समाज

अग्रवालद्वारा खण्डन

काठमाडौं – व्यवसायी ललितकुमार अग्रवालले हिमालयन टेलिभिजन नेटवर्क प्रालिले आफ्नो नाम जोडेर निकालेको विज्ञापनको खण्डन गरेका छन्। प्रालिले नागरिक दैनिकमा अग्रवाललाई जोडेर विज्ञापन प्रकाशित गरेको थियो।

मोरङ जिल्ला रंगेली–१ स्थायी ठेगाना भई काठमाडौं महानगरपालिका वडा नं १० मा बस्ने अग्रवालले एक विज्ञप्ति निकाल्दै हिमालयन टेलिभिजनको सेयर खरिद बिक्री सम्बन्धमा कम्पनीका सञ्चालकसँग विवाद रहेको जानकारी दिएका छन्। प्रालिले आफ्नो मान प्रतिष्ठा र इज्जतमा आँच पुर्‍याउने उद्देश्यले विज्ञापन प्रकाशित गरेको अग्रवालले दाबी गरेका छन्।

अग्रवालले विज्ञप्तिमा हिमालयन टेलिभिजन खरिद बिक्रीमा अहिलेका सञ्चालकसँग आफूले अझै सात करोड रुपैयाँ लिन बाँकी रहेको उनको दाबी छ। टेलिभिजनको सेयर खरिद बिक्री र लेनदेनको मुद्दा अहिले अदालतमा पुगेको उनको भनाइ छ। यस्तै हिमालयन टेलिभिजनमा आफ्ना छोरा चेन अग्रवालको नाममा अझै १० प्रतिशत सेयर कायम रहेको उनले बताए।

टेलिभिजनमा सेयर हुँदाहुँदै पनि आफूले त्यहाँको हिसाब–किताब हेर्न नपाएको उनले आरोप लगाएका छन्। यसैगरी चेन अग्रवालले पनि विज्ञप्ति प्रकाशित गर्दै आफ्नो नाममा प्रकाशित गरिएको विज्ञापनको खण्डन गरेका छन्। उनले आफ्नो मानमर्दन गर्न असत्य कुरा समावेश गरेर विज्ञापन प्रकाशित गरिएको बताए।

प्रकाशित: ९ चैत्र २०७६ ०३:०७ आइतबार

व्यवसायी खण्डन