समाज

कोरोना संक्रमित भेटिएपछि धादिङको कटुवाल पौवा गाउँ नै सिल

जिल्ला सुरक्षा समिति धादिङको वैठक बस्दै । तस्बिर : नागरिक

धादिङकी ३० वर्षीय महिलामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएपछि गल्छी गाउँपालिका–८ कटुवालपौवा गाउँलाई सिल गर्ने भएको छ । शुक्रबार विहान जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा र त्यस क्षेत्रका जनप्रतिनिधिहरू सहितको संयुक्त वैठकले गाउँलाई सिल गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार कोरोना भाइरसबाट संक्रमित हुनेहरु मध्ये एक जना धादिङको गल्छी गाउँपालिका वडा नं ८ कटुवाल पौवाको रहेपछि गाउँलाई शील गर्ने जिल्ला सुरक्षा समितिले निर्णय गरेको हो । गल्छी गाउँपालिका–८ को पुर्वमा चैनपुर चुली, पश्चिममा नेपाली सेना ६ नम्बर बाहिनी अड्डा, उत्तरमा महेशखोला र त्रिशुली नदी तथा दक्षिणमा पृथ्वीराजमार्गको गल्छी बजारबाट नुवाकोट जाने सडकलाई  सिल गर्ने निर्णय भएको हो ।

यी चारकिल्ला भित्र आगामी जेठ ६ गते राती १२ बजेसम्मका लागि संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा २ बमोजिम निशेधाज्ञा जारी गर्दे शिल गर्ने निर्णय भएको प्रजिअ तामाङले जानकारी दिए । ‘धादिङका महिलामा पनि कोरोना पुष्टि भएपछि गाउँलाई सिल गर्ने निर्णय गरेका हौँ,’ तामाङले भने, ‘उल्लेखित चार किल्ला भित्र कसैलाई पनि बाहिर निस्कन र आवतजावत गर्न पुर्ण प्रतिबन्ध लगाइएको छ ।’

संक्रमित ब्यक्तिसंग जोडिएका ब्यक्तिहरूलाई सम्पर्क गरि क्वारेन्टाइनमा राख्नको लागि गल्छी गाउँपालिकालाई निर्देशन दिइएको छ । त्यसका लागि वडा अध्यक्ष भरत तामाङको संयोजकत्वमा ‘कन्ट्याक्ट टे«सिङ’ गर्न स्वास्थकर्मी सुरक्षा निकाय र जनप्रतिनिधिको संयुक्त टिम बनाइको छ ।

संक्रमित महिलासंग सम्पर्कमा आएका सबैजनाको पिसिआर परिक्षण गराउने निर्णय गरिएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डाक्टर भुवन पौडेलले जानकारी दिए ।  संक्रमित ब्यक्तिको अस्थायी बसोबास रहेको चन्द्रागिरी नगरपालिकाको अमरबस्ती (सतुङगत क्षेत्र)मा पनि सजगता अपनाउनको लागि नगरपालिकालाई जानकारी गराउने समेत निर्णय गरिएको छ ।  

कटुवाल पौवा गाउँ क्षेत्रमा सम्पुर्ण सुरक्षा ब्यवस्था मिलाउनको लागि र माइकिङ गर्नको लागि शसस्त्र प्रहरी तथा नेपाल प्रहरीलाई जिम्मा दिइएको छ । साथै नेपाली सेनाले पनि गाडीबाट गस्ती गर्ने निर्णय गरिएको छ ।

प्रकाशित: २ जेष्ठ २०७७ ०६:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App