समाज

प्रअको लापरबाहीले एक घण्टा पाँच मिनेट ढिलो परीक्षा

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा परिक्षा सञ्चालनका क्रममा प्रअले लापरबाही गरेको भन्दै प्रअमाथि अभिभावक खनिएका छन्। बुधबारदेखि सुरु गरिएको नगरपालिका स्तरिय परीक्षाको प्रश्नपत्रको गोपनीयता कायम राख्न नसकेको, प्रश्नपत्र बुझ्न आफै नगएको, विद्यालयमा उपस्थित नहुँदा एक घण्टा पाँच मिनेट ढिलो परिक्षा सुरु गर्नु परेको लगायतका आरोप लगाउँदै अभिभावकले दुधकोसी आधारभुत विद्यालयका प्रअ तोपधन राईलाई बिभागीय कारबाही गर्ने निर्णय गरेका छन्। बिहान ११ बजेबाट सुरु हुनुपर्ने अंग्रेजी विषयको परिक्षा प्रअ उपस्थित नहुँदा १२ बजेर ५ मिनेट गएपछि सुरु गरिएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए।

प्रअ उपस्थित नभएपछि तत्काल बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले प्रअलाई विद्यालयमा हाजिर नगराउने निर्णय गरेको जनाइएको छ। नगरपालिकाको शिक्षा शाखाबाट मालिकादेबी मावि कदुवामा पठाइएको प्रश्नपत्र लिन अर्कै व्यक्तिलाई पठाएको र खाम तोडिएको प्रश्नपत्र विद्यालयमा आइपुगेका कारण अभिभावकले गोपनीयतामाथि प्रश्न उठाएका हुन्।

प्रअ राई मापसे गरेर विद्यालयमा आउने गरेको, विद्यालयको पठन–पाठन र शैक्षिक गुणस्तर बृद्धिमा ध्यान नदिने गरेको, विद्यालयमा गएको दिन पनि हाजिर नगर्ने गरेको गुनासो आइरहेको वडाध्यक्ष राईले बताए। ‘प्रअलाई सुध्रनका लागि पटक–पटक सचेत गराइएको छ,’ वडाध्यक्ष राईले भने, ‘तर सुधार कहिल्यै भएको छैन।’ बाहुनीडाँडामा वडामा एक मावि, दुई आधारभुत र पाँच प्रावि छन्।

 

प्रकाशित: २८ फाल्गुन २०७६ १२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App