समाज

आइसोलेसन वार्ड खाली हुँदा खुसी छन् चिकित्सक

भरतपुर अस्पतालमा कोरोना भाइरसका शंकास्पद बिरामी राख्न निर्माण गरिएको आइसोलेसन वार्ड । तस्बिर ः सूर्यप्रकाश/नागरिक

चितवन - भरतपुर अस्पतालको सघन उपचार–कक्ष (आइसियू) अगाडि, प्रसूति वार्डदेखि पश्चिममा दाहिनेतर्फ च्यानल गेटभित्र पाँचवटा बेड छन्। च्यानल गेथि सेतो बोर्डमा रातो अक्षरले अंग्रेजीमा लेखिएको छ, २०१९–एनसिओभी आइसोलेसन वार्ड। तर यो वार्डमा न त बिरामी छन्, न त डाक्टर नै। यो वार्ड रित्तो हुँदा अस्पतालका चिकित्सकमात्र नभई सिंगो चितवनवासी, अझ भनौं देशवासी नै खुसी छन्।

चीनमा महामारीको रूप लिएको कोरोना भाइरस कोभिड–१९ बाट संक्रमित बिरामीलाई राख्न भरतपुर अस्पतालले एक महिनाअघि नै तयार गरेको आइसोलेसन वार्ड हालसम्म खाली हुनुको अर्थ चितवन कोरोना भाइरसमुक्त छ भन्ने हुन्छ। कोरोना भाइरस कोभिड–१९ शरीरमा पसेर रोगको लक्षण देखाउन १० देखि १४ दिन लाग्छ। रुघा, खोकी, ज्वरो र श्वास–प्रश्वासमा समस्या नै यसको मुख्य लक्षण हो।

छिमेकी देश चीनको वुहान सहरमा पहिलोपटक गत डिसेम्बरमा देखापरेको कोरोना भाइरस कोभिड–१९ नेपालका चिकित्सकहरुका लागि पनि टाउको दुखाइको विषय भएको थियो। नेपालमा कोरोना भाइरसबाट संक्रमित व्यक्ति एक जना काठमाडौंमा देखिए पनि उनलाई उपचारपछि सञ्चो भइसकेको छ। काठमाडौंपछि उच्चजोखिममा मानिएको चितवनमा कोरोना भाइरस कोभिड–१९ बाट संक्रमित व्यक्ति कोही पनि नपाइएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेल बताउँछन्।

भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये कसैलाई पनि कोरोना भाइरसको संक्रमण नदेखिएको जानकारी दिँदै पौडेलले भने, ‘चीनबाट तीन महिनाअघि चितवन फर्किएका एक जना व्यक्तिलाई रुघा, खोकीसँगै ज्वरो पनि आएकोले शंका लागि उनको घाँटीबाट स्वाब निकालेर परीक्षणका लागि काठमाडौं पठाइएको थियो तर नतिजा नेगेटिभ देखियो। चितवनमा आजको दिनसम्म कोरोना भाइरस संक्रमण पुष्टि भएको छैन।’

नेपाल चिकित्सक संघ चितवन शाखाका अध्यक्ष डाक्टर प्रकाश खतिवडा चितवनमा कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने बिरामी अहिलेसम्म देखा नपरेकोले आत्तिनु नपर्ने बताउँछन्। उनले कुनै पनि बेला त्यस्ता बिरामी देखा पर्न सक्ने सम्भावना भने भएकोले शंकास्पद बिरामीको परीक्षण र उपचारका लागि भरतपुर अस्पतालमा पाँच बेडको आइसोलेसन वार्ड निर्माण गरिएको बताए।

भरतपुर अस्पतालका फिजिसियन डाक्टर भोजराज अधिकारी कोरोना भाइरसले रुघा, खोकी, ज्वरो र निमोनिया गराउने जानकारी दिँदै भन्छन्, ‘कोभिड–१९ भाइरसबाट संक्रमित व्यक्तिमा जटिलता थपिएमा फोक्सो, मिर्गौला र कलेजोमा असर पुग्छ। शरीरका भित्री अंगहरुले काम नगरी बिरामीको मृत्युसमेत हुन्छ। खुसीको कुरा, चितवनमा अहिलेसम्म कोरोना भाइरस संक्रमित कोही पनि भेटिएको छैन।’

डाक्टर अधिकारीका अनुसार विश्वमा दुई सय ९१ थरी भाइरस छन्। तीमध्येको एक कोरोना भाइरस सबैभन्दा पहिले सन् १९६० मा पत्ता लागेको हो। डाक्टर अधिकारी कोरोना भाइरसको सातौं रूप कोभिड–१९ भएको बताउँछन्। चीनको वुहान सहरका कामदारमा गत डिसेम्बरको अन्तिम सातामा पहिलोपटक कोभिड–१९ संक्रमण देखापरेको थियो।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रीराम तिवारी नेपाल भौगोलिक रूपमा चीनसँग जोडिएको हुनाले सचेत रहन आवश्यक रहेकोले भरतपुर अस्पतालमा पाँच बेडको आइसोलेसन वार्ड निर्माण गरी सतर्कता अपनाइएको बताउँछन्। उनले कोरोना भाइरसबाट बच्न हातको सरसफाइमा बढी ध्यान दिनुपर्ने बताए।

भरतपुर अस्पतालले निर्माण गरेको आइसोलेसन वार्डका स्रोतव्यक्ति फिजिसियन डाक्टर कल्याण सापकोटाले आइसोलेसन वार्ड खाली हुनु खुसीको कुरा भएको प्रतिक्रिया दिए। उनले चितवनमा यदि कसैलाई कोरोना भाइरस कोभिड–१९ को संक्रमण भएको शंका लागेमा र लक्षणहरु मिल्न गएमा आइसोलेसन वार्डमा १४ दिनसम्म राखेर थप अनुसन्धान गरिने बताए।

प्रकाशित: २५ फाल्गुन २०७६ ०१:२८ आइतबार

आइसोलेसन चिकित्सक कोभिड–१९