समाज

प्रवासमा रहेका युवाको अगुवाईमा गाउँमा एम्बुलेन्स

प्रवासमा रहेका युवाको पहलमा रावाबेँसी गाउँपालिका ल्याइएको एम्बूलेन्स । तस्बिर : नागरिक

खोटाङ– खोटाङको रावाबेँसी गाउँपालिकामा प्रवासमा रहेका युवाको पहलमा एम्बूलेन्स जुटाइएको छ । रोजगारीका सिलसिलामा विभिन्न देशमा रहेका रावाबेँसी गाउँपालिका–६ हौंचुरका युवाको अगुवाईमा गाउँका लागि एक वटा एम्बूलेन्स जुटाइएको हो ।

प्रवासमा रहेका हौंचुरका गजेन्द्र खालिङ राई, हिमाल राई, सरोज श्रेष्ठ, उमेश गुरुङ, सम्मर खड्का, चिरञ्जीवि खड्का लगायतका देश तथा विदेशमा रहेका युवाको सहकार्यमा अभियान थालिएको तीन वर्षपछि गाउँपालिकामा एम्बूलेन्स आइपुगेको हो । बिरामी भएका गाउँका व्यक्तीलाई तत्काल सुविधा सम्पन्न अस्पताल पु¥याउनका लागि हेलीकोप्टर चार्टर गर्नुपर्ने वाध्यता अन्त्याका लागि देश तथा विदेशमा रहेका हौंचुरका युवाले २०७३ सालदेखि एम्बूलेन्स खरिद अभियान थालेका थिए ।

देश तथा विदेशमा रहेका ३९ जनाबाट संकलन गरिएको ५ लाखमा रावाबेँसी गाउँपालिकाको ६ लाख थप गरेर ११ लाखमा एम्बूलेन्स खरिद गरेर ल्याइएको हो । युवाले थालेको अभियानलाई साकार पार्नका लागि ६ लाख लगानी गरेको गाउँपालिकालाई नै एम्बूलेन्स सञ्चालनको जिम्मा दिइएको एम्बूलेन्सका अभियान्ता गजेन्द्रले बताए । भन्सार छुटमा एम्बूलेन्स ल्याइएको हो । एम्बूलेन्स जुटाउनका लागि २०७३ साल चैतमा सल्लाह गरेका युवाले २०७४ साल बैसाखदेखि एम्बूलेन्स खरिदका लागि सहयोग संकलन सुरु गरेका थिए । अस्पताल नै नपुगी अकालमा ज्यान गुमाउनु पर्ने वा अस्पताल पुग्न हेलीकोप्टर चार्टर गर्नुपर्ने सर्वसाधारणको बाध्यता अन्त्याका लागि प्रबासबाट गाँस काटेर एम्बूलेन्स जुटाइएको हो । ‘गाउँमा त्यो बेला निकै दुःख थियो । बिरामीलाई अस्पताल लैजान हेलीकोप्टर चार्टर गर्नुपर्ने बाध्यता थियो,’ हाल कतारमा पुगेका राईले भने, ‘हामी साउदीमै छँदा गाउँमा ग्रामिण सडक पुगेपछि एम्बूलेन्स खरिद गर्नुपर्छ भनेर देश तथा विदेशमा रहेका हौंचुरका साथीभाईसँग सल्लाह गरेर अभियान सुरु गरेका थियौँ । एम्बूलेन्सका लागि विशेषगरी विदेशमा रहेका युवाको गाँस काटेर रकम संकलन गरिएको छ ।’

गर्भवतीलाई एम्बूलेन्स निःशुल्क प्रवासमा रहेका हौंचुरे युवाले संकलन गरेको रकम र गाउँपालिकाको रकमबाट खरिद गरिएको एम्बूलेन्स गर्भवती महिलाले निःशुल्क उपयोग गर्ने व्यवस्था मिलाइएको छ । गर्भवती महिलालाई सुत्केरी गराउनका लागि अस्पताल लैजानेक्रममा एम्बूलेन्स निःशुल्क उपलव्ध गराउने व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौलाले बताए । एम्बूलेन्स खरिदका लागि हौंचुरका युवाले अभियान चलाएकाले हौंचुरबासीलाई सहुलियतमा एम्बूलेन्स सेवा उपभोग गर्ने व्यवस्था मिलाइएको छ । हौंचुरबासीलाई पक्की सडकमा प्रतिकिलोमिटर ३० रुपैयाँ र कच्ची सडकमा प्रतिकिलो ६० रुपैयाँ भाडा लाग्ने गाउँपालिकाले जनाएको छ । अन्य वडाका स्थानीयलाई भने पक्की सडकमा प्रतिकिलोमिटर ४० र पक्की सडकमा प्रतिकिलो ७० रुपैयाँका दरले भाडा लाग्ने जनाइएको छ । आवश्यकताका आधारमा जिल्लाका अन्य स्थानीयले पनि एम्बूलेन्स उपयोग गर्न पाउने बताइएको छ ।

यसअघि, खोटाङ सेवा समाज यूकेले ७ वटा र खोटाङ सेवा समाज दोहा कतारको पहल प्राप्त भएको १ वटा एम्बूलेन्स प्राप्त भएको थियो । हाल जिल्लामा विभिन्न दातृराष्ट्रको सहयोगमा जिल्ला अस्पताल, नेपाल रेडक्रस सोसाइटी, भारतीय वेलफेयर लगायतलाई प्राप्त भएको एम्बूलेन्स समेत सञ्चालनमा छन् ।

 

प्रकाशित: २७ चैत्र २०७६ ०८:१६ बिहीबार

प्रवास युवा एम्बुलेन्स