समाज

दुई महिनामा तीन बालविवाह रोकिए

म्याग्दी – आइतबार छिमेकी गाउँबाट जन्ती आउने तयारी थियो। विवाहको तयारी पूरा गरी विवाह मण्डप बनाएर जन्तीको स्वागतका लागि तयारीमा थियो बेहुलीको परिवार। प्रेम गरेर भागेकाले अभिभावकले विवाह गरिदिनु पर्ने बाध्यता थियो बेहुलाबेहुलीको। तर उमेर नपुगेका सो जोडीको विवाह रोकिएको छ। बेहुलाको घरबाट हिँड्ने तयारीमा रहेका जन्ती रित्तै फर्कनुपरेको छ। म्याग्दीको मंगला गाउँपालिका–२ -यालेखोरका २१ वर्षीय किशोर र सोही गाउँपालिका–१ कुहुँकी १९ वर्षीया किशोरीबिच हुन लागेको विवाह बाल सञ्जालको सक्रियतामा रोकिएको हो।

एक महिनाअघि भागीविवाह गरेका किशोरकिशोरीमध्ये किशोरीको विवाहको उमेर नपुगेको भन्दै नेपाल युथ काउन्सिल, बाल सञ्जालले प्रहरीसँग सहकार्य गरी विवाह रोकेका हुन्। विवाहको उमेर २० वर्षको भए पनि उमेर नपुगी विवाह गर्न जन्तीसहित बेहुला घरबाट हिँड्न लागेको सूचना प्राप्त भएपछि विवाह रोकिएको प्रहरी निरीक्षक धु्रव शर्माले बताए। ‘नेपालको कानुनबमोजिम २० वर्ष नपुगी विवाह गर्न पाइन्न, ‘गाउँ–गाउँमा गठित सञ्जालमार्फत तत्कालै सूचना आउन थालेको छ,’ शर्माले भने। उनले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न विद्यालयमा समेत कार्यक्रम सञ्चालन गर्न थालिएपछि दुई महिनामा ३ बालविवाह रोकिएको बताए। प्रहरी निरीक्षक शर्माका अनुसार बेनी नगरपालिका–५ पुलाचौर, रघुगंगा गाउँपालिका–२ भगवतीमा तयारी अवस्थामा रहेको बालविवाहसमेत रोकिएको छ।

म्याग्दीमा सबैभन्दा धेरै बालविवाह धवलागिरी गाउँपालिकामा हुन्छ। सो गाउँपालिका–२ लुलाङमा गत आवमा मात्र १० भन्दा धेरै बालविवाह भएका थिए।

गाउँमा कम उमेरका किशोरकिशोरीको विवाहको तयारीबारे जानकारी पाएलगत्तै संस्थामा आबद्ध सदस्यलाई बुझ्न पठाउने, वडा कार्यालयबाट जन्ममिति तथा अन्य आधिकारिक विवरणको खोजी गरी २० वर्ष पार नगरेको भेटिए तत्काल प्रहरीलाई जानकारी दिने गरिएको नेपाल युथ काउन्सिल म्याग्दीका अध्यक्ष छवि आर्चायले बताए। ‘बालविवाहको जानकारी पाए कुनै पक्षको दबाबमा परिन्नँ, ‘बालविवाह मुक्त बनाउने अभियानले तीव्रता पाएको छ,’ आचार्यले भने। उनले नेपाल प्रहरीसँग साझेदारी गरी जिल्लाको ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा बालविवाहसहित विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरेको बताए।

बालअधिकारबारे पैरवी गर्दै आएका संस्था हरेक वडा, बस्तीमा आफ्ना सञ्जालका सदस्यहरू बनाएर बालविवाह, बालहिंसाबारे जानकारी दिने गरी संयन्त्र बनाउने तयारीमा छन्। गैरसरकारी संस्था सिविन म्याग्दीले समेत यसअगाडि विभिन्न स्थानमा पुगेर जनेचतनामूलक कार्यक्रम सञ्चालन गरेपछि बाल सञ्जालको सक्रियता बढेको थियो। बाल सञ्जालको अभियानमा जनप्रतिनिधिसमेत सहयोग गर्न बाध्य छन्। जनप्रतिनिधिले नाता प्रमाणित, जन्मदर्तालगायत कागजात सहज बाल सञ्जाललाई जानकारी गराउन आनाकानी गरेमा बाल सञ्जालले स्थानीय तहका प्रमुखमार्फत दबाब दिने गरेको बालअधिकारकर्मीको भनाइ छ।

चिनजानमा रहेका किशोकिशोरीबिच प्रेम झाँगिएमा १५ वर्षकै उमेरमा समेत भागीविवाह गरेका घटना जिल्लाभित्र धेरै छन्। जिल्लामा सबैभन्दा धेरै बालविवाह धवलागिरी गाउँपालिकामा हुन्छ। सो गाउँपालिका–२ लुलाङमा गत आवमा मात्र १० भन्दा धेरै बालविवाह भएका छन्। गाउँपालिकामा गुपचुप बालविवाह गर्नेको संख्या धेरै भएपछि गत आवदेखि गाउँपालिकाले बालविवाह न्यूनीकरणको अभियान नै सञ्चालन गरेको छ। सानै उमेरमा प्रजनन अंगहरूको पूर्ण विकास नभइसकेको अवस्थामा मातृमृत्यु, शिशु मृत्युदर बढ्ने, पाठेघरको क्यान्सरलगायत यौनजन्य रोग लाग्ने भएकाले पनि बालविवाह बाल अधिकारको हनन मात्र नभई वैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउँदा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखिने गरेको अधिकारकर्मीको भनाइ छ।

प्रकाशित: २७ फाल्गुन २०७६ ०३:३७ मंगलबार

बालविवाह