डोटी- नोवेल कोरोना भाइरस (कोभिड–१९)को जोखिम कम गर्न डोटीमा चार ठाउँमा सहायता कक्ष स्थापना गरिने भएको छ। विश्वभर महामारीको रुपमा फैलदा यसको जोखिम कम गर्न जिल्लाका चार ठाउँमा सहायता कक्ष स्थापना गर्न लागिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ।
‘जिल्ला विपद् व्यवस्थापन समितिको आकस्मिक बैठक बसेर निर्णय लिएका छौ,’ प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले भने,‘निर्णय तत्कालै कार्यान्वयन गर्न आवश्यक तयारी र निर्देशन गरिसकेका छौ।’
सहायता कक्षहरु जोरायल गाउँपालिका–२ बुडर स्वास्थ्य चौकीमा, दिपायल सिलगढी नगरपालिका–४ पीपल्लाको शैलेश्वरी अस्पतालमा, आदर्श गाउँपालिका–२ मौवा नगरदह स्वास्थ्य चौकीमा र जिल्ला अस्पताल डोटीमा सहायता कक्ष स्थापना गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।
साथै जिल्लाका सबै स्वास्थ्य संस्थाहरुमा आईसोलेसन कक्षको व्यवस्था गर्ने, क्वारेन्टाइनको लागि जमिन र भवनको व्यवस्थापन गर्ने, सबै स्थानीय तहमा हेलीप्याडको प्रबन्ध गर्ने, औषधि, खाद्यान्न अभाव हुन नदिन संचय गरेर राख्ने लगायतका निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए।
प्रकाशित: ३० फाल्गुन २०७६ ०९:२९ शुक्रबार