समाज

निमन्त्रणा कार्डमा उमेर नखुलाए विवाह बहिस्कार

बालविवाह रोकथाम कार्यक्रमको प्रभावकारिताबारे जनप्रतिनिधिसँग छलफल गर्दै किशोरी । तस्बिरः बिरा/नागरिक

बैतडी- बालविवाह न्यूनीकरण गर्न बैतडीको शिवनाथ गाउँपालिकाले विवाह निमन्त्रणा कार्डमा दुलाहदुलहीको उमेर उल्लेख गर्नुपर्ने प्रावधान ल्याउने तयारी गरेको छ। निमन्त्रण कार्डमा उमेर नखुलाएको विवाहमा सहभागी नहुने गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए। ‘बालविवाह जस्तो हानिकारक चलनले समाजलाई असर गरेको छ,’ उनले भने, ‘बालविवाह रोकथामको लागि दुलाहादुलहीको उमेर नखुलाई निमन्त्रणा दिने बिहेमा नजान सबै पालिकाबासीलाई आग्रह गरेका छौं।’

गाउँपालिकाले बालविवाह न्यूनीकरणको लागि रणनीतिक योजना बनाउन लागेकाले उक्त योजनामा निमन्त्रणा कार्डमा दुलाहादुलहीको उमेर उल्लेख गर्नुपर्ने प्रावधान लागू गर्न लागेको गाउँपालिकाले जनाएको छ।

बालविवाह न्यूनीकरणको लागि विभिन्न कार्यक्रम लागू भए पनि अझै बालविवाह रोकिएको छैन। भारतसँग सीमा जोडिएकाले भागेर भारत जाने गरेकाले समस्या निम्ताएको शिवानाथ गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्दले बताइन्। ‘हामीले घरघरसम्म बालविवाहले गर्ने असरबारे जानकारीमुलक सन्देश पुर्‍याएका छौ,’ उनले भनिन् ‘तर हिजोका दिनभन्दा केही कमी आए पनि अझै धेरै काम गर्नुपर्ने देखएको छ।’ वडामा गठित किशोर सञ्जालले पनि बालविवाहबारे चेतना जगाउँदै आएको छ। किशोरी सञ्जालले रुपान्तरण कक्षामार्फत गाउँका किशोरीलाई जागरुक गराउँदै आएको पञ्चेश्वर गाउँपालिका–३ की कमला चन्दले बताइन्।

जिल्लामा बालविवाह न्यूनीकरण अभियानमा सबैले अग्रसर भए मात्र न्यूनीकरण हुने देखिएको छ। पछिल्लो समय केही घटे पनि अझै उमेर नपुगी भागेर जाने क्रम बढेको छ। बालबालिकाको सानै उमेरमा विवाह गरिदिने र सामाजिक सञ्जाल, मोबाइलको बढ्दो प्रयोगले उमेर नपुग्दै बालविवाह गर्ने गरेकाले रोकथामको लागि अभिभावक र किशोरीलाई तालिम, अभिमुखीकरणका क्रियाकलाप गर्दै आएको रेडक्रस बैतडीबाट सञ्चालित बालविवाह रोकथाम कार्यक्रमका कार्यक्रम संयोजक कमलापति भट्टले बताए। संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष(युएनएफपिए) को सहयोगमा रेडक्रस बैतडी शाखामार्फत् सञ्चालित बालविवाह रोकथाम कार्यक्रमले अभिभावक र किशोरीलाई बालविवाह लगायत हानीकरक चलनले पारेका असरबारे सचेत गर्न थालेको हो। जिल्लाको दशरथचन्द, पाटन नगरपालिका, डिलासैनी र सिगास गाउँपालिकामा स्थानीय तहसँग मिलिेर बालविवाह न्यूनीकरणका कार्यक्रम चलाइएको हो।

समुदायमा बालविवाहका कारण हुने शारीरिक, मानसिक, पारिवारिक तथा सामाजिक समस्याका बारेमा गाउँपालिकामा हुने हरेक कार्यक्रममा जानकारी गराउँदै आएको शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए। बालविवाह गर्ने र गराउने परिवारलाई सरकारले दिने सेवासुविधाबाट वञ्चित गराउनेसम्म गाउँपालिकाले बालविवाह रणनीतिक योजनामा समेट्ने उनको भनाइ छ।

जिल्लाका विभिन्न स्थानीय तहमा किशोरीवृत समूह गठन गरिएका छन् ती समूहमा बालबालिकाका अधिकार, बालविवाह, सामाजिक विकृतिका बारेमा छलफल हुने गरेको छ। प्रत्येक शनिबार वडाका किशोर एक ठाउँमा भेला भएर सचेतना कक्षा सञ्चालन हुने गरेको शिवनाथ गाउँपालिका–२, शर्मालीकी  किशोरी सहजकर्ता वृहस्पति कलौनीले बताइन्। सचेतना कक्षामा किशोरीका समस्या लगायत सामाजिक विकृति विसंगतीका बारेमा छलफल हुने गरेको हो। रुपान्तरण तालिम लिएका किशोरीले अन्य किशोरीलाई सचेतना कक्षामार्फत् सन्देश प्रवाह गर्ने गरेका छन्।

छोरीलाई बोझका रुपमा लिने र सानैमा विवाह गरिदिने चलन छ। यो चलन ग्रामिण बस्तीमा बढी रहेको देखिन्छ। बालविवाह गर्ने चलन सामाजिक समस्याको रुपमा रहेको रेडक्रस बैतडीका सभापति भीमदत्त पाण्डेयले बताए। पूरातनवादी सोचसँगै सानै उमेरमा छोरीको बिहे गरीदिए उम्किइन्छ भन्ने सोचकै कारण बालविवाहका घटना हुने गरेको उनको भनाइ छ। समाजमा विद्यमान कुसंस्कारको नियन्त्रण, न्यूनीकरण र निर्मूलीकरण गर्न यो अभियान थालिएको हो। किशोरी र अभिभावक जागरुक भए बालविवाह न्यूनीकरण गर्न सहज हुने रेडक्रस बेतडीका मन्त्री रमेशसिंह भण्डारीले बताए।

किशोरीवृत समूहका किशोरीले आफ्नो गाउँमा हुन लागेको बालविवाह समेत रोक्न सफल भएका छन्। ‘बाल विवाह हुन लागेको थाहा पाएपछि घरमा गएर अभिभावकलाई सम्झाउँछौ,’ पञ्चेश्वर गाउँपालिका–२ की अन्जु चन्दले भनिन् ‘बालविवाहबाट पर्ने असरका बारेमा बताएपछि धेरै अभिभावक बालविवाह रोक्न तयार हुन्छन्, नमानेमा स्थानीय तह वा प्रहरीमा खबर गर्ने गरेका छौ।’

बालविवाहबाट पर्ने असरबारे किशोरकिशोरीलाई जानकारी भएपछि उनीहरु आफै बालविवाहविरुद्ध लाग्ने गरेका छन्। किशोरीहरु घरदैलो कार्यक्रमदेखि साप्ताहिक रुपमा कक्षा सञ्चालन गर्ने गरेका छन्। सचेतना कक्षाबाट बालविवाहबाट हुने हानीनोक्सानीका बारेमा बुझेपछि बालविवाह लगायत सामाजिक कुसंस्कारविरुद्ध लाग्न सहज भएको शिवनाथ गाउँपालिका–५ की सोनिया पार्कीले बताइन्।

अशिक्षा, सामाजिक परम्परा, सामाजिक सञ्जालको प्रभाव, कानुनी ज्ञानको अभावमा जिल्ला बालविवाह घट्न सकेको छैन। बालबालिकाले सानै उमेरमा विवाह गर्ने भएकाले विवाहपछि उनीहरुले पढाइसमेत छोडेका छन्।

 

 

प्रकाशित: ७ चैत्र २०७६ १०:४३ शुक्रबार

बालविवाह निमन्त्रणा_कार्ड उमेर