लहान – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्राथमिक योजना रामायण एक्प्रेसमार्फत रामायण सर्किटको तीर्थाटन मार्च २८ अर्थात् चैत १५ बाट सुरु हुँदै छ। अयोध्याबाट रेलमार्फत सुरु हुने रामायाण सर्किट यात्रा जनकपुरको जानकी मन्दिरसम्म हुनेछ। रामायण सर्किट रेलमार्फत हुन लागेको पहिलो तीर्थाटन हो। यो यात्रा अवधि १७ दिनको हुनेछ। रामायण सर्किटको यात्रालाई ट्रेनसँग जोडेपछि धार्मिक पर्यटक बढ्ने अनुमान गरिएको छ।
त्रेतायुगमा राम र सीता पुगेका भारत, नेपाल र श्रीलंकाका धार्मिक स्थललाई एउटै मार्गले जोड्न भारतले रामायण सर्किटको अवधारणा ल्याएको हो। अयोध्याका राम स्वयंवरका लागि जनकपुर आउँदा र सीतासँग विवाहपछि अयोध्या फर्किंदा प्रयोग गरेको मार्गमा रहेका तीर्थस्थललाई जोडेर रामायण सर्किटको विकास गर्ने योजना छ। जसअनुसार २०७५ वैशाख २८ गते नेपालका प्रधानमन्त्री केपी ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरमा रामायण सर्किट उद्घाटन गरेका थिए।
मोदीको सन् २०१४ मा भएको पहिलो नेपाल भ्रमणमा जनकपुर र अयोध्यालाई जोड्न ‘ट्विन सिटी एग्रिमेन्ट’ भएको थियो। भारतले सोही एग्रिमेन्टलाई ‘रामायण सर्किट’ अन्तर्गत विस्तार गर्दैछ। ‘रामायण सर्किटअन्तर्गत जनकपुर र अयोध्याको सम्बन्ध अझ प्रगाढ र आत्मीय बनेको छ। जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले भने, ‘यस योजनामार्फत मिथिला–अवधबीच सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध व्यापक हुँदै छ।’
भारतले उत्तर प्रदेशको अयोध्या, पश्चिम बंगालको नन्दीग्राम, सीतामढी, बनारस, नासिक चित्रकुट, रामेश्वरम, जनकपुरका धार्मिकस्थललाई रामायण सर्किटमा जोडेको छ। अन्तर्राष्ट्रिय पर्यटक तान्ने उद्देश्यले भारतले सन् २०१४/१५ को बजेटमै रामायण सर्किटको अवधारणा प्रस्ताव गरेको थियो। यो सर्किटमार्फत भारत, नेपाल र श्रीलंकाका धार्मिक स्थल जोड्ने भारतको योजना छ।
रामायण सर्किट योजनाअन्तर्गत रामायणकालीन स्थलमा कृषि, औद्योगीकरण, सडक, शिक्षा र पर्यटनका पूर्वाधार पनि तयार पारिनेछ। उत्तराधिकारी महन्थ दासका अनुसार रामायण सर्किटले नेपाल, भारत र श्रीलंकाका रामायणकालीन स्थललाई जोड्नेछ। ‘राम र सीताको चरण (पाइला) जहाँ–जहाँ पुगेको छ, त्यो सबै क्षेत्रलाई समेट्ने र त्यो रुटमा पूर्वाधार विकास गर्नु नै रामायण सर्किटको लक्ष्य हो। जनकपुर–अयोध्या दूरी ६ सय ५० किलोमिटर छ।
भारत सरकारले आफ्ना कर्मचारीका लागि ल्याएको घुमफिर योजना ‘लिभ ट्राभल कन्सेसन (एलटिसी) मा पनि नेपाललाई समावेश गरेको छ। रामायण सर्किट निर्माणपछि भारतको केन्द्रीय सरकारका करिब ६ लाख कर्मचारी एलटिसीअन्तर्गत नेपाल भ्रमणमा आउने अनुमान गरिएको छ। ‘रामायण सर्किटले भारतका सरकारी कर्मचारीलाई भ्रमणको सहुलियतसमेत दिएको छ,’ दासले भने, ‘सनातन धर्म मान्ने भारतको कुल जनसंख्याको ७० प्रतिशतलाई जनकपुर–अयोध्या घुम्न सुविधा पुग्नेछ।’
प्रकाशित: १३ फाल्गुन २०७६ ०४:०३ मंगलबार