समाज

हप्तादिनका लागि खोटाङको नाका बन्द

खोटाङ– छिमेकी जिल्ला उदयपुरमा नोबेल कोरोना भाइरस (कोभिड–१९)का १२ जना संक्रमित फेला परेपछि खोटाङको नाका बन्द गरिएको छ । छिमेकी जिल्लामा ठूलो संख्यामा नोबेल कोरोना भाइरसबाट संक्रमित भारतीय नागरिक फेला परेपछि नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको आईतबार बसेको बैठकले खोटाङ प्रवेश गर्ने र बाहिरिने नाका हप्तादिनका लागि बन्द गरेको हो ।

कोरोना भाइरस भित्रिने र संक्रमणको उच्च जोखिममा परेकाले सोमबारदेखि हप्तादिनका लागि जिल्लाको नाका बन्द गर्ने निर्णय गरिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण समन्वय समितिका संयोजक एबं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए ।

जिल्लाका नगरप्रमुख, गाउँपालिका अध्यक्ष, राजनैतिक दल, प्रशासन, सुरक्षा निकाय, संघसंस्थाका प्रमुख सम्मिलित बैठकले लुकीछिपी घर आए वा नाकामा फेला परेका व्यक्तिलाई सिधै क्वारेन्टाइनमा लगेर १४ दिन राख्ने निर्णय गरेको छ । कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेकाबेला जिल्ला भित्रिने स्थानीय बढ्न थालेपछि जोखिम बढेकाले नाकामा कडाई गर्ने निर्णय गरिएको हो ।

विशेषगरी हप्ता दिनका लागि खोटाङ र उदयपुरको नाका भने पूर्ण ‘लक’ हुने प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए । यस अवधिमा खाद्यान्न तथा तरकारी ढुवानीका सवारी साधनलाई समेत उदयपुर जान रोक लगाइएको छ । उदयपुरमा संक्रमित भेटिए लगत्तै दिप्रुङ चुईचुम्मा गाउँपालिकाले आफ्नो नाका शिल गरिसकेको थियो ।

लकडाउनमा तीन घण्टा बजार खुला
यस्तै, ‘लकडाउन’को अवधिमा दिक्तेलबजारमा उपभोग्यवस्तु किनमेलका लागि खुला गरिएको समय घटाइएको छ । ‘लकडाउन’का समयमा आवश्यकीय सामग्री किनमेलका लागि दैनिक बिहान ७ बजेदेखि १० बजेसम्म बजार खुला गर्ने निर्णय गरिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण समन्वय समितिका संयोजक एबं जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले बताए ।

यसअघि लकडाउनको अवधिमा आवश्यक खाद्यवस्तु तथा इन्धन किनमेलका लागि प्रशासनले दैनिक बिहान ७ बजेदेखि दुई घण्टा र बेलुका ४ बजेदेखि दुई घण्टा खुला गर्ने आदेश जारी गरेको थियो । सोमबारदेखि बिहान तीन घण्टामा मात्र बजार खुलाउन थालिएको छ । किनमेलकाक्रममा भीडभाड नगरी भौतिक दुरी भने काम राख्नुपर्ने जनाइएको छ ।

बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणकाक्रममा आवश्यक पिपिई सेट, ग्लोव्स, मास्क, सेनीटाइजर तथा जिल्ला अस्पतालमा आवश्यक स्वास्थ्यकर्मी पठाउनका लागि प्रदेश सरकार र संघीय सरकारलाई आग्रह गर्ने, कोरोना भाइरस सम्वन्धी समस्याका बारेमा स्थानीय सरकारलाई तत्काल जानकारी दिन र समस्य हल गर्नका लागि ‘हेलो स्थानीय सरकार’ कार्यक्रम चलाउने निर्णय गरिएको चाम्लिङले बताए ।

प्रकाशित: ८ वैशाख २०७७ ०४:५३ सोमबार

नाका कोभिड–१९ कोरोना