समाज

अप्ठेरो र त्रासमा गाउँ प्यारो

पोखरा/तनहुँ - राजधानीमा इन्जिनियरिङ विषय अध्ययनरत तनहुँको भिमादस्थित बागटारका डाँसु कँडेल शनिबार दिउँसो निकै गाह्रो गरी घर फर्किए। नेपाल इन्जिनियरिङ कलेजमा स्नातक तह अध्ययनरत उनी कोरोना भाइरस संक्रमणको प्रभावले कलेज बन्द भएपछि घर फर्किएका थिए।

परीक्षाको तयारी गर्दागर्दैको अवस्थामार्नुपर्दा उनको मन खुसी छैन। तर राजधानीको कोलाहलपूर्ण वातावरणमा बस्दा संक्रमण बढ्ने झनै बढी डर भएपछि उनले जन्मथलो नै सुरक्षित ठाने। ‘चाडबाडमा रमाउन पनि यही गाउँ ठिक, अहिलेको अप्ठेरोमा पनि गाउँघर नै सुरक्षित ठानेर फर्किएँ,’ उनले भने, ‘राजधानीको भिडभाडबाट उम्किन दसैं–तिहार नै कुर्नुपर्छ नत्र अरू बेला फुर्सद हुँदैन। अहिले त फुर्सदभन्दा पनि त्रास बढ्यो। गाउँमा कम्तीमा संक्रमण फैलिन सक्दैन भनेर हतारहतार हिँडें।’

गाउँमा परिवारसँगै बस्न पाउने र हत्तपत्त संक्रमित पनि सम्पर्कमा नआउने भएकाले गाउँ नै सुरक्षित ठानेको उनले बताए। ‘परीक्षा हुँदै थियो। कोरोना संक्रमणको त्रासले स्थगित भइदियो। अब कहिले पढाइ सुरु हुने हो निश्चित छैन,’ उनी भन्छन्, ‘अहिले घर आउने सुरसार थिएन। तर त्रासैत्रासले सबै साथीहरू आ–आफ्नो घरतिर लागे। अनि म पनि बस्न सकिनँ। कोठामा कति एक्लै बस्नु ? त्यसैले घर फर्किए।’

अरू बेला सामान्य अवस्था हुँदा दसैं–तिहार मनाउन मात्रै गाउँ फर्कनेहरू पनि यसपालि कोरोनाको त्रासले झिटीगुन्टा बोकेर गाउँ फर्किरहेका छन्।

अब कलेज सुरु भएपछि मात्र काठमाडौं जाने उनले बताए। आफूजस्ता धेरै विद्यार्थीले यतिबेला राजधानी छाड्न खोज्दा भिमादसम्म आउने गाडीमा सिट पाउन मुस्किल भएको उनले सुनाए। सोमबारदेखि लामो दूरीको सवारी नचल्ने हल्लाले काठमाडौं छाडने धेरै यात्रु हुँदा सबैतिरका गन्तव्यसम्म पुग्न गाडी पाउन मुस्किल भएको उनको भनाइ छ।

सरकारले लामो दूरीका सवारी नचल्ने भनेपछि सार्वजनिक सवारीमा झनै भिड बढेको छ। बिहीबारदेखि गाउँ फर्किने भिड बढेको थियो, शुक्रबार र शनिबार झनै बढी भिड छ। अरू बेला सामान्य अवस्था हुँदा दसैं–तिहार मनाउन मात्रै गाउँ फर्कनेहरू पनि यसपालि कोरोनाको त्रासले झिटीगुन्टा बोकेर गाउँ फर्किरहेका छन्। निर्वाचनमा मतदान गर्न र दसैं–तिहारजस्ता ठुला चाडमा मात्र घर फर्किने धेरै हुने गरेकोमा अहिले भने अप्ठेरो परिस्थितिमा गाउँ नै प्यारो ठानेर फकिने धेरै रहेको कँडेलले बताए। यसअघि २०७२ सालमा भूकम्पको बेला पनि यसैगरी मान्छेले काठमाडौं छोडेका थिए।

स्याङजाको चित्रे भञ्जयाङकी डिम्पी थापामगर पनि गाउँ जाने गाडी खोज्दै गर्दा भिमाद बजारमा भेटिइन्। पोखरा बसेर पढ्दै गरेकी उनले परीक्षा रोकिएपछि गाउँ फिर्न थालेको बताइन्। ‘परीक्षा सकेर फर्कने भनेको त दिनै पाइएन,’ उनले भनिन्, ‘यो बेला सहरमा भन्दा गाउँमा सुरक्षित भइन्छ कि भनेर हतारमा आयौं।’

बजारमा बसेर स्कुल, कलेज पढ्दै गरेका विद्यार्थी र उनीहरूका अभिभावक तथा विद्यालयमा बिदा पाएका शिक्षकका परिवार यतिबेला हतारमा गाउँ फर्किरहेका छन्। सबैजसो शिक्षण संस्था बन्द भएकाले पनि शैक्षिक क्षेत्रका कर्मचारी र विद्यार्थी पूरै फुर्सदिला बनेका छन्। त्यसबाहेक छोराछोरीलाई सहरमा पढाउने रहरमा गाँउ छाडेका अभिभावक पनि बालबच्चा च्यापेर घर फर्किरहेका छन्। प्रत्यक्ष सम्पर्क नहुने हुँदा गाउँमा संक्रमण फैलिने सम्भावना कम हुने भन्दै धेरै विद्यार्थी र अभिभावक यतिबेला गाउँ पुग्दै छन्।

तनहुँको सदरमुकाम दमौलीसहित वरपरका दुलेगौंडा, खैरेनीटार, डुम्रे, आँबुखैरेनी र भिमाद बजारमा गाउँ फकिर्नेको लर्को देखिन्छ। तनहुँका विभिन्न बजार हुँदै लमजुङ, स्याङजा, पाल्पा र नवलपुरका ग्रामीण भेगका लागि सवारीसाधन छुट्छन्। यस्तै लर्काे पोखरामा पनि छ। पोखराबाट त लामो र छोटो दूरीमा गाउँगाउँमा पुग्ने सवारीसाधन सञ्चालन हुने भएकाले यहाँको बसपार्कमा सवारी खोज्नेको भिड थियो। बिहान गाउँबाट रित्तै आएका सवारी बेलुका फर्किदा भरिभराउ हुन्छन्। ग्रामीण भेगका सडकमा क्षमताभन्दा बढी यात्रु र मालसामान राखेर जोखिमयुक्त तरिकाले सवारी चल्छन्।

प्रायः चैत–वैशाखमा गाउँघरतिर कामको चटारो हुने हुँदो सहर–बजार सुनसान हुने समय हो। गाउँलेलाई बजार झर्ने फुर्सद मिल्दैन। तर पनि यतिबला भने बजारमा भिडभाड नै छ। खाद्यान्न सामग्री पसलमा ग्राहकको घुइँचो लागेको छ। सवारीले पनि मुस्किलका साथ यात्रुलाई गाउँमा उकालिरहेका छन्।

पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष योगेन्द्र केसीले दसैंमा भन्दा पनि यतिबेला घर फकिने यात्रुको भिड बढी रहेको बताए। बुटबल पश्चिमका गन्तव्यका लागि यात्रु बढेपछि व्यवसायीले बस थपेर पनि सेवा दिइरहेका छन्। नेपालगञ्ज, धनगढी, बर्दिया, सुर्खेत, दाङलगायत सहरमा जाने यात्रुको संख्या अधिक रहेको छ।

‘अरूबेला दैनिक एउटा बस चल्ने गन्तव्यमा अहिले चारवटा बसले यात्रु ओसारेका छन्। दुईवटा बस चल्ने गन्तव्यमा ६ वटासम्म बसले यात्रु लगिरहेका छन्,’ केसीले भने, ‘दसैंमा पनि यत्तिसारो भिड लाग्ने थिएन।’

पोखरा आउने पर्यटकलाई सेवा दिँदै आएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा) का उपाध्यक्ष हरि अधिकारीका अनुसार पोखरा–काठमाडौं रुटमा काठमाडौंबाट घर फर्किनेको भिडका कारण बस भरिभराउ हुने गरेका छन्। तर पोखराबाट भने बस रित्तै गइरहेका छन।

प्रकाशित: ९ चैत्र २०७६ ०३:३१ आइतबार

गाउँ काेराेना_भाइरस