समाज

परियोजना कार्यबाटै शिक्षण सिकाई गराउँदै माथागढी

घरमै बसेर परियोजना कार्य गर्दै माथागढी गाउँपालिकाका बालक । तस्बिरः नागरिक

पाल्पा- कोरोना भाइरसका कारण विद्यालयका सम्पूर्ण पठनपाठन स्थगित छन् । लामो समय शैक्षिक क्षेत्र प्रभावित भएको छ । यहि समयमा जिल्लाको माथागढी गाउँपालिकाले घरमा रहेका विद्यार्थीहरुलाई मध्यनजर गर्दै परियोजना कार्य मार्फत शिक्षण सिकाई क्रियाकलापलाई अगाडि बढाएको छ ।

गाउँपालिकाले सिकाईका सिद्धान्तहरुलाई आत्मसाथ गर्दै विद्यार्थीहरुलाई उमेर र विषयगत रुपमा परियोजना कार्य मार्फत शिक्षण सिकाई गराई शैक्षिक क्षेत्रमा नौलो प्रयासको थालनी जनाएको छ । माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापा मगर भन्छन्, ‘समय परिस्थती अनुसार सिकाईलाई आधुनिक र व्यवहारिक बनाउदै लकडाउनबाट प्रभावित विद्यार्थीहरुको पठनपाठनलाई थप सिर्जनशिल, क्रियाशिल बनाउन विषय विशेषज्ञ, शिक्षक, अभिभावकहरुको सक्रियतामा परियोजना कार्य निर्माण गरी शिक्षण कार्यलाई अगाडि बढाइएको छ ।’ 

‘लकडाउनले विद्यार्थीहरुमा विभिन्न किसिमका नकरात्मक कुराहरु ल्याउने भएकाले उनीहरुलाई रचनात्मक क्रियाकलापमा सहभागी गराई सर्वाङ्गीण विकास गर्न घरमै बसी–बसी अध्ययन अध्यापनमा सहयोग पुग्ने गरी परियोजना कार्य निर्माण गरेका हौं, अध्यक्ष थापाले भने, ‘शैक्षिक संस्थाहरु बन्द भए पछि विद्यार्थीहरुको पठनपाठनमा समेत समस्या आउने भएपछि गाउँपालिकाको शिक्षा समितिको बैंठकबाट शिक्षण सिकाई क्रियाकलापमा नयाँ अभ्यास गराईएको हो ।’

शैक्षिक गतिविधिलाई चलायमान गराउन परियोजना कार्य पुस्तिका निर्माण गरी प्रत्येक विद्यार्थीहरुको हात हातमा पुस्तक पाठाईको प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले बताए । उनले भने ‘शिक्षा क्षेत्रमा छुट्याइएको तीन लाख रकमबाट उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।’ गाउँपालिकाले पूृर्व प्रथमिक तहदेखि कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुका लागि उमेर र विषयगतका आधारमा परियोजना कार्य पुस्तिका निर्माण गरी सबै विद्यार्थीहरु समक्ष पु‍र्‍याएको छ ।  

लकडाउनका कारण गाउँपालिका भित्र रहेका ४५ वटा संस्थागत र निजी विद्यालयका ६ हजार बढी विद्यार्थी प्रभावित भएका छन् । विद्यालयमा राखेर शिक्षक र विद्यार्थीले प्रत्यक्ष शिक्षण सिकाई क्रियाकलाप गर्न नसेको अवस्थालाई मध्यनजर गर्दै विद्यार्थीहरुलाई विभिन्न परियोजना कार्यहरुमार्फत शिक्षण सिकाईमा संलग्न गराइएको गाउँपालिकाका फोकल पर्सन अशेष भट्टराईले बताए । उनले भने ‘विभिन्न विषय शिक्षक र विज्ञहरुको परामर्शमा अनलाइन सामग्रीहरु समेतलाई एकीकृत गरी अभिभावकको निगरानीमा गर्ने परियोजना कार्य पुस्तिकाले खाली बसिरहेका बालबालिकालाई शैक्षिक क्रियाकलापमा सक्रिय बनाउनेमा विश्वस्त रहेका छौं ।’

प्रविधिको पहुँच र प्रयोग द्रुत रुपमा बढिरहे पनि पालिकाको भौगोलिक अवस्था र सूचना प्रविधिको कम पहुँचका कारण डिजिटल प्रविधि अपनाउन नसकिए पनि सिकाइएको प्रभावकारी माध्यम परियोजना कार्यलाई लिइएको फोकल पर्सन भट्टराईले बताए । गाउँपालिकाले उक्त परियोजना कार्य पुस्तकमा कक्षागत तथा उमेरगत विभिन्न विषयका पठन सामग्रीहरु सङ्कलन गरी त्यसलाई जीवनोपयोगी सीपहरुसँग आवद्ध गरी १० देखि १५ दिनसम्म गर्न सकिने गरी क्रियाकलापहरु समावेश गरेको छ । घरमै बसेका विद्यार्थीहरुलाई परियोजना कार्य पुस्तिका मार्फत सिकाईमा सहयोग गर्न अभिभावकहरुलाई गाउँपालिकाका शिक्षा शाखाका सम्पर्क व्यक्ति गजेन्द्र पन्थीले आग्रह गरे ।  

लकडाउनले बालबालिकाको पढाई नै प्रभावित भएपछि चिन्तित बनेका अभिभावक र शिक्षकहरु गाउँपालिकाले परियोजनाकार्य निर्माण गरी घरबाटै शिक्षा दिन थालेपछि खुसी भएका छन् । त्यस्तै बन्दाबन्दीका बेला एसइई र कक्षा ११र१२ को परीक्षाको तयारीमा रहेका परीक्षार्थीहरुका लागि तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिकाले पनि रेडियो दुरशिक्षा कार्यक्रममार्फत विद्यार्थीहरुलाई क्रियाशिल बनाएका छन् ।

 

 

प्रकाशित: ३ जेष्ठ २०७७ ०४:१६ शनिबार

लकडाउन शिक्षा