समाज

लकडाउनका कारण जिल्ला बाहिर रहेका नागरिक ल्याउन ९ सर्त

रसुवा- लकडाउनका कारण काठमाडौं तथा अन्य जोखिममा रहेका जिल्ला र भारतसँग सीमा जोडिएका जिल्लाबाट व्यक्ति ल्याउनका लागि ९ वटा सर्त पूरा गर्नुपर्ने भएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण जिल्ला बाहिर रहेर समस्यामा परेका व्यक्तिलाई जिल्ला ल्याउन प्रक्रिया अघि बढेको छ । तर यसका लागि गाउँपालिकाहरूले नौवटा सर्त पूरा गर्नुपर्छ ।

समस्यामा परेका तथा अलपत्र परेका श्रमिकको उद्धार गर्नेपर्ने भएमा आवश्यकता, औचित्यता, स्वास्थ्य सुरक्षा, असर तथा प्रभाव समेतका आधारमा सम्बन्धित गाउँपालिकाले ९ वटा सर्तको पालना गर्नुपर्ने स्वास्थ कार्यालय रसुवाले जनाएको  छ ।  

गाउँपालिकाहरूले नाम, ठेगाना (टोल समेत), उमेर, हाल अलपत्र परेको उद्धार गर्नुपर्ने स्थान सहितको तिनपुस्ते विवरण, गाउँपालिकाको क्वारेन्टाइनमा क्षमता र खाना खाजा खर्च ब्यवस्थापन, यातायात ब्यवस्थापन र स्वास्थ सचेतना सहितको योजना निर्माण गर्नुपर्ने छ । सवारी साधनलाई पूर्ण रूपमा डिसइन्फेक्सन गरेर मात्र सम्बन्धित स्थानमा पठाउने र सञ्चालन गर्नुपर्ने, सवारी साधनको साथ लिन जाँदा व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) ब्यवस्था सहित एकजना स्वास्थ्यकर्मी अनिवार्य पठाउनु पर्ने छ ।

यसैगरी सवारी साधनमा सिट क्षमता भन्दा बढी मानिस नहाल्ने, यात्रु राख्दा ज्वरो नाप्ने उपकरण इन्फ्रारेड थर्मामिटरको सहायताले सबैको अनिवार्य ज्वरो नापी रेकर्ड राख्ने, सबैले फेस माक्स, सर्जिकल ग्लोब्सको अनिवार्य प्रयोग गर्नुपर्ने कार्यालयले जनाएको छ । सवारी साधन हिँडिसकेपछि कुनै पनि ब्यक्तिलाई सम्बन्धित क्वारेन्टाइनमा नपुग्दासम्म बीचमा नओराल्ने, क्वारेन्टाइनमा प्रवेश गराउनु अघि पनि पुनः मानिसको कपडा र सँगै ल्याएको  सामान डिसइन्फेक्सन गर्नुपर्ने र सम्बन्धित गाउँपालिकाको क्वारेन्टाइनमा १४ दिन अनिवार्य बस्नुपर्ने छ ।

यसका साथै क्वारेन्टाइनमा बस्दा नेपाल सरकारको कोरोना भाइरस सम्बन्धी क्वारेन्टिन सञ्चालन तथा ब्यवस्थापन गर्न बनेको मापदण्ड, २०७६ लगायत स्वास्थ्य सम्बन्धी अन्य प्रोटोकलको पूर्ण पालना गर्नुपर्ने छ । क्वारेन्टाइनमा १४ दिन पुगेपछि आरडिटी परीक्षण हुने र तत् पश्चात् पोजेटिभ नतिजा आए आइसोलेसनमा बस्नुपर्ने र नेगेटिभ नतिजा आए घरमा नै पुनः ७ दिनसम्म छुट्टै स्व–क्वारेन्टिनमा अनिवार्य बस्नुपर्ने छ ।

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले लकडाउनको उल्लंघन नहुने गरी स्वास्थ्य प्रोटोकलको पूर्ण पालना गरेर ल्याउन सकिने बताए । ‘समस्यामा परेका नागरिकलाई ल्याउनुपर्ने प्रमुख दायित्व भएको हुन्छ’, उनले भने, ‘समस्यामा परेकालाई स्थानीय प्रशासनसँग समन्वय गरेर ल्याउन सकिन्छ ।

नेपाली कांग्रेस रसुवाले विवरण संकलन गर्दै
लकडाउनका कारण काठमाडौंमा समस्यामा परेका नागरिकलाई जिल्ला ल्याउनका लागि नेपाली कांग्रेस रसुवाले विवरण संकलन सुरु गरेको छ । कामको सिलसिलामा काठमाडौंमा बसिरहेका रसुवालीलाई जिल्लामा ल्याउनका लागि पार्टीले विवरण संकलन सुरु गरेको हो ।

प्रतिनिधि सभाका सदस्य मोहन आचार्यले सामाजिक सञ्जाल मार्फत एक सूचना जारी गर्दै समस्यामा परेकाले पार्टी सभापति, जनप्रतिनिधि, तीनवटा गाउँपालिकाका अध्यक्ष तथा पार्टीका नेतालाई नाम टिपाउन आग्रह गरेका छन् । पार्टीले दिएको जानकारी अनुसार अहिलेसम्म नाम टिपाउनेको संख्या सय कटेको छ ।

जिल्लाको कालिका र गोसाइँकुण्ड गाउँपालिकाको तीन सर्त
जिल्लाको कालिका र गोसाइँकुण्ड गाउँपालिकाले भने तीनवटा सर्त पालना गर्ने गरी गाउँपालिका तथा वडासँगको समन्वयमा आउन आग्रह गरेका छन् । गाउँपालिकाले तोकेको क्वारेन्टाइनमा अनिवार्य रूपमा बस्ने प्रतिवद्धता व्यक्त गरेको हुनुपर्ने, होम क्वारेन्टाइनमा बस्न नपाइने र क्वारेन्टाइनमा कम्तिमा १४ दिन बस्ने सर्त पूरा गर्ने व्यक्तिलाई मात्र ल्याउन सकिने स्पष्ट पारेको छ । गोसाइँकुण्ड गाउँपालिकामा बाहिरबाट आएका ९ जना स्थानीय क्वारेन्टाइनमा बसिरहेका छन् ।

प्रकाशित: १२ वैशाख २०७७ ०३:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App