समाज

उपप्रमुखद्वारा सरकारी गाडीको दुरुपयोग

नगर उपप्रमुख चढेर जन्त जादै गरेको सरकारी गाडी र अगाडि झ्यालमा बसेकी उपप्रमुख माया कार्की ।

रामेछाप- जिल्लाको मन्थली नगरपालिकाकी उपप्रमुख माया कार्कीले सरकारी गाडीको दुरुपयोग गरेकी छन्। शुक्रबार शिबरात्रिको सार्वजनिक विदाको दिन जन्त जानका लागि सरकारी गाडी लिएर जिल्लाको रामेछाप नगरपालिकाको साँघुटार बजार पुगेकी हुन्। आफ्नै नगरपालिकाको कर्मचारी रहेका सुवास काफ्लेको विहेमा जन्त जानका लागि एकातिरको पास बनाएर अर्कोतिर हानिएकी हुन्।

शुक्रबार र शनिबार सार्वजनिक विदा परेकोले सरकारी काम भन्दै उनले रामेछाप काठमाडौ हुँदै हेटौंडासम्मको पास लिएको सहायक प्रमुख जिल्ला अधिकारी भाष्कर दाहालले जानकारी दिए। तर सरकारी पास एक प्रयोजनले बनाएर नगर कर्मचारीको विवाहमा साँघुटार पुगिन्। कार्कीले साधन मात्र हैन सरकारी पासको समेत बेवास्ता गरिन्। विवाहमा जान हिडेकी उपप्रमुख माया कार्की चढेको बा २ झ २४०७ नम्बरको सरकारी गाडीमा जन्ती समेत खचाखच बसेका थिए। सरकारी गाडीको दुरुपयोग गरिएको भएमा गाडीलाई नियन्त्रण लिन ट्राफिक प्रहरीलाई निर्देशन दिएको नगर प्रमुख रमेश बस्नेतले बताए। उनले कानुन विपरितका काम गर्न कसैलाई छुट नभएको बताए।

विवाहमा सामेल हुन पुगेकी उपप्रमुख कार्कीले गाडीलाई भनि साँघुटारस्थित प्रहरी चौकीमा राखेर बैवाहिक कार्यक्रमा सहभागी भएको बताइएको छ। पास एकतिरको लिएर अर्को तिर गएको विषयमा थप के हो बुझ्ने जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ। यता उपप्रमुख कार्कीले भने आफ्नो कार्यक्षेत्र सालु भएको र कार्यक्षेत्रमा गएको र थप कार्यक्षेत्र बाहिर पनि घुम्न जाने अधिकार समेत आफूलाई भएको प्रतिक्रिया दिइन्।  
 

प्रकाशित: ९ फाल्गुन २०७६ १२:५५ शुक्रबार

उपप्रमुख सरकारी_गाडी