समाज

उम्रन नपाउँदै फेद कटुवाले मकै सखाप

टुसाउँदै गरेको मकैको फेदमा खोतलेर फेद कटुवा किरा निकाल्दै बाहुनीडाँडा पकम्चेका किसान । तस्बिर : नागरिक

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा राम्ररी उम्रन नपाउँदै मकैमा फेद कटुवा किराको प्रकोप फैलिएको छ । बाहुनीडाँडाका किसानले छरेको मकै राम्ररी टुसाउन नपाउँदै फेद कटुवाले सखाप पारेको छ ।

दुई–तीन पात टुसाउँदै गरेको मकैको बिरुवा जमिनभित्रै रहेको फेद कटुवा किराले खाइदिँदा बिरुवा मर्न थालेको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए । टुसाउँदै गरेको मकैको बिरुवा ओइलिएर मर्न थालेपछि खोतलेर हेर्दा किरा भेटिने गरेको छ ।

हजारौं रोपनी क्षेत्रफलमा लगाइएको मकैको बिरुवाको फेदमा खोतलेर हेर्दा हरेक बिरुवाको फेदमा जमिनभित्र फेद कटुवा भेटिने गरेको वडाध्यक्ष राईले बताए । जमिनभित्र भेटिने किराले मकैको बिरुवाको जमिनमुनीको फेद खाइदिँदा बिरुवा टुक्रिएको अवस्थामा भेटिने गरेको किसान बताउँछन् । लकडाउनको बेला राम्ररी उम्रन नपाउँदै कटुवाले मकैको बिरुवामा आक्रमण सुरु गरेपछि किसान चिन्तित बनेका छन् ।

‘मकैको साना–साना बिरुवा ओइलिन थालेपछि खोतलेर हेर्दा हरेक बोटमा किरा भेटिने गरेको छ,’ वडाध्यक्ष राईले भने, ‘यसलाई नियन्त्रण गर्ने विधि नहुँदा किसानमा चिन्ता छाएको छ ।’ बाहुनीडाँडा पकम्चेका किसान भोलाराज राईको बारीमा छरेको मकैको फेदमा खोतलेर हेर्दा किरा भेटिएपछि अन्य किसानको मकैको बारीमा हेर्दा सोही प्रकारको किरा भेटिएको हो ।

गत वर्ष फौजी किराको प्रकोप फैलिएको बाहुनीडाँडामा यसपल्ट फेद कटुवाको प्रकोप देखिएको हो । प्रमुख खाद्यवालीकारुपमा लगाइएको मकैको विरुवा कटुवाले सखाप बनाएपछि किसानमा भोकमरीको चिन्ता सुरु भएको छ ।

दोहोरियो अमेरिकन फौजी किराको प्रकोप
गत वर्ष अमेरिकन फौजी किराको प्रकोप फैलिएको हलेसी तुवाचुङ नगरपालिकामा पुःन यसवर्ष पनि सोही प्रकोप दोहोरिएको छ । यसपल्ट बाहुनीडाँडाको कदुवा, पिप्ले, लुलीमा, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको अर्खौले बजार क्षेत्र, फोक्टी तथा हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा छरेको मकैमा अमेरिकन फौजी किराको प्रकोप फैलिएको मेयर इवन राईले बताए । बिरुवामै फौजी किरा लाग्न सुरु भएपछि मकैले उत्पादन नदिने र नगरमा भोकमरी हुने त्रास सुरु भएको छ ।

गत वर्ष अमेरिकन फौजी किराले हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानी लगायतका वडामा लगाइएको बालीनाली तथा वनजंगल नै सखाप पारेको थियो । सुरुमा लामो खडेरी परेको र त्यसपछि छरेको मकैमा फौजी किराको प्रकोप फैलिँदा हलेसी तुवाचुङ नगरपालिकामा भोकमरीको अवस्था सिर्जना भएपछि गत दशैंतिहार आसपासमा नगरपालिकाका करिब ५ हजार ५ सय घरधुरीलाई जनही १० केजीका दरले चामल वितरण गरिएको थियो ।

किटनाशक विषादि वितरण गर्ने तयारी
अमेरिकन फौजी किरा नियन्त्रणका लागि हलेसी तुवाचुङ नगरपालिकाले किसानलाई किटनाशक विषादि वितरण गर्ने निर्णय गरेको छ । आइतबार कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख हरिनारायण राई र बाली संरक्षण अधिकृत रामनन्द यादव, सबै वडामा कार्यरत कृषि तथा पशु प्राविधिकलाई बोलाएर गरिएको छलफलपछि तत्काल किटनाशक विषादि किसानलाई वितरण गर्ने निर्णय गरिएको छ । अमेरिकन फौजी किरा फैलिएको क्षेत्रलाई तत्काल शिल गर्ने र फौजी किराको नियन्त्रणका बारेमा कृषि तथा पशु प्राविधिकमार्फत सचेतनामुलक कार्यक्रम गरिने मेयर राईले बताए । फौजी किरा नियन्त्रणका लागि केही विषादि ल्याइसकिएको तथा थप औषधि प्रदेश सरकार समक्ष माग गर्ने तयारी गरिएको नगरपालिकालले जनाएको छ ।

यस वर्ष पनि जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, साकेला गाउँपालिका, रावाबेँसी गाउँपालिका लगायतका स्थानीय तहमा पनि अमेरिकन फौजी किरा देखिएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताए । तर हालसम्म त्यी स्थानीयतहले हालसम्म फौजी किराबाट किसानलाई मुक्ती दिने कुनै पनि योजना तय गर्न सकेका छैनन् । तत्काल फौजी किराको नियन्त्रणमा स्थानीय तहले प्रभावकारी अभियान सञ्चालन नगरे मकै बाली नष्ट हुने किसानको भनाई छ ।

 

प्रकाशित: २२ वैशाख २०७७ १४:१८ सोमबार

फेद_कटुवा मकै प्रकोप