समाज

बाबुबाट बलात्कृत किशोरीको क्यान्सरबाट निधन

ओखलढुंगा– आफ्नै बुबाबाट पटक–पटक बलात्कृत भएकी एक १५ वर्षीया किशोरीको क्यान्सर रोगका कारण निधन भएको छ । सुनकोसी गाउँपालिका घर भएकी ती किशोरीको उपचारको क्रममा काठमाडौमा निधन भएको हो ।

२०७५ भदौमा बाबुबाट बलात्कृत भएपछि किशोरी ओखलढुंगामा परिवर्तनशील सामुदायिक संस्थाले सञ्चालन गरेको सेफ हाउस मार्फत उपचारका लागि काठमाडौ पठाइएको थियो । घुँडामा क्यान्सर देखिएपछि उनको उपचार, पालनपोषण र पढाइ काठमाडौंमा एक संस्थाले गर्दै आएको थियो। किशोरीको घुँडाको क्यान्सर उपचारपछि सामान्य निको भएपनी छ महिनापछि रगतको माध्यमबाट फोक्सोमा क्यान्सर संक्रमण भएपछि काठमाडौंमा उपचारकै क्रममा उनको निधन भएको परिवर्तनशील सामुदायिक संस्था ओखलढुंगाकी अध्यक्ष पेमडोमा शेर्पाले जानकारी दिइन्।

आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई जिल्ला अदालत ओखलढुंगाले ३७ वर्ष ६ महिना जेल सजाय तोकेको छ। हाडनाता करणी मुद्दामा जिल्ला न्यायाधीश कैलाश केसीको ईजलासले यस्तो फैसला गरेको हो । आमाले दोस्रो विवाह गरेकी थिइन् ।

तीनै जना दिदी भाइहरु हजुरआमासँग बस्दै आएका थिए । १३ वर्षको उमेरमा उनका बाबुले उनलाई पटक-पटक बलात्कार गरेका थिए ।

प्रकाशित: २६ वैशाख २०७७ १३:२४ शुक्रबार