समाज

बेपत्ता छोरा खोज्दै ६५ वर्षीया वृद्धा

बनेपा – बनेपा, सिनागालकी ६५ वर्षीया सावित्री घिमिरे छोराको पर्खामा रहेको १५ वर्ष वित्यो। काठमाडौंमा रहेको रत्नराज्यलक्ष्मी क्याम्पसमा प्रमाणपत्र तहको दोस्रो वर्षमा पत्रकारिता पढ्दै गरेका छाेरा प्रकाश २०६१ साल मंसिर ७ गतेदेखि बेपत्ता थिए। सुरक्षाकर्मीले कोटेश्वर, जडिबुटीस्थित साथीको काेठाबाट उनलाई बेपत्ता पारेको सावित्रीको भनाइ छ।

छोराको अवस्था बारे जानकारी गराउन राजनितिक दलका नेताको घरदेखि विभिन्न संघसंस्थामा पुग्दा पनि कुनै जानकारी पाउन नसकेको उनले बताइन्।

१५ वर्षदेखि छोरालाई खोज्दै आएकी सावित्री अहिले भने घरबाहिर एक्लै हिड्नसमेत समस्या हुने गरेको बताउँछिन्। ‘पहिला त बेपत्ता पारिएका परिवारलाई बोलाउने, कस्तो अवस्थाछ भनेर सोध्ने गर्थे, अहिले त्यो समेत गर्न छोडे अब त छोरा आउने अपेक्षा पछि छैन।’ बेपत्ताहरूको छानविनका लागि गठन भएको आयोगले पनि आफ्नो छोराका लागि केही काम नगरेको उनको गुनासो छ। आयोगमा छोराको अवस्था बारे जानकारी लागि उजुरी दर्ता गरेपनि कुनै जानकारीसमेत नलिएको सावित्रीको भनाइ छ।

‘काठमाडौंमा पढ्दै गरेको छोरा कुनै पार्टीमा लागेको थाहाथिएन्,’ उनले भनिन् छोरालाई खोज्दै सेनाका व्यारेक, प्रहरी कार्यालयलगायत विभिन्न ठाउँ पुगेकी छु कसैले शिवपुरी, कसैले नख्खु जेलमाछ भन्छन्। तर छोरालाई भेट्न त के, कुनै जानकारीसमेत पाएकी छैन।’ आफ्नो जस्तै धेरैका छोरा छोरी युद्वका कारण अझैसम्म पनि बेपत्ता भएको उनको भनाइ छ। ‘हिजो युद्व गरेको पार्टी अहिले सरकारमा पुगेका छ, देशकै ठूलो दलसमेत भएको छ,’ उनले भनिन्, ‘अहिले बेपत्ता पारिएका परिवारलाई वेवास्ता गरिएको छ।’ काभ्रेका ६३ जना बेपत्ता भएको तथ्यांक रहेको छ। जसमध्ये जिल्ला प्रशासन कार्यालयबाट बेपत्ता शिर्षकमा ३० जनाले राहात रकम बुझेको बताइएको छ।

प्रकाशित: १ फाल्गुन २०७६ ०३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App