समाज

नेपाली भूमिमा भारतीय अतिक्रमण, अन्तर्राष्ट्रियकरण गर्न माग

धनगढी - भारतले  दार्चुृलाको भूभाग लिपुलेख हुँदै तिव्वतको मानसरोवर जोड्ने सडक निर्माण गरेकोे बिरोधमा सुदूरपश्चिमका बिभिन्न जिल्लामा लकडाउनकाबिच पनि प्रदर्शन भएका छन्। कैलाली, कंचनपुर, डोटी र डडेल्धुराका करिव एक दर्जन स्थानमा सोमवार राष्ट्रिय जनमोर्चाले हेपाह प्रवृतीको बिरोध गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला, तस्बिर समेत जलाएका छन्। भारतले नेपाली भूभाग अतिक्रमण गरेर बलमिच्याई गरेर सडक निर्माण गरेकोमा आफ्नो भूमि फिर्ता गर्न सुदूरपश्चिबासीले यस मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सरकारसँग माग गरेका छन्। 

सरकारले स्पष्ट अडान समेत लिन नसक्ने र अन्तराष्ट्रिय करण गर्न पनि नसक्ने भए नेपाली भूभाग फिर्ता नहुने यहाँका वासिन्दाको चिन्ता छ।

दार्चुलाको भू–भाग लिपुलेक लिम्पियाधुरा, कालापानी भारतले आफ्नो नक्सामा राखेर अहिले सो क्षेत्रमा सडक निर्माणपछि उद्घाटन गरेपछि दार्चुलालगायत सुदूरपश्चिममा चर्को आक्रोस र विरोध भएको छ। उनीहरुले सरकारलाई चाँडै यस मुद्दालाई अन्तर्राष्ट्रियकरण गरेर आफ्नो भू–भाग फिर्ता लिने वातावरण बनाउन माग गरेका हुन्।

४ मार्च १८१६ मै सुगौली सन्धिमा निक्र्यौल भएको महाकाली नदी पुर्वको भू–भाग नेपालको हो। महाकालीको मुहान लिम्पियाधुरा भएकाले लिम्पियाधुरा,कालापानी र लिपुलेख नेपालमा पर्छ। २०१८ सालको जनगणना, त्यस क्षेत्रका वासिन्दाले जमिनको मालपोत तिरेको लगायतका प्रमाणले स्पष्ट हुदाँहुदै भारतले हेपाहप्रवतीले कालापानी क्षेत्र अतिक्रमण गरेको हो।

‘कालापानी क्षेत्र नेपालको भएको स्पष्ट प्रमाण छ,’राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य तथा सृुदूरपश्चिम प्रदेश इन्चार्ज मनोज भट्टल्े भने, ‘भारतले आफै पनि बिवादित क्षेत्र भनिरहेको ठाउँमा किन सडक बनायो ?’

भारतले गत कात्तिकमा कालापानीको भूभागलाई भागेर नक्सा सार्वजनिक गरेपछि भट्टको नेतृत्वमा कालापानी अभियान पनि संचालन गरिएको थियो। कालापानी अभियानकै क्रममा भारतले कालापानीमा सडक बनाइरहेको छ, यसलाई रोक्नुहोस भनेर सरकारसँग भन्दा पनि कुनै मतलव नगरेको उनको भनाई छ।‘सरकार भारतसँग पनि स्पष्ट अडान लिन सकिरहेको छैन, भारतसँग अडान लिएर फिर्ताको पहल गर्न नसक्ने हो भने संयुक्त राष्ट्र संघ र अन्तराष्ट्रिय अदालतमा यो मुद्धा लैजानु पर्छ’ सोमवार बिरोध प्रदर्शन पछि धनगढी एनएन चोकमा कोण सभालाई सम्वोधन गर्दै भट्टले भने,‘आफ्ने भूभाग फिर्ता गराउन भारतसँग अडान पनि लिन नसक्ने र अन्तराष्ट्रियकरण पनि गर्न नसक्ने हो भने यो भन्दा लाजमर्दो बिषय अरु केही हुदैन ’ डोक्लाममा भुटान र चिन बिचको विवादमा भारतले अवरोध गर्दा चिनले रोकेको उल्लेख गर्दै भारतले नेपाली भूभागमा सडक बनाउदाँ सरकार मुखदर्शन बन्नुले लाचारी प्रकट भएको उनको भनाई छ।

 भारतले कालापानी, लिपुलेक लिम्पियाधुरा आफ्नो भएको भन्दै धार्चुलादेखि लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक निर्माण गर्नु नेपालप्रतिको हेपाह प्रवृत्ति भएको माटो बचाऊ अभियानका संयोजक हेमबाबु लेखक बताउँछन्।

‘हामी हाम्रो माटो बचाउनका लागि प्राण त्याग गर्न पनि तयार छौँ,’ उनले भने,‘सुगौली सन्धिले नै लिपुलेक नेपालको भएको प्रमाणित भूमिलाई भारतले आफ्नो हो भन्दै सडक बनाउनु नेपालको मात्रै नभई संयुक्त राष्ट्र संघको पनि ध्यानाकर्षण हुनुपर्ने मुद्दा भएको छ।’ 

सरकारले तुरुन्तै अन्तर्राष्ट्रिय अदालतमा गएर न्याय माग्नु पर्ने बेला आएको बताए। ‘अब सरकारले यो या त्यो बहानामा अल्झिनु हुँदैन,’ उनले भने,‘नेपाली भूमि फिर्ताका लागि सरकारले अन्तर्राष्ट्रिय अदालतमा उभिनु पर्छ।’ 

लिम्पियाधुरा–लिपुलेक–कालापानीलाई भारतले आफ्नो नक्सामा सामेल गरेकै बेला आफूहरुले सरकारसँग कुटनीतिक पहल गरौँ भनेको बताउँदै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज मनोज भट्टले भने,‘त्यो बेला पनि सरकारले सुनेको नसुन्यै ग¥यो, त्यसको परिणाम अहिले भारतले सडक नै निर्माण गरेर उद्घाटन गरिसक्यो।’

यसअघि पनि नेपाल र भारतसँगका तमामौ समस्याहरु कुटनीतिक प्रयासबाट सफल भएको भन्दै उनले भने,‘दुई देशबीचको कुटनीतिक प्रयासबाट समस्याको समाधान हुन्छ, तर त्यो प्रयास सरकारले गर्न अग्रसर हुनुपर्छ।’ 

सुदूरपश्चिमको दुर्गम जिल्ला दार्चुलाको लिपुलेक–लिम्पियाधुरा र कालापानी भारतले अतिक्रमण गरेर आफ्नो सेना राखेपछि विरोध हुँदै आएको थियो। तर, अहिले भारतले त्यो भू–भागमै सडक निर्माण गरेर उद्घाटन गरिसक्दा वर्षौदेखिको घाउ बल्झाएर नुन छर्केको जस्तो भएको स्थानीय बताउँछन्। ‘यो घाउले हामीलाई वर्षौदेखि दुखाइ रहेको थियो,’ दार्चुलाका बलदेव भट्टले भने,‘अहिले त्यो घाउमा नुनचुक छर्केजस्तो भयो।’   

मोदीको पुत्ला दहन
भारतीय सरकारले नेपाली भू–भाग लिपुलेकमा एकलौटी रुपमा सडक निर्माण गरेर उद्घाटन गरेको भन्दै सोमबार कैलालीको धनगढी,अत्तरिया, लम्की र टीकापुर बजारमा भारतविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरिएको छ।  यसैगरी कंचनपुरको महेन्द्रनगर, शुक्लाफाँटा नगरपालिकाको दैजी, बैलौरी, डडेल्धृुरा र डोटी लगायतका बिरोध प्रदर्शन गरिएको छ।

राष्ट्रिय जनमोर्चाले करिव एक दर्जन ठाउँमा‘लिपुलेक हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद, सीमा मिच्न पाइँदैन’ जस्ता नारा लगाउँदै  प्रदर्शन गरेका हुन्। यसै क्रममा उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका छन।  डोटी, टीकापुृर लगयतमा उनीहरुले पुत्ला जलाएका छन भने धनगढीमा मोदीको फोटो जलाएका छन। 

महेन्द्रनगर, अत्तरिया, लम्की लगायतमा प्रहरीले मोदीको पुत्ला पहिले नै खोसेका थिए। पुत्ला खोसेपछि नाराबाजी गर्दै कोण सभा गरिएको थियो। अत्तरियामा कोण सभालाई राष्ट्रिय जनमोर्चाका नेता हरिकृष्ण पाण्डे, नन्दराज पाण्डे र नन्दराज भट्टले सम्बोधन गरेका थिए।

यसअघि नेपाली कांग्रेस संसदीय दल सुदूरपश्चिम प्रदेशले मुख्यमन्त्री कार्यालय अगाडि विरोध गरेको थियो। विरोधमा कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले भारतले मिचेको नेपाली भू–भाग फिर्ता लिनका लागि पहल गर्न सरकारसँग माग गरे। 

उनले भने,‘सरकारले चाँडो भन्दा चाँडो कुटनीतिक पहल गरेर भारतले कब्जा गरेको भूमि फिर्ता लिनुपर्छ।’ भारतले नमानेमा सरकारले यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने पनि बताए। ‘यदि भारतले नमानेमा हामीले यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ,’ उनले भने,‘त्यसका लागि पनि सरकार तम्तयार भएर बस्नुपर्छ।’ 

भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रवार(बैशाख २६ गते) भिडियो कन्फरेन्सवाट उद्घाटन गरेका थिए।  नेपाली भुभाग लिपुलेख हुदै तिव्वतको मानसरोवर जोड्ने सडक भारतले १२ अघि देखि निर्माण शुरु गरेको थियो। दाुर्चलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बुझ्ने क्रममा धार्चुला देखि मानसरोवर सम्म जोड्ने सडक सन २००८ सालमै निर्माण शृुरु गरेको बताएका छन। नेपाली भुभागमा करिव १७ किलोमिटर उक्त सडक बनेको उनले बताएका छन। 

लिम्पियाधुरा र कालापानी क्षेत्रमा ५ गर्खा(गाउँ) छन। कुटी, नाभी गुन्जी ,छाङरु र टिकंर हुृन। सन १९६२ मा कालापानीमा सेनाका क्याम्प राखेर नेपाली भुमी अतिक्रमण गरे। 

यि ५ गाउँको २०१८ सालमा जनगणना गरिएको थियो भने , बैतडी मालपोत कार्यालयमा राजस्व बुझाउने गरेका थिए। 

२०१८ सालमा भैरव रिसालले लिम्पियाधुरा, लिपुलेक र कालापानीमा गरेको जनगणनामा यि गाउँका वासिन्दाको गणना गरेका हुन। जनगणना गरेको प्रमाण रहेको भुभाग भारतले बलमिच्याई गरेर आफ्नो भन्दै अतिक्रमण गरेर सडक बनाएको छ। जनस्तरवाट बिरोध  र आक्रोश भएपछि मात्र चर्चा पाउने मुद्धा अघिपछि सेलाउनुले कालापानीको भुभाग फिर्ता गराउन कुनैपनि राजनीतिक दलले सरकारमा भएका वेला गंभिर चासो नदिएको स्थानियको गुनासो थियो।

‘कालापानी काठमाण्डौलाई किन दुख्दैन भनेर प्रेमसिंह धामीले कालापानीको दुःखेको घाउ वोलेपछि मात्र यो बिषय राष्ट्रिय मुद्धा बनेको हो।‘प्रेम सिंह धामीको निधन सँगै यो मुद्धा ओझेल पर्यो, धामीले काठमाण्डौलाई किन दुःख्दैन भनेर अवाज उठाएको दुई दशक भन्दा बढी समय भईसक्यो, यसमा एउटा भन्दा पनि कसैले पनि गंभिर रुपमा चासो दिएको देखिएन’ऐश्वर्यबहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्ट भन्छन,‘जनस्तरवाट अवाज उठेपछि मात्र सरकारले बिज्ञप्ती निकाल्ने अनि चुपलाग्ने गर्नाले भारतले नेपाली भुमी अतिक्रमण गरेर सडक बनाउन सकेको हो।’

नेपाली भुभागमा सडक बनाउन्जेल सम्म बिरोध नहुनु लज्जासपद बिषय भएको उल्लेख गर्दै भारत सँग कुटनितिक रुपमा पहल गरेर त्यो नभए संयुक्त राष्ट्रसँघ र अन्तराष्ट्रिय अदालतमा जान ढिलाई गर्न नहुने उनको भनाई छ।

सन १९६२ मा भारत र चिन युद्ध हुदाँ नेपालले भारतलाई कालापानीमा सेना राख्न अनुमति दिएको हो। सामरिक रुपमा कालापानी महत्वपूर्ण देखेपछि भारतले त्यसपछि सेना तेहावाट फिर्ता लगेको छैन।

प्रकाशित: २९ वैशाख २०७७ १२:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App