समाज

लैङ्गिक हिंसाविरुद्ध जनचेतनामुलक र्‍याली र प्रशिक्षण

भैरहवा- लैङ्गिक हिंसाविरुद्ध भैरहवामा युवाहरुले जनचेतनामुलक र्‍याली निकालेका छन्। अन्धविश्वास लैङ्गिक हिंसा, जातीय विभेद तथा छुवाछुतले अझै समाजमा निरन्तरता पाइरहेकोले त्यसको विरुद्धमा अभियानसहित परिक्रमा गरिएको हो।

नेपाल सरकारले वर्ष २०७६/०७७ लाई युवा परिचालन वर्षको रुपमा घोषणा गरेसँगै घर शान्ति नै विश्व शान्तिको आधार भन्ने नाराका साथ रइजिङ क्लब नेपाल सिद्धार्थनगरको नेतृत्वमा राष्ट्रिय युवा परिषद, युवा तथा खेलकुद मन्त्रालय र जिल्ला युवा समिति रुपन्देहीले जनचेतनामुलक र्‍याली आयोजना गरेका हुन्।

भैरहवाको देवकोटाचोकबाट सुरु भएको प्लेकार्डसहितको र्‍याली भैरहवा बहुमुखी क्याम्पसमा पुगेर कार्यक्रम गर्दै सम्पन्न भएको थियो। देशमा ४० प्रतिशत भन्दा बढि जनसख्या युवाको रहेकाले सामाजिक अभियानमा युवाको व्यापक, सार्थक र अपनत्व गराउन, निरन्तरता पाइरहेको अन्धविश्वास, लैङ्गिक हिंसा, जातीय विभेद र छुवाछुतलाई समाजबाट हटाउन जनचेतना मुलक नगरपरिक्रमासहित युवाहरुलाई प्रशिक्षण गरिएको क्लबका सल्लाहकार सरोज ठकुरीले बताए।

युवा परिचालन भ्रमण वर्षकै सन्दर्भमा रहेर हामीले अभियान चलाएका छौ संस्कृति समाजको पहिचान भए पनि कुरिती समाजमा रहेको हानिकारक अभ्यास भएकोले त्यस्ता कुरितीलाई निराकरण गर्न युवाहरु अभियानमा लागेको क्लबका अध्यक्ष सागर न्यौपानेले बताए। प्रशिक्षण कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका सदस्य प्रेमकुमार सेञ्चुरी, न्यायिक समिति सदस्य उमेश थापा, द्रुपदा पनेरु, लक्ष्मी केसी, विकाश जयसवाल लगायतले समाजमा रहेका गलत अभ्यासलाई समूहगत रुपमा रोकथाम गर्न र शिक्षा मार्फत अन्धविश्वास र सृजित अभ्यासहरुलाई अन्तय गर्न युवाहरुले गरेको पहललाई निरन्तरता दिँदै समाजमा विकृति विसंगतिहरु निर्मुल गर्दै अघि बढ्न युवाहरुले भूमिका खेल्नुपर्ने बताए।

प्रकाशित: १७ फाल्गुन २०७६ ०७:२५ शनिबार

लैङ्गिक_हिंसा र्‍याली प्रशिक्षण