ आएको थियो। शहरमा बसिरहेको अवस्थामा लकडाउनको मारमा परेका स्थानीयलाई नगरपालिकाले उद्धार गरेर गाउँ ल्याउनेक्रममा उनी बैशाख १२ गते बसमार्फत गाउँ आएका थिए। गाउँ आएपछि उनी होम क्वारेन्टाइनमा बसेको नगरपालिकाले जनाएको छ।  

संक्रमितलाई बिराटनगर पठाउने तयारी  

कोरोनाको संक्रमण भएको पुष्टि भए लगत्तै युवालाई आइसोलेसनमा राखिएको छ। उनलाई उपचारका लागि बिराटनगरस्थित कोरोना अस्पताल पठाउने तयारी भइरहेको छ। यस्तै संक्रमित युवाका आठ जनाको परिवार, उनी सँगै बसमा यात्रा गरेका व्यक्ती, उनको संसर्गमा बसिसकेका व्यक्ति गरी ५० जनाको पिसिआर टेष्टका लागि पठाउने तयारी भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा सह–संयोजक प्रकाश घिमिरेले बताए। हाल संक्रमित युवासँगै यात्रा गरेका व्यक्तिको खोजी भइरहेको छ। उनीसँगै अन्य स्थानीय तहका व्यक्तीले समेत यात्रा गरेको अनुमान गरिएको छ।  

होम क्वारेन्टाइनमा बसेको भने पनि  उनी गाउँकै खानेपानी योजनाको काममा संलग्न भएका थिए। सो आयोजनाको काममा संलग्न सबैको पिसिआर टेष्ट गर्ने तयारी गरिएको छ।

 

प्रकाशित: ६ जेष्ठ २०७७ ०३:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App