समाज

वृद्धाश्रमलाई खाद्य सामग्री सहयोग

काठमाडौँ - कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बेला समस्यामा परेका राजधानीका दुई वृद्धाश्रमलाई मानवअधिकार तथा शान्ति समाजले खाद्य सामग्री सहयोग गरेको छ। कागेश्वरी मनोहरा नगरापालिकाको गागलफेदीस्थित ज्येष्ठ नागरिक सेवा आश्रम र कीर्तिपुर नगरपालिकाको टौदहस्थित निजानन्द वृद्धाश्रमलाई रु २५/२५ हजार गरी कूल ५० हजार रुपैयाँ मूल्य बराबरको चामल, दालसहितका खाद्य सामग्री सहयोगस्वरुप हस्तान्तरण गरेको शान्ति समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीले  दिए। 

खाद्य सामग्री वितरणका लागि काठमाडौँ निवासी डा देवेन्द्रराज पाण्डे र पद्मा पाण्डेले २५ हजार रुपैयाँ सहयोग गरेका  थिए। यसैगरी विराटनगर निवासी बद्रीप्रसाद पहाडीले पनि २५ हजार रुपैयाँ नै सहयोगस्वरुप शान्ति समाजलाई उपलब्ध गराएको शान्ति समाजले जनाएको छ। समाजका तर्फबाट सभापति पुडासैनी, कोषाध्यक्ष रामकृष्ण बराल र सदस्य भगवान् पुडासैनीको समूहले शुक्रबार दुवै वृद्धाश्रममा पुगी सहयोगस्वरुप खाद्य सामग्री हस्तान्तरण गरेको हो।

बन्दाबन्दीका कारण अत्यावश्यक सामग्री सहजै खरिद गर्न नपाउँदा ज्येष्ठ नागरिक सबैभन्दा बढी जोखिममा पर्ने भएकाले सहयोग जुटाएर वृद्धाश्रमलाई हस्तान्तरण गरिएको शान्ति समाजले जनाएको छ। वृद्धवृद्धालाई राख्ने संस्था विभिन्न दाताको सहयोगमा चल्ने भए पनि बन्दाबन्दीका कारण दाता भेट्न पनि गाह्रो हुने भएकाले समाजका तर्फबाट  समन्वय गरी सेवा पुर्‍याइएको सभापति पुडासैनीले बताए। रासस

प्रकाशित: २७ वैशाख २०७७ ०३:४६ शनिबार

वृद्धाश्रम सहयोग खाद्य_सामग्री