रमा विश्वकर्मा
काठमाडौं – भक्तपुरस्थित डिभाइन युथ क्लब नेपालमा आवद्व युवाले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा कोरोना भाइरसविरुद्ध जनचेतना कार्यक्रम सञ्चालन गरेका छन्। राधा माधव समिति नेपालअन्तर्गत गठित क्लबले काठमाडौंस्थित पशुपति मन्दिर, कोटेश्वरस्थित महादेवस्थान मन्दिर, ललितपुरस्थित पाटन अस्पताल, कृष्ण मन्दिर, बंगलामुखीलगायत सार्वजनिक स्थलमा कोरोना भाइरसबाट बच्न सचेतनामूलक अभियान गरेका हुन्।
ती स्थानका साथै उपत्यकाका विभिन्न स्कुल, कलेज र अस्पताललगायत जुन जुन ठाउँमा मानिसको भिड हुन्छ, त्यहाँ हातमा सेनिटाइजरसमेत लगाइदिनुका साथै युवाले कोरोना भाइरसबाट बच्ने उपायका पर्चा, पोष्टर पनि वितरण गरेको राधा माधव समितिका सदस्य हरिदत्त जोशीले जानकारी दिए। राधा माधव समिति नेपालअन्तर्गत भक्तपुरसहित देशका विभिन्न जिल्लामा डिभाइन युथ क्लब रहेको र त्यसमा आवद्ध युवाले आ–आफ्ना क्षेत्रमा यस्ता अभियान सञ्चालन गरिरहेको उनले बताए।
यसअघि उदयपुर, काभ्रेपलान्चोक, कैलाली, कास्की, स्याङ्जालगायत विभिन्न जिल्लामा उक्त अभियान सम्पन्न भइसकेको समितिले जानकारी दिएको छ। डिभाइन युथ क्लब नेपाल र राधा माधव समिति नेपालले संयुक्त रूपमा प्रकाशन गरेको पर्चामा कोरोना भाइरसका मुख्य लक्षण र बच्ने उपाएका बारेमा जानकारी गराइएको छ। प्रशिक्षार्थी पत्रकार
प्रकाशित: ३ चैत्र २०७६ ०३:०८ सोमबार