समाज

भारतबाट आएकाको परीक्षण नहुँदा संक्रमण खतरा

भारतबाट आएका नागरिकलाई कोरोना परीक्षण नगरेरै कर्णाली प्रदेश सरकारले गाउँगाउँ पुर्याउन थालेको छ । भारतमा रेलसेवा सुरु भएसँगै त्यहाँबाट कर्णालीवासी फर्कने क्रम सुरु भएको छ । दुई दिनको अवधिमा आएका कर्णालीका करिब पाँच सय नागरिक स्वास्थ्य परीक्षणबिनै गाउँ पुगेका छन् । अहिलेसम्म कोरोना संक्रमण नदेखिएको कर्णालीमा सरकारले भारतबाट आएका नागरिकलाई परीक्षणबिनै गाउँ पठाउन थालेपछि संक्रमणको खतरा बढेको छ ।

प्रदेश सरकारले बबईमा एक सय शड्ढयाको क्वारेन्टाइन र उनीहरूको आरडिटी टेस्ट गर्ने निर्णय गरेको थियो । आफ्नै निर्णयविपरीत प्रदेश सरकारले अहिले धमाधम परीक्षणबिनै भारतबाट आएका नागरिकलाई बसमा राखेर गाउँ पठाइरहेको छ । सोमबार बिहानै कैलालीको गौरीफन्टा नाकाबाट भित्रिएका ४९ जनाकर्णालीवासीलाई स्वास्थ्य परीक्षणबिनै बसमा राखेर कर्णाली गाउँ पठाइएको छ ।

प्रहरीका अनुसार सोमबार बिहान गौरीफन्टा नाकाबाट ल्याइएका सुर्खेतमा ३६, दैलेखका आठ, रुकुमका तीन, सल्यानका एक र कालिकोटका एकजनालाई सम्बन्धित जिल्लामा पठाइएको छ । अरू आउने क्रम जारी छ । नेपाली सेनाको व्यवस्थापनमा वीरेन्द्रनगरको खुलामञ्चमा स्थापना गरिएको चार सय शड्ढयाको क्वारेन्टाइन खाली हुँदाहुँदै भारतबाट आएका नागरिक गाउँ पठाउँदा कोरोनाको संक्रमण बढ्न सक्ने स्थानीय तहका प्रतिनिधिहरू आशंका गर्छन् ।

दुई दिनअघि पूर्वी सुर्खेतका बराहताल, पञ्चपुरी र चौकुनेका स्थानीय तहले आफ्ना नागरिक परीक्षणबिनन लिन मानेनन् । उनीहरू अहिले वीरेन्द्रनगरस्थित क्वारेन्टाइनमा छन् । बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले कोरोना परीक्षणबिनै गाउँमा ल्याउँदा संक्रमण बढ्ने जोखिम हुने बताए । ‘भारतबाट आएका नागरिकलाई नाकामै प्रदेश सरकारले परीक्षण गरेर गाउँ पठाउँदा ढुक्क हुन्छ,’उनले भने, ‘परीक्षणबिनै गाउँ ल्याउँदा जोखिमहुने भएकाले हामीले नल्याएकाहौं ।’

प्रदेश सरकारले बबईमा क्वारेन्टाइन र स्क्रिनिङ सेन्टर स्थापना गर्ने भने पनि ठाउँ अभावले सम्भव नभएको बताएको छ । ‘बबईमा स्क्रिनिङ सेन्टर र क्वारेन्टाइन राख्न ठाउँ अभाव भयो,’सामाजिक विकासमन्त्री दल रावलले भने, ‘अब बबईको सट्टा छिन्चुमा राख्ने विषयमा छलफल भइरहेको छ ।’ मन्त्री रावलले भारतबाट आएका कर्णालीवासीको सीमामै सम्बन्धितप्रदेश सरकारले चेकजाँच गरेकाले बबईमा छुट्टै चेकजाँच नगरिएको बताए । 

‘केही चोर बाटोबाट पनि प्रदेश नाकामा पुगेका छन्,’उनले भने, ‘त्यस्ता नागरिकको भने हामी अनिवार्य चेकजाँच गर्छौं ।’ मन्त्री रावलले छिन्चुको शारदा मावि र नजिकैको स्वास्थ्य चौकीमा क्वारेन्टाइन र स्क्रिनिङ सेन्टर राख्ने विषयमा छलफल भइरहेको बताए ।

‘भारतबाट आउने नागरिकहरूको आरडिटी चेक गर्ने, विवरण अद्यावधिक गर्ने र सम्बन्धित स्थानमा नपुर्याउँदासम्म सोही स्थानमै राख्ने विषयमा सम्बन्धित स्थानीय तहसँग पनि छलफल भइराखेको छ,’उनले भने, ‘केही दिनमै यसको व्यवस्थापन गर्छौं ।’ उनले कर्णालीका सबै स्थानीय तहलाई एकीकृत क्वारेन्टाइन निर्माण गर्न निर्देशन दिइसकेको र भारतबाट आएकाहरूलाई सिधै सम्बन्धित स्थानीय तहले सञ्चालन गरेका क्वारेन्टाइनमा राखिने बताए ।

प्रकाशित: ५ जेष्ठ २०७७ २०:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App