समाज

बैतडीमा एक सय योजनालाई निर्माणको अनुमति

बैतडी- लकडाउनमा जिल्लामा रोकिएका विकास निर्माणका आयोजना अघि बढ्ने भएका छन्। सावधानी अपनाएर निर्माण कार्य अघि बढाउने जिल्ला प्रशासन कार्यालयले निर्णय गरेपछि विकास निर्माणका काम सञ्चालन हुन थालेका हुन्।

जिल्लामा सञ्चालित एक सयभन्दा बढी योजनालाई अघि बढाउन अनुमति दिइएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए। लकडाउनका समयमा विकास निर्माणका कामलाई सामाजिक दुरी कायम गरी सावधानी अपनाएर निर्माण गर्न स्थानीय तह र विकासे कार्यालयलाई अनुमति दिइएको हो। बाहिरबाट मजदुर नलिएर उपलब्ध मजदुरबाट निर्माण कार्य अघि बढाउन अनुमति दिइएको हो।

लकडाउनको अवधि थपिँदै गएपछि जिल्ला प्रशासनले केही दिनयता स्थानीय तहका समपूरक अनुदानका योजना र ठूला आयोजनालाई अनुमति दिएको बताइएको छ। व्यवसायीले निर्माण कार्य अघि बढाउन सम्बन्धित कार्यालयमार्फत जिल्ला प्रशासनलाई आग्रह गरे अनुसार अनुमति दिइएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए। ‘लकडाउनको मापदण्ड अनुसार काम गराउँछौं भनेर आएका सिफारिस र रकम फ्रिज हुने खालका योजनालाई अनुमति दिएका छौं,’ उनले भने।

स्थानीय तहमा सुर्नया गाउँपालिका बाहेक सबै स्थानीय तहले विकास निर्माणको कामका लागि अनुमति लिएका छन् भने विकासे कार्यालय महाकाली जलाधार पाटनबाहेक सबैले अनुमतिलिएको छन्। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएदेखि बैतडीमा विकास निर्माणका कामहरु ठप्प भएका छन्।

प्रकाशित: २८ वैशाख २०७७ ०३:४८ आइतबार

बैतडी लकडाउन विकास_निर्माण