समाज

रोल्पा सदरमुकाममा औषधि छर्कियो

औषधि छर्दै नगरपालिका । तस्बिरः दिनेश नागरिक

रोल्पा - रोल्पा नगरपालिकाले सदरमुकाम लिवाङ क्षेत्रमा औषधि छर्केको छ। नेपाली सेनाको खड्क दल गण र नेपाल प्रहरीको सहयोगमा नगरपालिकाले ‘सोडियम हाईपोक्लोराईड’ नामको औषधि बजार क्षेत्रमा छर्किएको नगर प्रमुख पूर्ण केसीले बताए। नगरपालिकाको दमकलको प्रयोग गरि शुक्रवार दिउसो औषधि छरिएको हो।

‘यो डिस्ईन्फेक्टेड औषधि हो। सुरक्षाका लागि बजार क्षेत्रमा छरेका हौ।’ रोल्पा नगरपालिकाका स्वास्थ्य संयोजक टंक गिरीले भने ‘नेपाली सेनाको सहयोगमा लिवाङ बजार भरि औषधि छरेका छौ।’ कोरोना संक्रमणले बिश्व आतंकित भईरहदा रोल्पा नगरपालिकाले रोकथामका उपाय भन्दै बिभिन्न उपायहरु अपनाई रहेको छ।

अस्पताललाई खुट्टाले खोल्ने धारा


स्थानिय युवा दानबहादुर घर्तीले बनाएको खुट्टाले खोल्ने धारा जिल्ला अस्पताललाई हस्तान्तरण गरिएको छ। मिलन डागीको आर्थिक सहयोगमा तयार गरिएको उक्त धारा खुट्टाको  सहयोगमा खोल्न सकिने छ। बिज्ञान बिषयमा १२ कक्षा पढिरहेका दानबहादुरले तयार गरेको धारामा एउटा टुटिबाट साबुनको घोल आउछ भने अर्कोबाट पानी आउने गर्दछ।

हातले नछोएरै खुट्टा कै प्रयोगबाट धारामा पानी र साबुनको घोल आउने भए पछि रोल्पा नगरपालिकाले पनि एउटा धारा बनाइदिन दानबहादुरलाई अनुरोध गरेको छ। ‘धारा हस्तान्तरणका लागि गरिएको औपचारीक कार्यक्रममा बोल्दै रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसिले भने ‘कुनै पनि सरुवा रोगबाट बच्नु हात धुनु राम्रो हो। त्यसैले रोल्पाली युवाले बनाएको धारा नगरपालिकाले पनि राख्ने छ।’

कोरोना महामारीको त्रास फैलिरहेका समयमा अस्पताललाई खुट्टाले खोल्ने धारा दिए पछि अस्पताल प्रमुख धनमाया घर्तीले खुसि ब्यक्त गरिन। ‘यो समयमा हातले नछोएरै खोल्ने धारा अस्पतालले पाउनु राम्रो हो।’ धारा अस्पतालमा गेटको छेउमा राखिएको छ। अस्पताल भित्रिने जो सुकैले पनि हात धोएर मात्र भित्र पस्न पाउने छन।

प्रकाशित: ६ वैशाख २०७७ ०६:४२ शनिबार

औषधि काेराेना