समाज

एम्बुलेन्स दुर्घटनाका अर्का घाइतेको पनि मृत्यु

ठक्कर दिने एम्बुलेन्स । तस्बिरः महेश्वर

उदयपुर- उदयपुरमा एम्बुलेन्स ठक्करबाट घाइते भएका अर्का एकको पनि मृत्यु भएको छ। शुक्रबार साँझ ६ बजे भएको दुर्घटनामा घाइते तीनमध्ये दुईको उपचारका क्रममा मृत्यु भएको हो। भने एक जनाको उपचाररत छन्। मदन भण्डारी लोकमार्गअन्तरगत त्रियुगा नगरपालिका ९ झिल्केचोकस्थित सडकछेउमा बसेर गफिदै गरेका ३ सर्वसाधारणलाई चुहाडेबाट गाईघाटतर्फ आउँदै गरेको स १ झ ४७७ नं. को एम्बुलेन्सले ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो। ठक्करमा परी त्रिनपा ९ का ६२ वर्षीय तिलक दनुवार, १४ वर्षीय रोशन दनुवार र ३२ वर्षीय राजकुमार दनुवार घाइते भएका थिए। जसमध्ये तिलक र रोशनको मृत्यु भएको प्रहरीले जनाएको छ।

तिलकको उपचारको क्रममा गाईघाटस्थित उदयपुर अस्पतालमा शुक्रबार राति ८ बजे मृत्यु भएको हो भने घाइते रोशनको उपचारकै क्रममा शनिबार बिहान विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए। साँझ साढे ६ बजेको घटनामा घाइते भएका सोही ठाउँका ३२ वर्षीय राजकुमार दनुवारको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिने एम्बुलेन्स र चालक त्रियुगा ३ का ३० वर्षीय सन्तोष खत्रीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको एसपी मगरले बताएका छन्।

त्यस्तै दुई दिनअघि मोटरसाइकल दुर्घटनामा परी घाइते कृषि प्राविधिक कर्मचारीको पनि उपचारकै क्रममा मृत्यु भएको छ। उदयपुरस्थित बालविकास समाज नेपाल (सिडिएस)का कृषि प्राविधिक धनकुटा पाख्रीबास नगरपालिका ४ का ४६ वर्षीय उमेश कटेलको दुर्घटनापछि उपचार गर्न ल्याउँदै गर्दा बाटामै मृत्यु भएको हो।

उनी बिहीबार दिउँसो निजी मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थिए। कामको सिलसिलामा फिल्ड जाने क्रममा कटारी नगरपालिका ११ हर्देनीदेखि कटारी ८ सिरिसेतर्फ आउदै गर्दा मोटरसाइकल अनियन्त्रित भई सडकको भित्तामा ठोक्किन पुग्दा गम्भीर घाइते भएका उनलाई स्थानीयले उद्धार गरी उपचारार्थ कटारी ल्याउँदै गर्दा राति नै मृत्यु भएको सिडिएसले जनाएको छ।

सिडिएसका साझेदार सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक दीपकराज बुढाथोकीका अनुसार विगत ४ वर्षदेखि सिडिएसमा कृषि प्राविधिकका रुपमा कार्यरत कटेल कृषि सम्बन्धी विशेषज्ञसरह जानकार दिए। कटारी नगरपालिकाका ८, १० र ११ हर्देनीसमेत हेर्ने  जिम्मा पाएका उनी कर्तव्य पालनकै सिलसिलामा दुर्घटनामा परी मृत्युवरण गर्न पुगेको बुढाथोकीले बताए।

वर्षौंदेखि कृषिमा अनुभवी, इमान्दार, कर्तव्यनिष्ट र मिहिनेती कटेलकै प्रेरणाले सो क्षेत्रका कृषकहरु व्यवसायिक कृषिप्रति आकर्षित भएका छन्। उनकै प्रयासमा पछिल्लो समय त्यसभेगका स्थानीयहरु अम्लिसो, अदुवा, सुन्तला, कागती र बेमौसमी तरकारीको व्यवसायिक खेती गरिरहेको कटारी ८ का वडाध्यक्ष कमल श्रेष्ठले बताए।

सिडिएसका अध्यक्ष इश्वर मगरले कटेलकै प्रयासले त्यसक्षेत्रका कृषकहरुले कृषि व्यवसाय अपनाउन थालेयता आर्थिक हैसियत ह्वात्तै उकासेका छन्। स्थानीयको गरिवी निवारणमा महत्वपूर्ण योगदान पुर्‍याएका कटेलको मृत्युले संस्था र स्थानीयलाई अपुरणीय क्षति पुगेको भन्दै अध्यक्ष मगरले दुःख व्यक्त गरेका छन्।

 

प्रकाशित: ८ चैत्र २०७६ ०९:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App