समाज

चीनमा रहेका कर्णाली कामदार त्रसित

वीरेन्द्रनगर- रोजगारका लागि चीनस्थित ताक्लाकोटलगायतका सहरमा पुगेका कर्णालीबासी कामदार त्यहाँ फैलिएको कोरोना भाइरसबाट त्रसित भएका छन्। उक्त भाइरस बढ्दै जाँदा उनीहरू त्रसित भएका हुन्।

उनीहरूलाई जिल्ला फर्काउन स्थानीय तह र प्रशासनले पहल भने गरेका छैनन्। जिल्लामा कोरोना भाइरसका लागि तयारी नभएकाले उनीहरूलाई जिल्ला फर्काउन नसकिएको हुम्लाकी प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले जानकारी दिइन्। चीनसँग सचेतनाका लागि समन्वय भइरहेको भन्दै उनले यता ल्याउनुभन्दा नेपाली कामदारहरूलाई त्यतै सुरक्षित राख्न छलफल भइरहेको बताइन्। ‘यहाँ कोरोना भाइरसको उपचारका लागि तयारी अवस्था छैन,’ उनले भनिन्, ‘चीनमा उपचार गर्ने अस्पताल र चिकित्सक भएकाले उतै राख्न भनेका छौं।’ हुम्लासँगै चीनसँग सीमा जोडिएका कर्णालीका जिल्लामा सजकता अपनाइएको छैन।

यता नेपाली कांग्रेसका जिल्ला सभापति जयपति रोकायले स्थानीय प्रशासन र स्थानीय सरकारले हुम्लका कामदारलाई फर्काउन पहल नगरेको बताए। आफन्तहरू कामदारलाई फर्काउन आग्रह गर्दै आए पनि सरकारले बेवास्ता गरेको उनको आरोप छ। हुम्लाका उत्तरी क्षेत्र नाम्खा, सिमकोट, खार्पुनाथ र सर्केघाटका कामदार रोजगारीका लागि चीन जाने गर्छन्। यहाँको हिल्सा नाकामा बाक्लो हिउँ जमेकाले यो नाका बन्द छ। नाका बन्द हुँदा पनि उनीहरूलाई जिल्ला फर्काउन समस्या भएको बताइएको छ।

यहाँका स्थानीय रवीन भण्डारीका अनुसार हुम्लाबाट चीनको ताक्लाकोट गएकाहरू त्रसित भएको बताए। चीन फैलिएको कोरोना भाइरसबाट संक्रमित हुन सक्ने भन्दै उनीहरूले उद्दारका लागि पहल गर्न आग्रह गरेको बताए। आफूसँग ताक्लाकोट गएकाहरूले दिनहुँ म्यासेन्जरमा भिडियो कल गर्ने भन्दै उनले चीनमा कोरोना भाइरस फैलिँदै जाँदा नेपाली कामदार त्रसित भएको बताए। हुम्लाका ८० भन्दा बढी कामदार कामका लागि गएका छन्।

हुम्लासँगै कर्णालीका डोल्पा, मुगु, रुकुम पश्चिम, जाजरकोटलगायत जिल्ला र सुदूरपश्चिमका दार्चुलालगायतका जिल्लाबाट कामदार ताक्लाकोटलगायत चीनका विभिन्न स्थानमा गएका छन्। यता कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले चीनसँग सीमा जोडिएका कर्णाली प्रदेशका जिल्लामा सजकताका लागि सचेत गराइएको बताए। आवश्यक स्वास्थ्यकर्मी सीमा नपठाएको भन्दै उनले अहिले सीमा जोडिएका क्षेत्रमा चहलपहल नभएकाले आवश्यक कदम नचालेको बताए। चीनमा रहेका कर्णालीबासीहरूको उद्दारका विषयमा जानकारी नआएको उनले बताए।

प्रकाशित: २३ माघ २०७६ १२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App