समाज

जनप्रतिनिधि र कर्मचारीले विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्ने

खोटाङ– खोटाङको रावाबेँसी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विपद् व्यवस्थापन कोषमा साढे दश लाख भन्दा बढि रकम जम्मा गर्ने भएका छन् ।

गाउँ कार्यपालिकाको बैठकबाट गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य लगायतका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट १० लाख ६३ हजार ४८४ रुपैयाँ रकम कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाकै विपद् व्यवस्थापन कोषमा जम्मा गरेर आवश्यक शिर्षकमा खर्च गर्ने निर्णय गरिएको हो ।

६ वडा रहेको गाउँपालिकाका जनप्रतिनिधिले १५/१५ दिनको सेवा सुविधावापतको २ लाख ७ हजार, गाउँपालिकाभित्र कार्यरत कर्मचारीबाट एक हप्ताको सेवा सुविधावापतको १ लाख ५४ हजार ३७५ रुपैयाँ तथा शिक्षकबाट ५/५ दिनको सेवा सुविधावापत ७ लाख २ हजार १०९ रुपैयाँ रकम जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणकाक्रममा आवश्यक जनशक्ति परिचालन, आवश्यक सामग्री खरिद, उद्धार तथा राहतका कार्यक्रम सञ्चालनका लागि विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताए ।

यसअघि अन्य केही स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले पनि कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विपद् व्यवस्थापन कोषमा रकम जम्मा गर्ने घोषणा गरिसकेका छन् ।

प्रकाशित: १३ वैशाख २०७७ ०५:४९ शनिबार

विपद्_व्यवस्थापन_कोष कोरोना_भाइरस रोकथाम