लहान- पहिला व्यापारी खेतमै आउँथे । अहिले बोलाउँदा पनि आउन मान्दैनन् । लकडाउनका कारण हाट बजार बन्द छ । खेतको उत्पादन बजारसम्म पुर्याउन सकिएको छैन । यस्तै अवस्था रहने हो भने कुहिएको उत्पादन खेतमै पुर्नुको बिकल्प रहदैन । कर्जन्हा नगरपालिका– ६ का तरबुजा किसान हरिशंकर मुखियाले नागरिकन्यूजसँग लकडाउनबाट किसानको जिन्दगीमा पारेको अत्यास साझा गरे ।
हरिशंकर यसै वडाको तीन विघा जमीनमा तरबुजा खेती गरेका छन् । उनले तीन लाख लगानी गरिसकेका छन् । अहिले आम्दानी आउने बेला हो । लकडाउनले आवागमन रोकिँदा उनको उत्पादन खेतमै थन्किएको छ । लकडाउनले उनको आम्दानी पनि रोकिएको छ । उनलाई लगानी डुब्ने चिन्ता छ । खेतमा लगाएको तरबुजा बजारमा जानुपर्ने वेला भए पनि लकडाउनका कारणा व्यापारी पुग्न सकेका छैनन् ।
कर्जन्हा नगरपालिका– ६ कै प्रमोद साहले पनि पाँच बिघा जमीनमा रबुजा खेती गरेका छन् । उत्पादित तरबुजा सहरमा बिक्रीका लागि जाने गथ्र्यो । तर, लकडाउनले व्यवारी आउनै मान्दैन । व्यपारी नआएपछि किसानको उत्पादनले बजार पुग्न सकेको छैन । सिराहा नगरपालिका– १७ पर्टेवाका घुरन मुखियाको कथा पनि फरक छैन् । कमलानदीको बगरमा उनले तरबुजा, काँक्रो, करेला खेती गरेका छन । दुई बिघा जमीनको उत्पादन कहाँ कसरी बेच्ने भन्ने चिन्ताले मुखिया पिरोलिएका छन ।
कर्जन्हा नगरपालिका–६ बेतहाका श्याम महतो पनि कमलानदीको बगरमा तरबुजा खेती लगाएका छन् । तीन महिनादेखि उनी बिहानैदेखि बगरमा खेती स्याहर्दै बिताए । अहिले तरबुजा बिक्री गर्ने बेला भयो । तरबुजा टिपेर व्यापारीलाई बेच्नेबेला जारी लकडाउनले उनलाई चिन्तित बनाएको छ । चार बिघा जग्गामा लगाएको तरबुजा कहाँ बिक्री गर्ने भन्दै उनी पिरोलिएका छन ।
यहाँका किसान चैतको अन्तिम सातादेखि तरबुजा बेच्न थाल्छन् । मौसम अनुकुल भएमा जेठ महिनासम्म उनीहरु तरबुजा बिक्री गर्छन् ।
गाउँका धेरै युवाहरु कमाइका लागि परदेश गएका छन् । विनोद महतो पनि परदेश जान ठिक्क परेका थिए । तरबुजा खेतीबाट गाउँका धेरैको तरकी भएको देख्दा उनी परदेश जाने सोच छाडेर यतै मोडिए । मेहनत गरे गाउँमै त्यत्ति कमाइ हुने देखेपछि उनी दुई बिघामा तरबुजा खेती सुरु गरे । आम्दानी राम्रै थियो । यसपाली लकडाउनले बरबादै बनायो उनले भने,‘बगरको तरबुजा बजारसम्म पुग्ने अवस्था छैन । व्यपारीलाई बोलाउँदा आउनै मान्दैन । यती धेरै उत्पादन कहाँ गएर बेच्नु ?’
यहाँका करिब एक सय किसान तरबुजा खेतीमा आश्रीत छन् । यस भेगमा डेढ सय विघा जमीनमा तरबुजा खेती भैरहेको कर्जन्हा ६ का वडा सदस्य समेत रहेका किसान हरिशंकर बताउँछन । पहिला व्यापारी खेतमै गाडी लिएर तरबुजा लिन आउने गरेको उनले सुनाए । ‘अहिले समय अनुकुल भइदिएको भए तरभुजा किन्न आउने व्यपारीको गाडीले यो क्षेत्र भरिएको हुन्थ्यो’, उनले भने,‘अहिले सुनसान छ ।’ चार महिनाको तरबुजा खेतीमा गरेको मेहनतबाट हुने अम्दानीले वर्षभरि गुजारा गर्न पुग्ने उनले सुनाए ।
‘खेती गर्न सरकारले सहयोग गर्दैन,’ उनले भने, ‘हाम्रो उत्पादन बजारसम्म पुर्याउने वातावरण बनाइदिए राहत पुग्छ ।’ यस भेगका किसान तरबुजा बाहेक बगरमा अन्य तरकारी बाली पनि लगाउने गरेको उनले बताए । यही खेतीको आम्दानीले किसान छोराछोरीको पढाइ र सम्पत्ति आर्जन गर्छन ।
सिराहाको पूर्व–पश्चिम लोकमार्गअन्तर्गत बन्दीपुरदेखि दक्षिणी सीमाना सिरहा नगरपालिकासम्मका कमला छेउका गाउँवासीले बगरमा तरबुजा, काँक्रा, करेला खेती लगाउने गरेका छन् । कमला खोलामा आएको बाढीले खेतीयोग्य जमिन बालुवा पुरेर बगरमा परिणत भएपछि उनीहरु तरभुजा खेतीतर्फ मोडिएका हुन । त्यही बगर अहिले किसानलाई आम्दानीको स्रोत बनेको छ । बगरमा सिराहाको कर्जन्हा, कल्याणपुर र सिराहा नगरपालिकाकासहित धनुषाका गरी पाँच सय कृषकले कमला नदीको बगरमा खेती गर्दै आएका छन् । कृषकले सिजनअनुसारको उत्पादन गर्न लगानी गरे पनि उत्पादन बिक्री नभएपछि चिन्तित बनेका छन् ।
उत्पादन बजार नपुगेपछि लगानी डुब्ने र ऋणको भारी थपिने चिन्ताले यहाँका किसान पिरोलिएका छन । सिरहाका तीनवटा नगरसहित धनुषाका गरी करिब पाँच सय कृषकको बगरखेतीमा करिब सात करोडभन्दा बढी लगानी भएको छ । गर्मी मौसममा तरबुजाको बिक्री बढी हुने गर्छन । यहाँ उत्पादन भएको तरभुजा काठमाडौं, पोखरा, विरगंज, झापा, विराटनगरलगायत व्यपारी खेतमै आएर खरिद गरेर लग्छन ।
खेतमै कुहियो तरकारी
पूर्वपश्चिम राजमार्गदेखि टाँसिएकै गोलबजा नगरपालिकाको वडा नम्बर २ स्थित ‘गुरुधाम’ गाउँमा करिब २ सय सय घरपरिवारको बसोबास छ । बस्तीका अधिकांश तरकारी खेतीमा निर्भर छन् । एक दशकदेखि तरकारी खेती गर्दै आएका गुरुधामका अर्जुन थपलिया परिवारले भान्टा,कोबी, करैला, खुर्सानी, बोरीलगायतका तरकारी खेती गर्दैआएका छन । दपलीया परिवारको दिनचर्या खेतमै बित्छ । तरकारी खेतीबाटै यो परिवारले लोभलाग्दो तरक्की गरेका छन । तर यसपटक लकडाउनका कारण अहिलेसम्म दुई लाख रुपैयाँको घाटा ब्यहोरिसकेको थपलिया बताउँछन् ।
‘बजारसम्म पुर्याउने व्यवस्था गरिदिन स्थानीय तह देखि सरकारेबार सबैलाई गुहार्दा पनि सुनुवाइ नहुँदा तरकारी कुहिएर बारीमै खेर गएको छ,’ थपलियाले भने । उत्पादन बिक्री गर्न नपाउँदा यस सिजनमा नोक्सानी मात्र बेहोर्नुपर्याे ।’
जागिरजस्तै तरकारी बिक्रीबाट हटियापिच्छे पैसा आइरहन्थ्यो सबै गर्जो त्यही आम्दानीले टथ्र्यो । ‘तरकारी उब्जाउनु मात्र पर्छ,’ उद्धव थपलियाले विगत सम्झँदै भने, ‘व्यापारीहरु गाडी र पैसा लिएर खेतमै खरिद गर्न आउँथे । तर यस सिजन त तरकारी बारीमै कुहियो ।’ स्थानीय सरकार र प्रशासन तरकारी किसानको उत्पादन बिक्रीको सहज व्यवस्थापन गरिदिए रहत पुग्थ्यो ।
प्रकाशित: २७ वैशाख २०७७ ०६:३८ शनिबार