समाज

विकासका नाममा थप पातलिँदै चारकोसे जंगल

इटहरी - पूर्वको चारकोसे जंगल शृंखलाबद्ध रूपमा काठ तस्करी गर्ने गिरोहबाट निरन्तर पीडित। जातीय समूहले पनि जंगलक्षेत्रको जग्गा अतिक्रमण र रुख कटानको कामलाई निरन्तरता दिइरहेकै छन्। यस्तो पृष्ठभूमिका बेला सुनसरीमा सरकारी निकायकै अनुमतिमा ठूलो संख्यामा रुख कटान हुने भएको छ।

सरकारी निकायको अनुमतिमा जिल्लाको जंगल क्षेत्रका साललगायत विभिन्न प्रजातिका रुख तीन दशकयताकै ठूलो संख्यामा कटान गर्न लागिएको हो। व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत कोसी राजमार्गमा निर्माणाधीन ४९ किलोमिटरमध्ये तरहरादेखि धरानसम्म सडक विस्तार गर्न एक हजार पाँ वटा रुख कटान गरिने भएको छ।

भारत र तेस्रो मुलुकसँगको व्यापार सहजीकरणका लागि विराटनगरको रानीदेखि धरानसम्म ४९ किलोमिटर सडक विस्तार भइरहेको छ, जसमध्ये अहिले ३२ दशमलव ६४ किलोमिटर क्षेत्रमा काम भइरहेको छ। तरहरा धरान सडक खण्डको १४ किलोमिटरमा पनि वनले रुख कटानका लागि सहमति दिएसँगै प्रक्रिया अघि बढेको छ। त्यही भएर दुईवटा प्याकेजमा टेन्डर आह्वान गरिसकिएको छ। ‘धेरै रुखहरू कटान गर्नुपर्ने हुँदा इटहरीको तरहरादेखि धरानसम्मको सडक भने चार लेनको मात्र हुनेछ,’ छ लेन सडक आयोजना इटहरीका इन्जिनियर उपेन्द्र दासले भने, ‘वन क्षेत्रमा सडकको सेन्टरबाट दायाँ–बायाँ १५–१५ मिटरमात्र विस्तार गरिनेछ।’ छ लेनको मापदण्डअनुसार गर्दा अरू थप रुख काट्नुपर्ने हुन्छ। धेरै रुख काट्दा जंगल विनास हुने खतरा छ। आयोजनाले वनक्षेत्रमा बजारक्षेत्रमा जस्तो सवारी चाप नहुने हुँदा चार लेनमा पनि सहज यात्रा हुने जनाएको छ।

छ लेन सडक विस्तार आयोजनाअन्तर्गत नै तरहरादेखि दुहबीसम्म सडकको दायाँ–बायाँ भएका तीन सय ८८ वटा रुख कटान गरिएको वन कार्यालय सुनसरीले जनाएको छ। अहिलेसम्म ठेक्का लागेको सडकमध्ये इटहरीको बजारक्षेत्र र मोरङको निमुवाक्षेत्रको झन्डै डेढ किलोमिटर सडकबाहेक अन्य स्थानको सडक भने असार मसान्तसम्म कालोपत्रे हुने सडक निर्माण आयोजनाको दाबी छ। अहिलेसम्म दुहवी बजार क्षेत्रको सडक भने बाइपास गर्ने वा बजार क्षेत्रबाट विस्तार गर्ने भन्ने टुंगो लाग्न नसकेर ठेक्का प्रक्रियामा अघि बढेको छैन।

यहाँ छ लेन सडक विस्तारबाहेक नेपाल विद्युत् प्राधिकरणको २२० केभी विद्युत् प्रसारण–लाइन विस्तार गर्न सुनसरीको बराहक्षेत्रदेखि धरान विष्णुपादुकासम्मका दुई हजार आठ रुख काटिने भएका छन्। विद्युत् प्रसारण लाइनको काम अघिल्लो वर्षबाटै सुरु भएकाले गर्दा रुख कटान भइरहेका छन्। वन कार्यालयका अनुसार प्रसारण लाइनका लागि बराहक्षेत्रको अमाहा, धरानको सिंहदेवी, भालुढुंगा, जलकन्या, गौधारा र कार्कीछाप सामुदायिक वन क्षेत्रका रुख कटान हुनेछन्।

नेपाल विद्युत् प्राधिकरण हेटौंडा–ढल्केवर–दुहवी चार सय केभी विद्युत् प्रसारण लाइन विस्तार गर्न वन क्षेत्रको जग्गा भोगाधिकारका निम्ति पनि चार हजार पाँच सय ६ वटा रुख कटान गरिने भएको छ। यी रुखहरू पनि अघिल्लो वर्षदेखि नै काट्न गर्न थालिएको हो। विद्युत् प्रसारण लाइन विस्तार गर्दा रामधुनीको रामधुनी शान्ति, रामधुनी हरियाली, रामधुनी कालीझोडा, रामधुनी नमुना पूर्वोतर र बराहक्षेत्रको रामधुनी सुनसरी दोभान सामुदायिक वन क्षेत्रका रुख काटिनेछन्। यसरी पाँचवटा सामुदायिक वन क्षेत्रभित्रको २० दशमलव ३९ हेक्टरको रुख कटान हुने भएको हो। यसबाहेक वन कार्यालयले आर्थिक वर्ष २०७५÷०७६ मा विभिन्न सामुदायिक वनबाट दुई हजार नौ सय ३३ वटा ढलापडा रुख कटान गर्ने आदेश पनि दिएको छ।

अघिल्लो वर्ष धरानक्षेत्रको खानेपानी परियोजनाका लागि चारकोसे जंगलका एक सय ७३ वटा रुख कटान गर्ने आदेश दिइएको थियो। धरान उपमहानगरपालिकामा अहिले एसियाली विकास बैंकको एक अर्ब ४८ करोड अनुदान तथा ऋणमा खानेपानी परियोजना सञ्चालित छ। रुख कटान गर्दा वन कार्यालय, वन समूहका पदाधिकारी र तस्करी गर्ने गिरोहमा संलग्नको चलखेल त हुने नै छ। अर्कातिर, वन विनास हुनुका साथै जीवजन्तुलाई असर, दीर्घकालीन रूपमा पानीको मुहान सुक्ने र जलवायु परिवर्तनमा असर गर्नेछ। ‘पुराना रुखहरू काटिएकोमा अब वैज्ञानिक वन व्यवस्थापनमार्फत नयाँ रुख रोप्ने अभियान चलाइने योजना रहेको छ,’ जिल्ला वन कार्यालय सुनसरीका प्रमुख रामबाबु साहले भने। यहाँ २०४० सालयता सुनसरीमा सबैभन्दा बढी रुख कटान गर्न लागिएको हो।

त्यसो त प्रतिष्ठित संस्थासँगै विभिन्न जातीय समूहले सुनसरीको चारकोसे राष्ट्रिय वनक्षेत्रको जग्गा ओगटे पनि वन कार्यालयसँग आधिकारिक तथ्यांक नै छैन। सुनसरीमा २४ हजार आठ सय ६५ हेक्टर वन क्षेत्रमध्ये राष्ट्रिय वनक्षेत्रको जग्गा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सय हेक्टर, रोजिन एन्ड टर्पेन्टाइन प्रालि तरहरा, जडीबुटी प्रशोधन केन्द्र तरहरा र इलाका प्रहरी कार्यालय, तरहरा (सट्टाभर्ना) लाई दिएको मात्र आधिकारिक रेकर्ड जिल्ला वन कार्यालयसँग छ। तर विभिन्न जातीय समूह तथा केही स्थानीय संस्थाले वन क्षेत्रको जग्गा ओगटे पनि आधिकारिक तथ्यांक छैन। जिल्लामा तीन हजार पाँच सय १४ दशमलव ६ हेक्टर सामुदायिक वनक्षेत्रबाहेक अन्य राष्ट्रिय वनक्षेत्रमा पर्छ।

प्रकाशित: ७ फाल्गुन २०७६ ०२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App