समाज

प्रदेश ५ मा बजेट निर्माण सुरु

रुपन्देही – प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट निर्माण सुरु गरेको छ। विगतको भन्दा लगभग दुई महिनापछि प्रदेश सरकार आगामी वर्षको बजेट निर्माणमा जुटेको हो। आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रादेशिक योजना आयोग अहिले बजेट निर्माणमा व्यस्त छन्। 

सरकारले चालु बजेट कार्यान्वयनको समीक्षा तथा अनुमानित स्रोत पहिचान गर्न जुटेको आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रवक्ता एवं योजना तथा बजेट महाशाखा प्रमुख जनार्दन पौडेलले बताए। उनका अनुसार अब केही दिनमै मन्त्रालयहरुलाई बजेटको सीमा उपलब्ध गराइने छ। सरकारको बजेट निर्माण तथा कार्यान्वयनमा कोरोनाले ठूलो असर पारे पनि बजेट भने समयमै ल्याउने गरी तयारीमा जुटेको उनले बताए। 

कोरोना भाइरस नियन्त्रण तथा उपचारमा सरकारका सबै संयन्त्र परिचालन गर्नुपरेकाले समयमै बजेट निर्माण प्रक्रिया सुरु हुन सकेन। कोरोना नियन्त्रणमा सरकार जुटेकाले गत आव ०७६/७७ को बजेटको आकारभन्दा खुम्चिन सक्ने अनुमान गरिएको छ। यसैबीच, कोरोना संक्रमणले बजेट कार्यान्वयन प्रभावित भएको छ। विकास निर्माणका काम ठप्प हुँदा प्रदेशको ठूलो बजेट कार्यान्वयन हुन सकेको छैन। प्रदेश ५ सरकारले गत वर्ष ३६ अर्ब ४१ करोड ६८ लाखको बजेट ल्याएको थियो। यसमध्ये १५ अर्बभन्दा बढी रकम भौतिक पूर्वाधार विकासका लागि बजेट छुट्ट्याएको छ। कामको गति बढ्ने समयमा कोरोनाले मुलुक लकडाउन गएपछि भौतिक पूर्वाधारको काम ठप्प भएको छ। 

प्रकाशित: १८ वैशाख २०७७ ०८:१५ बिहीबार

बजेट_निर्माण प्रदेश_५ कोरोना