समाज

पैदल आएका मजदुर क्वारेन्टाइनमा

धनगढी- लकडाउन लम्बिएसँगै खानेकुरा सिद्धिएपछि काठमाडौ लगायत बिभिन्न जिल्लाबाट आएका मजदुरलाई सिमानाबाट उद्धार गरि कैलालीका स्थानीय तहले क्वारेन्टाइनमा राखेका छन्। दिनरात भोक प्यासै सयौ किलोमिटर पैदल हिडेर आएका मजदुर आफ्नै घर नजिकै क्वारेन्टाइनमा बस्न पाउदा खुसी छन्।

शनिबार मात्र काठमाडौ, बुटवल लगायत बिभिन्न ठाउँबाट पैदल हिड्दै कैलालीको सिमाना चिसापानीमा २ सय ४९ जना मजदुर पुगेको कैलालीका प्रहरी नायव उपरिक्षक दक्षबहादुर बस्नेतले बताएका छन्। चिसापानीबाट सवारीसाधन पठाएर सम्बन्धित स्थानीय तहले उद्धार गरि आफ्नो क्षेत्रमा लगेर क्वारेन्टाइनमा राखेका छन्। ‘बिभिन्न ठाउँबाट आएर सिमानामा पुगेर मजदुरहरुलाई गाडीको व्यवस्था गरि ल्याएर क्वारेन्टाइनमा राखेका छौं’ घोडाघोडी नगरपालिकाका प्रमुख ममता चौधरीले भने, ‘चिसापानीबाट ल्याएर घोडाघोडी बहुमुखी क्याम्पसमा ४० जना मजदुरलाई क्वारेन्टाइनमा राखेका छौं।’ १४ दिन क्वारेन्टाइनमा राखेर जाँच गरेपछि उनीहरुलाई घर पठाइने उनको भनाई छ।

कैलालीको गोदावारी नगरपालिका, भजनी नगरपालिका, टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, लम्की चुहा नगरपालिका लगायतकाले आफ्नो क्षेत्रका मजदुरलाई चिसापानीवाट गाडीमा ल्याएर क्वारेन्टाइनमा राखेका छन्। ‘चिसापानीमा पुगेका १४ जना मजदुरलाई ल्याएर क्वारेन्टाइनमा राखेका छौं’ गोदावरी नगरपालिकाका प्रमुख हरिसिंह साउदले भने। बिभिन्न ठाउँवाट आएका मजदुरहरु थपिने क्रम जारी रहेको उनले बताए। चिसापानीमा जम्मा भएका मजदुरलाई प्रहरी प्रशासनको समन्वयमा स्थानीयले तहल लगेर क्वारेन्टाइनमा राख्ने गरेका हुन। ‘पैदल हिडेर चिसापानीमा जम्मा भएका मजदुरलाई स्थानीय तहसँग समन्वय गरेर क्वारेन्टाइनमा बस्ने गरि पठाउने गरेका छौं’ कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बोहराले भने, ‘अहिले सम्म करिव ४ सय जना मजदुरलाई स्थानीय तहको जिम्मा लगाएर क्वारेन्टाइनमा राखिएको छ।’

यसैगरि सुदूरपश्चिमका ७ पहाडी जिल्ला घर भएका मजदुरलाई अत्तरियामा दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसमा बनाइको ट्रान्जिट क्वारेन्टाइनमा राखिएको उनले बताए। अहिले २२ जनाजती रहेको र थपिने क्रम रहेको उनले बताए। र्‍यापिड टेष्ट गरेर सम्बन्धित स्थानीय तहमा क्वारेन्टाइनमा बस्ने गरि उनीहरुलाई पठाइने उनले बताए। प्रदेश सरकारका मुख्यमन्त्रीले पनि मजदुरलाई उद्धार गरेर क्वारेन्टाइनमा राखी खाने वस्ने व्यवस्था मिलाउन चासो दिएको उनले बताए ।

पूुर्वपश्चिम राजमार्गमा भोकप्यासै मजदुरहरु बालबच्चासहित पैदल हिडेर घर गईरहेको कुराले व्यापक चर्चा पाएपछि शुक्रबार मात्रै प्रधानमन्त्री केपी ओलीले जो जहाँ छन त्यही बस्न लगाउने र खाद्यान दिने भनेर निर्देशन दिएका थिए। प्रधानमन्त्रीले मजदुरलाई घर जान नदिन कडाई गर्ने भनेपनि कैलालीमा प्रदेश प्रहरी प्रशासन र स्थानिय तहले समन्वयमा नै गाडीको व्यवस्था गरेर मजदुरहरुलाई ल्याएर क्वारेन्टाइनमा राखीरहेका छन्।

खान नपाएर आएका मजदुरहरु आफ्नै घर नजिकैको क्वारेन्टाइनमा बस्न पाउदाँ खुशी छन्। ‘घर नजिकै क्वारेन्टाइनमा बस्न पाइएको छ, खानको समस्या छैन’ घोडाघोडी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका ऐनबहादुर शाहीले भने,‘यहाँ बस्न पाएपछि हामी खुसी छौं।’

दिन रात नसुतेर हिडेर ७ सय किलोमिटर पार गर्‍यौ
ऐनबहादुर शाही काठमाडौ नारायण थान पारीको सडकमा मजदुरी गर्थे। उनीहरु २० जना मजदुर थिए। भएको खाद्यान सबै सकियो। राहतका लागि फर्म भर्न भनेर वडा कार्यालय गए। ‘वडा कार्यालयले फर्म भर्न नमानेर राहत दिएन’ घोडाघोडी क्वारेन्टाइनमा रहेका शाहीले भने, ‘भोकभोकै मर्नुभन्दा जे परे पर्ला भनेर २० जना हामी झोलीझिम्टी बोकेर आयौ।’ बैशाख १ गते राति ८ बजे उनीहरुले सयौ माईल दुरीका लागि पैदल यात्रा सुरु गरे। दोश्रो दिन बिहान ५ बजे नोविसे पुगेको उनले बताए। २० किलोमिटर जती ट्रकमा बाटो काटेका उनीहरु पुनः पैदल हिडेर राति दासढुंगामा पुगे। त्यहाँ २ घण्टा बिताएर हिडेर उनीहरु रामनगर पुगे। रामनगरमा स्थानीय युवाहरुले खानाको व्यवस्था गरेको उनले बताए।

नारायण घाटमा शसस्त्र प्रहरीले खाना खुवाएको उनले सुनाए।  बुटवलसम्म बीचमा करिव २५ किलोमिटर जती स्थानीय ट्रकमा यात्रा गरे। बुटवलबाट दिनरात कतै नबसेर २४ घण्टामा कोहलपुर पुगे। कोहलपुरबाट कालीकोटका ८, जुम्लाका ८ जना छुटिए। बर्दियाका ४ र उनी हिडे। ‘कैलालीको भजनी नगरपालिकाले १२ जना मजदुरको उद्धारका लागि बासघारी गाडी पठाएको थियो। त्यसमै आएर बिहीबार राति १० बजे घर पुगेर क्वारेन्टाइनमा बसेको छुँ’उनले भने।

यसैगरि बुटवलामा घर निर्माणमा मजदुरी काम गर्ने कैलाली घोडाघोडी नगरपालिका वडा नं ५ का १० जना मजदुर पनि खाद्यान सकिएपछि पैदल हिडेर आएका छन्। उनीहरु पनि क्वारेन्टाइनमा बसेका छन्। ‘लकडाउन खुलेपछि काम गरुला बनेर बसेका थियौं, हामी एउटै गाउँका १० जना थियौं, लकडाउन पनि खुलेर भएको खाद्यान पनि सकियो’ रामु चौधरीले भने, ‘त्यहाँको नगरपालिका वडा नं १ मा राहतका लागि जाँदा तपाईहरुको राहत कैलालीमा छ यहाँ छैन भनेपछि भोकभोकै मर्नुभन्दा भनेर हामी हिडेर आएका हौं।’

बाटोमा पाइएको बसले केही किलोमिटर ल्याएर प्रहरी चौकी आएपछि झारिदिएको उनले बताए। ‘दिनरात हिडेर बर्दिया पुगेर मेयरलाई फोन गरेपछि उनले गाडी पठाएर यहाँ ल्याई क्वारेन्टाइनमा राखेको हो’ उनले भने, ‘भोकभोकै बस्नु भन्दा घर नजिकै क्वारेन्टाइनमा बस्दा हामी खुसी छौं।’

प्रकाशित: ७ वैशाख २०७७ ०२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App