समाज

बिपी प्रतिष्ठान, पेचिलो बन्दै तलब वृद्धि र बढुवा मुद्दा

धरान - उपकुलपति नियुक्ति प्रक्रिया अलमलमा परेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चिकित्सक तथा कर्मचारीहरूको तलब वृद्धि र बढुवाको विषय पेचिलो बन्दै गएको छ। गएको सिनेट बैठकले २० प्रतिशत तलब वृद्धि गर्ने निर्णय गरे पनि अहिलेसम्म कार्यान्वयन नभएपछि प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीहरू छुट्टाछुट्टै आन्दोलन गर्ने तयारीमा छन्।

चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाज र नर्सिङ, प्राविधिक तथा प्रशासनिक कर्मचारी समन्वय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै तलब वृद्धि र आन्तरिक बढुवा गर्न माग गरेको छ। चिकित्सा शिक्षक कल्याण समाजको मंगलबार बसेको बैठकले आफ्ना दुई सूत्रीय मागबारे पदाधिकारी र कार्यकारिणी समिति सदस्यहरूसँग सामूहिक छलफल गर्ने निर्णय गरेको छ। उक्त छलफलबाट पनि माग सम्बोधन नभए विरोधका कार्यक्रमहरू अघि सार्ने निर्णय गरेको समाजका अध्यक्ष डा. विष्णु पोख्रेलले जानकारी दिए।

डा. पोख्रेलका अनुसार सिनेट बैठकले २० प्रतिशतसम्म तलब वृद्धि गर्न सक्ने निर्णय गरे पनि अहिलेसम्म पदाधिकारीहरूले कार्यान्वयन गरेका छैनन्। सिनेटको निर्णय कार्यान्वयन गर्न कार्यकारिणी समितिको बैठकले अनुमोदन गर्नुपर्ने हुन्छ। ‘सिनेटले तलब बढाएर खुवाउन सकिन्छ भनेर निर्णय गरेको थियो तर अहिलेसम्म किन कार्यान्वयन भएन भन्ने बुझ्न सकेका छैनौं,’ उनले भने, ‘एकपटक सामूहिक छलफल गर्छौं र निकास निस्किएन भने विरोधको कार्यक्रममा जान्छौं।’

उता कर्मचारी समन्वय समितिले पनि प्रेस विज्ञप्ति जारी गर्दै पाँच सूत्रीय माग अघि सारेको छ। समितिका संयोजक महेश्वर राईद्वारा जारी विज्ञप्तिमा तलब वृद्धि कर्मचारीहरूको दैनिक जीवन निर्वाहको विषय भएकाले राजनीतिक र स्वार्थको गन्ध नल्याई तत्काल विचार गर्न माग गरिएको छ। समितिले प्रतिष्ठानमा गम्भीर असर परेको भन्दै उपकुलपतिको नियुक्ति प्रक्रिया तत्काल अघि बढाउन पनि प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई आग्रह गरेको छ। समितिले केही पदमा मात्र हालै भएको तलबमान वृद्धिप्रति ध्यानाकर्षण गराउँदै सिनेटले व्यवस्था गरेबमोजिम छनोट समितिलाई औपचारिक रूपमा तत्काल स्थायी नियुक्ति, आन्तरिक बढुवा तथा फाइल बढुवाको विज्ञापन प्रकाशन गर्न पनि माग गरिएको छ।

यस्तै समितिले ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई निश्चित समयपछि करारमा, करारमा भएकालाई कार्य सम्पादनका आधारमा निश्चित अवधिपछि स्थायी सेवामा समूहगत रूपमा लैजाने प्रक्रिया र प्रणालीको व्यवस्था गरेर एकैपटक तहगत र समूहगत रूपमा सम्पूर्ण कर्मचारीहरूको वृत्तिविकास गर्नसमेत माग गरिएको छ। समितिले कर्मचारी कल्याण समाजको चुनाव यथाशीघ्र गराउन पनि माग गरेको छ।

प्रतिष्ठानका कार्यवाहक उपकुलपति डा. गुरु खनालले उपकुलपति र रजिस्ट्रार नियुक्तिको प्रक्रिया अघि बढेकाले तलबवृद्धि गर्ने कुरा तत्काललाई थाती राख्नुपरेको बताए। तलबका लागि सरकारले बजेट नदिने र आफंैले व्यवस्थापन गर्नुपर्ने भएकाले कति प्रतिशन बढाउने भनेर निर्णय गर्नुपर्ने बताए। ‘सिनेटले २० प्रतिशतसम्म बढाउन सक्छौं भन्यो। हामीले कति र कुन प्रक्रियाबाट बढाउने भनेर गृहकार्य गर्दागर्दै भिसी र रजिस्ट्रार नियुक्तिको कुरा आएर रोक्नुप¥यो,’ उनले भने, ‘नयाँ भिसी आइहाल्छ, त्योभन्दा अघि तलब वृद्धि गर्दा समस्या होला कि भनेर रोक्नुपरेको हो।’

कार्यकारिणी समिति र पदाधिकारीबीच मनमुटाव
तलब वृद्धिको विषयले प्रतिष्ठानका पदाधिकारी र कार्यकारिणी समिति सदस्यहरूबीचमा मनमुटाव सिर्जना भएको छ। चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजले आफ्ना सदस्यहरूलाई जारी गरेको सर्कुलरमा कार्यवाहक उपकुलपतिले आफूमातहतको पदाधिकारी र कार्यकारिणी समिति सदस्यहरूबाट सहयोग नभएको भन्ने अभिव्यक्ति दिएको भन्ने उल्लेख भएपछि मनमुटाव सतहमा आएको हो।

समाजको यो सर्कुलर सामाजिक सञ्जालमार्फत बाहिरिएपछि प्रतिष्ठानका अस्पताल निर्देशक एवं कार्यकारिणी सदस्य प्रा.डा. गौरीशंकर साह, कार्यकारिणी सदस्य प्रा.डा. पशुपति चौधरी र कार्यकारिणी सदस्य प्रा.डा. प्रमिला लिम्बूले संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति प्रकट गरे। उनीहरूले कार्यवाहक उपकुलपतिको त्यस्तो अभिव्यक्ति भ्रामक र असत्य भएको उल्लेख गरेका छन्। लामो समयदेखि कार्यवाहक उपकुलपति डा. खनाल र अस्पताल निर्देशक डा. साहबीच मिलाप छैन।

कार्यवाहक उपकुलपति प्रा.डा. खनालले भने आफूले त्यस्तो अभिव्यक्ति नदिएको तर पदाधिकारीहरूबीच समन्वयकारी भूमिका खेल्न भनेर समाजका पदाधिकारीलाई आग्रह गरेको बताए। उता समाजका अध्यक्ष डा. विष्णु पोख्रेलले पनि आफूहरूले पदाधिकारीहरूबीच विवाद सिर्जना गर्ने मनशाय नभएको बताए। ‘उहाँहरूबीच दूरी बढोस् भन्ने हाम्रो चाहना होइन,’ उनले भने, ‘पदाधिकारी मिले मात्र बिपीको उन्नति, प्रगति हुन सक्छ।’

प्रकाशित: ८ फाल्गुन २०७६ ०३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App