समाज

क्वारेन्टाइनको क्षमता भन्दा बढी मान्छे आएपछि व्यवस्थापनमा चुनौती

रसुवा- रसुवामा क्वारेन्टाइनको क्षमता भन्दा बढी मान्छे आएपछि व्यवस्थापनमा चुनौती सिर्जना भएको छ । आइतबार नेपाली कांग्रेस रसुवाले ३ सय ७७ जनालाई जिल्लामा ल्याएपछि व्यवस्थापनमा चुनौती देखिएको हो ।

जिल्लामा आइतबारसम्ममा २ सय १० शैयाको क्वारेन्टाइन निर्माण भएको थियो । जसमा १ सय ७ जना बसिसकेका थिए । क्वारन्टाइनको क्षमताको आधारमा व्यवस्थापन गर्ने काम भइरहेको भएपनि नौकुण्ड गाउँपालिकामा ठुलो संख्यामा मान्छे आएपछि समस्या आएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए । ‘नौकुण्ड गाउँपालिकामा १० शैयाको क्वारेन्टाइन छ’, उनले भने, ‘अहिले १ सय ८७ जना आएका छन् ।’ नौकुण्डमा क्वारेन्टाइन निर्माण भएपछि मात्र आएका व्यक्तिले प्रवेश पाउने उनको भनाइ छ । नौकुण्ड जानका लागि काठमाडौंबाट आएकालाई बेत्रावतीमा नै राखिएको छ ।

क्वारेन्टाइन निर्माण भएपछि बेत्रावतीमा राखिएका सबै व्यक्तिलाई सम्बन्धित गाउँपालिकाको क्वारेन्टाइनमा राखिने तयारी छ । पार्टीले लकडाउनको कारण काठमाडौं समस्यामा परेका व्यक्तिलाई आइतबार ल्याएको हो । आएकामध्ये १ सय ५९ को व्यवस्थापन भइसकेको छ । आएकामध्ये थाम्बुचेतमा ७१, टिमुरेमा १५, डाँडागाउँमा २४, प्रतिनिधि सभा सदस्य मोहन आचार्यको घरमा २४, कालिकामा ३४ र स्याफ्रुमा १ जनालाई राखिसकिएको छ ।

यसैगरी कोभिड १९ सूचना केन्द्र रसुवाका अनुसार हालसम्म जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाको धुन्चेमा ६७, टिमुरेमा १५, स्याफ्रुमा १०, कालिकाको कालिस्थानमा ५८, उत्तरगयाको डाँडागाउँमा २४, लहरेपौवामा २४, आमाछोदिङ्मोको थाम्बुचेतमा ७४ जना क्वारेन्टाइनमा राखिसकिएको छ ।

प्रकाशित: १५ वैशाख २०७७ ०९:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App