समाज

राहतकोषमा ईटा उद्योगीको सहयोग

भैरहवा – लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीले जिल्लाका विभिन्न स्थानीय तहमा ६ लाख बढी सहयोग गरेको छ। देशको यो विषम परिस्थितीमा राष्ट्र र जनतालाई कोभिड–१९ भाइरसको उच्च जोखिमवाट बच्न र संक्रमण फैलिन नदिन सहयोग गरिएको हो।

पालिकामा स्थापना गरेको भाइरस रोकथाम तथा उपचार कोषमा सहयोगको आपिललाई आत्मसात गर्दै उक्त सहयोग गरिएको छ व्यवसायीहरुले बताएका छन्। 

लकडाउनलाई पूर्ण कार्यान्वयन गर्दै कोरोना भाइरस रोकथाम तथा उपचारका लागि जिल्लाका पालिकामा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थापित कोषमा ६ लाख ९ हजार २ सय २२ रुपैयाँ सहयोग गरेको संघका महासचिव अजयकुमार गुप्ताले जानकारी दिए।

सम्बन्धित पालिकामा रहेको संघका प्रतिनिधी उद्योगका संचालक र जिल्ला समितिको समन्वयमा एकद्वार प्रणालीवाट संघले पालिकाको कोषमा सहयोग गरेको छ। मानवता र समाजप्रतिको उत्तरदायित्वलाई बहन गर्दै ईट्टा उद्योगीहरुको साथ छ, थप के कस्तो सहयोग गर्न सकिन्छ भन्नेबारे पनि संघले आन्तरिक छलफल गरिरहेको महासचिव गुप्ताले बताए।

संघको सहयोग र जिल्ला प्रशासन कार्यालयको समन्वयमा सिद्धार्थनगर नगरपालिकाको मातहत रहेको निमा प्रतिमान प्रतिष्ठान स्थित क्वारेन्टाइनमा पनि चिउरा, चाउचाउ, छोहडा, मिश्री, विस्कुट, दालमोट लगायतका ५१ हजार १ सय ११ बराबरको खाद्यान्न सामाग्री सहयोग गरेको संघले जानकारी दिएको छ।

देशको यो विषम परिस्थितीमा राष्ट्र र जनतालाई बचाउनकालागि सरकारबाट बिभिन्न प्रयासहरु भईरहेको सन्दर्भमा ईटा उद्योगी व्यबसायीको तर्फबाट सहयोग भएको छ। भाइरसको उच्च जोखिमबाट बच्न र संक्रमण फैलिन नदिन संघको पनि दायित्व र कर्तब्य भएकाले सामाजिक उत्तरदायित्व अन्तर्गत उद्योग सञ्चालित पालिकाको राहत कोषमा आर्थिक सहयोग गरिएको संघका अध्यक्ष थानेश्वर घिमिरेले बताए।

संघले प्रदेश सरकारको राहत कोषमा १ लाख ११ हजार १११, देवदह नगरपालिकाको विपद् व्यवस्थापन कोषमा ६० हजार , मायादेवी गाउँपालिकामा ८५ हजार, रोहिणी गाउँपालिकामा ८१ हजार, ओमसतिया गाउँपालिकामा ७५ हजार, तिलोत्तमा नगरपालिकामा ५१ हजार, कोटईमाई गाउँपालिकामा ३५ हजार, सियारी गाउँपालिकामा ३० हजार र सुद्धोधन गाउँपालिकामा ३० हजार सहयोग गरेको छ।

विश्वमा महामारीको रुपमा फैलिएको कारोना भाईरसको नेपालमा महामारी हुन नदिनका लागि सरकारले गरेका काममा सहयोग गर्दै कोरोना भाइरसको संक्रमणबाट बच्न र अरुलाई बचाउन घरभित्रै बसेर सुरक्षित हुन समेत संघले सबैलाई आग्रह गरेको छ।

 

प्रकाशित: २६ चैत्र २०७६ ०६:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App