समाज

सम्झाउन खोज्दा प्रहरीमाथि ढुंगामुढा, हवाइ फायर गरेपछि भागे आक्रमणकारी

सिन्धुपाल्चोक - मादक पदार्थ सेवन गरी होहल्ला गर्दै आएको समूहले सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित तिपेनी प्रहरी चौकीमा आक्रमण गरी इन्चार्जसहित दुई जनालाई गम्भीर घाइते बनाएका छन्। १०/१५ जनाको संख्यामा आएको समूहले शनिबार मध्येराति चौकीमा आक्रमण गरेको हो।

आक्रमणमा परी प्रहरी चौकी इन्चार्ज असई सन्तोषकुमार झा गम्भीर घाइते भएका छन्। उनलाई राति नै राजधानीको महाराजगंजस्थित प्रहरी अस्पताल लगिएको र उनको अहिले पनि गम्भीर अवस्थामै उपचार भैरहेको प्रहरीले जनाएकाे छ। गम्भीर घाइते असई झाको अनुहारमा गम्भीर चाेट लागेकाे छ।

अर्का घाइते प्रहरी हवल्दार हरिबहादुर मगरको मेलम्चीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ। इलाका प्रहरी कार्यालय मेलम्चीका इन्स्पेक्टर बलबहादुर तामाङका अनुसार मादक पदार्थ सेवन गरेर होहल्ला गर्दै आइरहेको समूहलाई सम्झाउन खोज्दा आक्रमणमा उत्रेका थिए।

उनीहरुले प्रहरीलाई ढुंगामुढा गर्दै चिरपटले हिर्काएका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाइ फायर समेत गरेको थियो। हवाइ फायरपछि आक्रमणकारी भागेका थिए। भागदौडकै क्रममा प्रहरीले आक्रमणकारी मध्येका एक मेलम्ची नगर पालिका ९ का सोम तामाङलाई पक्राउ गरेको छ।

उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको इन्स्पेक्टर तामाङले बताए। आक्रमणकबारी सबैको पहिचान भएको र खोजी कार्य तिब्र पारिएको उनले जानकारी दिए।

प्रकाशित: २५ माघ २०७६ ०६:३५ शनिबार

प्रहरी_चौकी आक्रमण