समाज

‘राज्यले खानबस्नको व्यवस्था गर्नुपर्ने माग

वीरेन्द्रनगर  - सरकारले ११ गतेदेखि बन्दाबन्दी (लकडाउन) दोस्रो पटकसम्म समय थपेर चैत २५ गतेसम्म पु¥यायो। त्यसयता सयौं कर्णालीवासी रातारात घर पुगे। केही आफ्नो गन्तव्यसम्म पुग्न सकेनन्। बीचबोटमै उनीहरू लकडाउनका कारण अलपत्र अवस्थामा छन्।

सोमबारको मन्त्रिपरिषद् बैठकले तेस्रोपटक समय थप्दै वैशाख ३ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय ग¥यो। लगातारको लकडाउनले अलपत्र परेको यात्रुलाई झन सास्ती हुने निश्चित छ। नत घरसम्म पुग्ने कुनै साधन छ, न जहाँ बस्यो त्यहाँ बस्न पैसा। उनीहरूको अवस्था बेहाल भएको छ। मजदुरी र रोजगारी तथा अध्ययनका लागि कर्णाली आएकाहरूको अवस्था पनि उस्तै छ।

 कतिपय यात्रु बाटोमा लामो समयसम्म बस्नु पर्दा आर्थिक समस्यामा परेको भन्दै नागरिकसँग सरोकार राख्नेहरूले उनीहरूको खान बस्नमा राज्यले चासो दिनु पर्ने बताएका छन्। अहिले प्रदेश सरकारदेखि स्थानीय तहसम्म विपन्नलाई राहत वितरणमा मात्र ध्यान दिएको देखिन्छ। अलपत्र परेकाको अवस्थाका विषयमा उनीहरूले चासो नदिएको देखिँदा अलपत्र परेकाहरू थप चिन्तित भएका छन्।

यस्तो संकटका बेलामा आफन्तसँग बस्न पाएका छैनन्। लगातारको लकडाउनले बेहाल बनाएको गन्तव्यसम्म पुग्न नसकेका यात्रुहरूको भनाइ छ। सुनसरी रामधुनी–२, धमौटाका विद्यानन्द चौधरी सुर्खेतमा छन्। यस्तो विपतको बेला सात महिने सुत्केरी श्रीमती र बृद्धबृद्धा बाआमालाई स्याहारसुसार गर्न मन छ तर लकडाउनका कारण घरसम्म पुग्न सकेका छैनन्। ‘सरकारले लकडाउन लगाएपछि घर जान सकेका छैन,’ उनी भन्छन्, ‘यहाँ काम पनि छैन।’

‘नत भोक लाग्छ, न रातमा निन्द्रा,’ उनले भने, ‘यस्तो महाविपतिको बेला सुत्केरी श्रीमती कसरी सुरक्षित भइएकी होलिन् ?’ यस्तै बुटवल–३, झ्याइकुटीका शिशिर बमरेल (२२) का घरमा बुढा आमाबा मात्रै छन्। उनी पनि यस्तो विपतका बेला घर जान पाएका छैनन्। ‘पहिलोपटक लकडाउनको समय सकिँदा जाने योजना थियो,’ उनले भने, ‘नसकिँदै समय थपियो।’ पुनः तेस्रोपटक समय थप्दा झन समस्या भएको उनको भनाइ छ। अलपत्र परेकाहरूले कि घरसम्म पु¥याउनु पर्छ नत्र भने बाटोमा खाने र बस्ने राज्यले गर्नुपर्ने बताएका छन्।

कर्णालीका बासिन्दा कहाँ–कहाँ अलपत्र छन् त्यहाँ–त्यहाँ सुरक्षितसँग बस्ने र खानको व्यवस्था गर्नु राम्रो विकल्प हुने नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले बताए। ‘लकडाउन खुकुलो गराउँदा स्थिति झन जटिल हुन सक्छ,’ उनले भने, ‘लकडाउन खुकुलो बनाउनुभन्दा अलपत्र परेकालाई सरकारले जहाँ हो त्यहीँ खान बस्नको व्यवस्था गर्नु पर्छ।’ 

भारतमा सामान्य नहुँदासम्म नेपालमा लकडाउन अझै बढ्न सक्ने उनको भनाइ छ। ‘कोरोना भाइरस मान्छेबाट मान्छेमा सर्ने हुँदा यस्तो अवस्थामा राजनीति गर्नुहुन्न,’ उनी भन्छन्, ‘पहिला जनता बचाउनु पर्छ।’ सरकारले यो वा त्यो पार्टीको नभनी जनतालाई खान, बस्न र उपचारको व्यवस्था गर्नु पर्ने उनको भनाइ छ।

यस्तो अवस्थामा राज्यले सुरक्षितरूपमा गन्तव्यमा पु¥याउनु पर्ने रुकुम पश्चिमका शिव आचार्यले जनाए। ‘राज्य चाहिने भनेकै यतिबेला हो,’ उनले भने, ‘अरु बेला त नागरिक आफैँ संघर्ष गरिहाल्छन्।’ राज्यको स्रोत साधन प्रयोग गरेर उपचार गर्नुपर्ने उनको भनाइ छ। 

लकडाउनको समयमा कोही सर्वसाधारण बाटोमै अलपत्र छ भने सरकारले उचित व्यवस्थापन गर्नुपर्ने प्रचलन भएको सुर्खेतका सुशिल केसीले बताए। घरमा अत्यावश्यक भयो भने घरसम्म पु¥याउने राज्यले व्यवस्था गर्नुपर्ने भन्दै उनले भने, ‘सामान्य अवस्थामा बसेकै स्थानमा राज्यले अभिभावकत्व निर्वाह गर्नुपर्छ।’

प्रकाशित: २४ चैत्र २०७६ १३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App