काठमाडौं- वर्षायाममा लगातार वर्षा हुँदा प्रदूषणको मात्रा जसरी ह्वातै घट्छ, अहिले त्यस्तै स्थिति काठमाडौं उपत्यकामा छ।
सरकारले कोरोनाको जोखिमबाट बच्न मुलुकमा साताव्यापी ‘लकडाउन’ घोषणा गरेपछि वातावरणीय दृष्टिकोणबाट काठमाडौका रत्नपार्क, ललितपुरको पुल्चोक, भक्तपुर र वरिपरिको क्षेत्र ग्रिनजोन अर्थात् बस्नलायक क्षेत्र मानिएको छ। यस्तो अवस्था यसअघि वर्षायाममा लगातार वर्षा भएका बेला मात्र हुन्थ्यो।
रत्नपार्क, पुल्चोक र भक्तपुर क्षेत्रमा राखिएका प्रदूषणमापन केन्द्र (स्टेसन) हरूले शुक्रबार दिउँसो ग्रिनजोन संकत अर्थात् उपत्यका मानव बसोबासका लागि उपयुक्त भएको देखाएका छन्। हावामा प्रदूषणको मात्रा २ दशमलब ५ माइक्रोनभन्दा साना कण प्रतिघनमिटर ५० भन्दा कम भए ग्रिनजोन मानिन्छ। ‘नेपालले हावामा प्रदूषणको मात्रा २ दशमलब ५ माइक्रोनभन्दा साना कण ४० भन्दा कम देखिए त्यसलाई ग्रिनजोन मान्ने मापदण्ड बनाएको छ तर ५० भन्दा कम देखिए पनि ग्रिनजोन मान्ने गरिएको छ,’ वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले भने। उनले भने, ‘लकडाउन भएयता शुक्रबार दिउँसोसम्म रत्नपार्क क्षेत्र ग्रिनजोनमा परेको छ।’
विभागका अनुसार लकडाउनपछि रत्नपार्कमा प्रदूषणको मात्रा हरेक दिन घट्दो छ। ‘वर्षायाममा लगातार वर्षा हुँदा जसरी प्रदूषणको मात्रा ह्वात्तै घट्छ, अहिले रत्नपार्कमा त्यस्तै स्थिति छ,’ जोशीले भने। रत्नपार्कमा सबैभन्दा बढी प्रदूषण मात्रा १ सय ८० सम्म पुगेको छ। यस वर्ष शिवरात्रिको दिन रत्नपार्कमा प्रदूषण मात्रा १ सय ८० सम्म पुगेको विभागले जनाएको छ।
विभागका अनुसार लकडाउनको चौथो दिन शुक्रबार दिउँसो रत्नपार्क, पुल्चोक र भक्तपुर ग्रिनजोन देखिएका छन्। तर भैंसेपाटी र शंखपार्क क्षेत्र अझै ग्रिनजोन बन्न सकेको अवस्था छैन। विभागको बेबसाइटका अनुसार शुक्रबार दिउँसो भैंसेपाटीमा १ सय २१ र शंखपार्कमा प्रदूषण मात्रा १ सय ५१ रेकर्ड भएको छ। ‘लकडाउन भएयता रत्नपार्क क्षेत्र लगातार ग्रिनजोन देखिएको छ,’ जोशीले भने, ‘तर भैंसेपाटी, शंखपार्कलगायत केही ठाउँ अझै पनि ग्रिनजोन बन्न सकेको अवस्था छैन। हामीलाई विश्वास छ अब ती क्षेत्र पनि ग्रिनजोन बन्नेछन्।’
बेबसाइट अनुसार उपत्यकाबाहिर शुक्रबार सबैभन्दा बढी प्रदूषण सिमरामा रह्यो। सिमरामा प्रदूषण मात्रा १ सय ६८ रेकर्ड भयो। त्यस्तै सबैभन्दा कम प्रदूषण दाङमा रेकर्ड भयो। दाङमा प्रदूषण मात्रा ३७ रह्यो।
वातावरणविद्का अनुसार प्रदूषण मात्रा १ सयसम्म रेकर्ड भए त्यसलाई एलोजोन अर्थात् पहेंलो क्षेत्र मानिन्छ। पहेंलो क्षेत्रलाई बस्नका लागि लागि ‘ठिकै अवस्था’ मानिन्छ। तर प्रदूषण मात्रा १ सय ५० र त्योभन्दा माथि भए रेडजोन हुन्छ, जहाँ बस्दा जोखिम हुन्छ। वन तथा वातावारण मन्त्रालयका प्रवक्ता सिन्धु ढुंगानाका अनुसार नेपालमा प्रदूणण बढ्नुमा गाडीबाट निक्कने धुवाँ ३५ प्रतिशत जिम्मेवार छ। यसैगरी कलकारखानाबाट २५ प्रतिशत र इँटाभट्टाबाट २५ प्रतिशत प्रदूषण हुन्छ। बाँकी १५ प्रतिशत प्रदूषण अन्य क्षेत्रबाट हुन्छ।
प्रकाशित: १५ चैत्र २०७६ ०१:४२ शनिबार