काठमाडौ – सही तरिकाले साबुनपानीले हात धुनुलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाइँमा अत्यन्तै प्रभावकारी मानिए पनि विश्वका हरेक पाँचजनामध्ये तीनजनासँग मात्र हात धुने सुविधा उपलब्ध रहेको युनिसेफले जनाएको छ। नेपालमा कुल जनसंख्याको आधाभन्दा धेरैको पहुँचमा साबुनपानीले घरमै हात धुने सुविधा नभएको युनिसेफको भनाइ छ। ‘नेपालमा सहरी क्षेत्रमा बसोबास गर्ने ३३ प्रतिशत वा १० मध्ये तीनजनामा साबुनपानीले हात धुने सुविधाको पहुँच छैन,’ युनिसेफद्वारा आइतबार प्रकाशित विज्ञप्तिमा भनिएको छ।
युनिसेफले संसारका करोडौं मानिस यो आधारभूत सुविधाबाट वञ्चित रहेको, कोरोना महामारी रोकथामका लागि हात धुनुको महत्वबारे युनिसेफले जानकारी दिँदै आएको र यो आधारभूत सुविधाको पहुँच पु-याउन कोसिस गर्दै आएको बताएको छ। यसैगरी युनिसेफले अन्य कैयौं रोगका साथै कोरोना भाइरसबाट आफू र अन्यलाई जोगाउन साबुनपानीले हात धुनु सबैभन्दा सस्तो र प्रभावकारी उपाय भएको बताएको छ। ‘संसारको ४० प्रतिशत जनसंख्या अर्थात् तीन अर्ब मानिसको घरमा साबुन पानीले हात धुने सुविधा छैन र अति कम विकसित राष्ट्रका लगभग तीन चौथाइ मानिसका घरमा हात धुने आधारभूत सुविधा उपलब्ध छैन,’ युनिसेफले भनेको छ।
यसैगरी ४७ प्रतिशत विद्यालयमा साबुनपानीले हात धुने सुविधा नभएका कारण विद्यालय जाने उमेरका ९० करोड बालबालिका प्रभावित भएका र संसारभरका एक तिहाइ विद्यालय तथा अति कम विकसित राष्ट्रका आधाजसो विद्यालयमा बालबालिकाले हात धुने ठाउँ उपलब्ध नभएको पनि युनिसेफले जनाएको छ।
प्रकाशित: ६ चैत्र २०७६ ०२:३७ बिहीबार