समाज

मोरङमा १ हजार २ सय जना भित्रिए

विराटनगर- विभिन्न जिल्लाबाट एक हजार २ सय जनालाई उद्दार गरेर मोरङ ल्याइएको छ । मोरङमा स्थायी बसोबास गरी विभिन्न जिल्लामा काम विशेषले गएका र लकडाउनका कारण समस्यामा परेका १ हजार २ सय ८५ जनालाई उद्दार गरी ल्याइएको हो ।

मंगलबार विहानसम्मको तथ्यांक अनुसार विभिन्न जिल्लाबाट मोरङ आउनेहरूको संख्या १ हजार २ सय ८५ छ । यस्तै मोरङबाट विभिन्न जिल्लमा जानेहरूको संख्या ५ सय ५ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मानवहादुर राईका अनुसार मोरङका विभिन्न स्थानमा क्वारेन्टाइनको व्यवस्था गरिएको भए पनि बाहिरी जिल्लाबाट उद्दार गरी ल्याइएकालाई भने होम क्वारेन्टाइनमा बस्ने व्यवस्था गरिएको छ ।

बाहिरी जिल्लाबाट आएकालाई होम क्वारेन्टाइनमा राखिएका कारण मोरङका क्वारेन्टाइनमा बस्नेहरूको संख्या २४ मात्रै रहेको छ । अन्य देशबाट  आएका र शंकास्पदलाई मात्रै क्वारेन्टाइनमा राखिएका कारण मोरङमा क्वारेन्टाइनमा बस्नेको संख्या न्यून रहेको मोरङ प्रहरीले जनाएको छ । प्रबक्ता राईका अनुसार हालसम्म २ सय १२ जनालाई क्वारेन्टाइनमा राखिएकोमा १ सय ९२ जना घर फिर्ता भइसकेका छन् ।

मोरङमा हाल ३१ जना आइसोलेसनमा उपचार गराई रहेका छन् । उदयुर, भोजपुर र झापामा कोरोना संक्रम देखिएकाहरूको विराटनगरस्थित कोसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङमा कोसी अस्पताल, पूर्वाञ्चल विश्वविद्यलाय गोठगाउँ, प्राथमिक स्वास्थ्य केन्द्र गोठगाउँ, पथरी अस्पताल र कोरोना विशेष कोसी अस्पतालमा आइसोलेसन वेडको व्यवस्था गरिएको छ । यी अस्पतालहरूमा हालसम्म ५८ जान भर्ना गरिएकोमा २७ जना डिष्चार्ज भइसकेका छन् ।

प्रकाशित: १६ वैशाख २०७७ १३:५५ मंगलबार

मोरङ लकडाउन काेराेना_भाइरस