समाज

क्वारेन्टाइन नराखी घर पठाउदा गाउँमा त्रास

धनगढी- देशमा लकडाउन घोषणा गरी नाका, यातायात, ओहोरदोहोर बन्द गरेर सबैलाई घरभित्र बस्न भनिएको छ । यहि लकडाउनका बीच कैलालीको चिसापानीबाट ८ हजार जना भित्रिएका छन् । काठमाडौ लगायतका ठाउँबाट उनीहरु बसमा आएका हुन ।

कैलालीका प्रहरी नायव उपरिक्षक दक्षबहादुर बस्नेतका अनुसार मंगलबारसम्म ८ जना चिसापानीबाट कैलालीमा भित्रिएका छन् । काठमाडौ लगायत देशका अन्य भागबाट सुदूरपश्चिम आउनेहरुको चिसापानी प्रवेशद्वार हो । अधिकारीक रुपमा सरकारले लकडाउनमा सवारीसाधन खोलेर घर जानेलाई पठाउने निर्णय नगरेपनि जनप्रतिनिधि, सासंद र राजनीतिक दलका कार्यकर्ताको पहलमा उनीहरुलाई काठमाडौबाट बसमा भित्र्याइएको हो । एकैदिन २५ देखि ३० बस भित्रिने गरेका छन् ।

सिमाना चिसापानीबाट कैलालीमा चैत २७ गते यतामात्र ८ हजार जना भित्रिएको प्रहरी नायव उपरिक्षक वस्नेतले बताए । ‘बसमा दुरी र सावधानी नअपनाई कोचाकोच गरेर उनीहरु आएका छन्, बसमा नै असुरक्षित रहेको अवस्था छ’उनले भने । लकडाउनका बीच भित्रिएकालाई क्वारेन्टाइनमा नराखी सिधै घर पठाइएको छ । ‘समान्य ज्वरो नापेर होम क्वारेन्टाइनमा वस्ने भनेर पठाइ राखिएको छ’उनले भने । उनीहरुको ज्वरो जाँच गरेर अभिलेख राख्ने गरिएको छ ।  

काठमाडौबाट आएका क्वारेन्टाइनमा नबसी घर पठाउदा जोखिम बढेको छ । काठमाडौबाट बसमा ल्याउदा नै उनीहरु सुरक्षित नरहेको बिज्ञहरुको भनाई छ । कुनै सेफ जोनबाट आएकालाई क्वारेन्टाइनमा नराखी घर पठाउन सकिने भएपनि पर्याप्त परीक्षण भैनसकेको र संक्रमितहरुको पनि पुरै कन्ट्याक्ट ट्रेसिङ हुन बाँकी रहेको अवस्थामा हुलका हुल समूहमा आएकालाई घर घर पठाउदा संक्रमण फैलिने उच्च जोखिम रहने बिज्ञहरु बताउँछन् ।

देशभरमा अहिलेसम्म कुन ठाउँमा कति संक्रमित छन् भनेर एकिन भैनसकेकाले कुनै पनि जोनलाई सेफ मान्न नसकिने अवस्था भएकाले समूहमा बाहिरबाट आएकालाई १४ दिन क्वारेन्टाइनमा नराखिए संक्रमण फैलिने जोखिम रहेको कोरोना संक्रमणको उपचारमा संलग्न सेती प्रादेशिक अस्पतालमा वरिष्ठ फिजिसियन शेरबहादुर कमरले बताए । सुदूरपश्चिम प्रदेश सरकारले बाहिरबाट आएकालाई अनिवार्य १४ दिन क्वारेन्टाइनमा राख्नु पर्ने बताएपनि बाहिरबाट आएका सबैजना क्वारेन्टाइनमा नबसी घर गएका छन् ।

प्रदेश सरकारका समाजिक विकास मन्त्री कृष्णराज सुवेदीले १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्छ भनेर प्रदेश सरकारको स्पष्ट धारणा रहेको बताए ।‘हामीले १४ दिन क्वारेन्टाइनमा अनिवार्य राख्नु पर्छ भनेका छौं, केही ठाउँमा घर पठाइरहेको सुनिएको छ’उनले भने,‘बाहिरबाट आएका सबैले अनिवार्य १४ दिन क्वारेन्टाईनमा बस्नु पर्छ ’

लकडाउनमा गाडीमा हुलका हुल मान्छे पठाउदा सकस
काठमाडौबाट हुलका हुल मान्छेहरु पठाउन थालेपछि क्वारेन्टाइनमा राखेर खाने बस्ने व्यवस्थापन गर्न स्थानीय तहलाई सकस परेकोले घर पठाइएको जनप्रतिनिधिले बताएका छन् । ‘लकडाउन र क्वारेन्टाइनको परिभाषामा नै मिलेन’टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावलले भने,‘लकडाउन भनेको छ, गाडीमा हुलकाहुल मान्छे पठाइदै छ, अनि ती सबै मान्छेलाई स्थानीय तहले क्वारेन्टाइनमा राख्नुपर्नेे बाध्यता अनि कसरी हुन्छ ?’ पछिल्लो समयमा हुलका हुल मान्छे गाडीमा पठाएपछि स्थानिय तहले क्वारेन्टाइनमा नराखी घर पठाउनु परेको जनप्रतिनिधिले बताएका छन् ।

क्वारेन्टाइनमा नराखी घर पठाउदा समुदायमा संक्रमण फैलिन सक्ने कुराले स्थानीय त्रसित बनेका छन । ‘देशका बिभिन्न ठाउँ र भारतवाट समेत दैनिक सयौ व्यक्ति आईरहेकोमा तीनीहरुलाई क्वारेन्टाइनमा नराखी, जाँच नगरि घर पठाउदा महामारी फैलिने खतरा बढेको छ’ राष्ट्रिय जनमोर्चाका तिलक परियारले भने,‘जाँच नगरि घर पठाइएकाले समुदायमा त्रास उत्पन्न भएको छ ।’ बिभिन्न ठाउँवाट र भारतबाट आईरहेकालाई १४ दिन अनिवार्य कोरेन्टाइनमा राखेर जाँच गरेर मात्र घर पठाउनु पर्ने उनको भनाई छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले निर्देशिका परिपत्र गरेकाले क्वारेन्टाइनमा राखेकालाई समेत घर पठाइएको स्थानीय तहले जनाएका छन् । ‘प्रदेश स्वास्थ्य निर्देशनालयले पठाएको निर्देशिका अनुृसार क्वारेन्टाइनबाट सबैलाई घर पठाएका छौं’टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावलले भने । काठमाडौ र बुटवलबाट आएका ३ सय २६ जना क्वारेन्टाइनमा राखिएको उनले बताए । ज्वरो नापेर सबै जनालाई होम क्वारेन्टाइनमा बस्ने गरि घर पठाइएको उनको भनाई छ ।

‘केहीलाई ७ दिन भएको थियो, केहीलाई १० दिन पुगेको थियो ’उनले भने,‘ज्वरो नापेर सवैलाई घर पठाइयो ।’ र्‍यापिड डाईग्नोस्टिक टेष्ट गर्न किट उपलब्ध नभएकाले ज्वरो मात्र नापेर घर पठाइएको उनको भनाई छ । हट स्पट नभएका जिल्लावाट आएकालाई जाँच नगरि होम क्वारेन्टाइनमा बस्ने गरि घर पठाउने निर्देशिकामा उल्लेख भएको उनले बताए ।

यसैगरि जानकी गाउँपालिकाका अध्यक्ष प्रदिप चौधरीले  २ सय जना क्वारेन्टाइनबाट घर पठाएको बताए । निर्देशिका पठाएपछि  १४ दिन नपुगेकालाई पनि जाँच नगरी घर पठाएको उनको भनाई छ ।

प्रकाशित: १६ वैशाख २०७७ १३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App