समाज

‘लकडाउन’का कारण समस्यामा परेका नगरबासीलाई घर ल्याइने

खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले विभिन्न कामका सिलसिलामा जिल्लाभन्दा बाहिर गएर बसिरहेको अवस्थामा गरिएको ‘लकडाउन’का कारण समस्यामा परेका नगरबासीलाई घरसम्म ल्याउने भएको छ।

नगरपालिकामा गठित नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण समन्वय समितिको शुक्रबार बसेको बैठकले विभिन्न कामका सिलसिलामा काठमाडौं, बिराटनगर लगायतका ठाउँमा पुगेको अवस्थामा ‘लकडाउन’ हुँदा मारमा परेका नगरबासीलाई संघीय सरकारसँग समन्वय गरेर घर ल्याउने तयारी थालेको हो।

बसिरहेको ठाउँमा दैनिक आयमुलक काम गर्न नपाएको तथा घर आउन पनि नपाएको अवस्थामा समस्यामा परेको गुनासो आएकाले उनीहरुलाई नगरपालिकाले घरसम्म ल्याएर होम क्वारेन्टाइनमा राख्ने तयारी गरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगर प्रमुख इवन राईले बताए। ‘संघीय सरकारले लकडाउनको मारमा परेका हाम्रो जनतालाई खाने बस्ने व्यवस्था गर्नु पर्‍यो की घर आउने व्यवस्था गर्नु पर्‍यो,’ नगर प्रमुख राईले भने, ‘लकडाउनको नाममा जनतालाई भोको पार्नु भएन। हामी त्यस्ता नगरबासीको तथ्यांक संकलन गरेर संघीय सरकारसँग समन्वय गरेर घरसम्म ल्याउने तयारीमा लागेका छौँ।’

होम क्वारेन्टाइनमा बस्नेगरी घर फर्कनका लागि नगरपालिकाले सम्पर्क गर्न सूचना जारी गरेको छ।

प्रकाशित: ६ वैशाख २०७७ ०५:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App