समाज

रसुवामा सञ्चालित चारवटा एम्बुलेन्समा छेकाबार लगाइयो

रसुवा- रसुवामा सञ्चालित ६ वटा एम्बुलेन्समध्ये चारवटामा छेकाबार लगाउने काम सकिएको छ। विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा नआउँदासम्मका लागि जिल्लामा सञ्चालित एम्बुलेन्समा छेकाबार लगाउने काम गरिएको हो।

जिल्ला अस्पताल रसुवाले सोमबार एम्बुलेन्समा छेकाबार लगाएको छ। कोरोना भाइरसको संक्रमणको जोखिम न्यूनीकरणका लागि एम्बुलेन्स चालक कक्ष र बिरामी कक्षबीच छेकाबारको व्यवस्था गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा अनिलकुमार खरेलले बताए। 

यसअघि कालिका गाउँपालिकाको दुईवटा एम्बुलेन्समा र उत्तरगया गाउँपालिकाको एउटा एम्बुलेन्समा छेकाबार लगाउने काम गरिएको थियो। उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालका अनुसार एक साताअघि नै गाउँपालिकाको एम्बुलेन्समा छेकाबार लगाइएको हो। 

जिल्लास्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिएमसी) रसुवाको पहिलो बैठकले जिल्लामा सञ्चालन हुने एम्बुलेन्समा चालक र बिरामी बीच छेकाबार अनिवार्य गर्ने निर्णय गरेको थियो। उक्त निर्णय अनुसार एम्बुलेन्स चालकको सुरक्षाको लागि सबै सञ्चालकहरूले न्यूनतम व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्रीको व्यवस्था गर्नुपर्ने छ। 

एम्बुलेन्स चालकलाई सार्वजनिक÷समूह सम्पर्क नहुने गरी छुट्टै व्यवस्था गर्नुपर्ने छ। स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले जिल्लाभित्र रहेका सरकारी, सामुदायिक र निजी एम्बुलेन्सहरूको विवरण अद्यावधिक गरेका छन्।

प्रकाशित: ३ वैशाख २०७७ १३:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App