समाज

पत्रकार गेलाङ मृत्यु प्रकरणमा चालक दोषी ठहर

वीरेन्द्रनगर- जिल्ला अदालत सुर्खेतले चालकको लापरबाहीका कारण सुर्खेतका पत्रकार नन्दबहादुर गेलाङको मृत्यु भएको ठहर गरेको छ। जिल्ला अदालत सुर्खेतका जिल्ला न्यायाधीश प्रलादकुमार योगीको एकल इजलाशले उक्त ठहर गरेको हो।

गत जेठ २९ गते सुर्खेतको भेरीगंगा नगरपालिका–८, लोदेमा टिपरले पत्रकार गेलाङ सवार मोटरसाइकललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो। घटनापछि जिल्ला सरकारी वकिल कार्यालयले टिपर चालक धादिङ ठाम्रे–६, का ३६ वर्षीय सन्तबहादुर राईलाई जन्म कैदको माग गर्दै अदालतमा रिट दायर गरेको थियो। चालक राईले योजनावद्धरूपले टिपर ब्याक गरी घाइते भएका गेलाङको ज्यान लिएको दाबीसहित गेलाङकी श्रीमती टीकाकुमारी मस्याङ्गी गेलाङले जाहेरी दिएकी थिइन्।

सोही जाहेरीका आधारमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१(१) अनुसार जिल्ला वकिल कार्यालयले जन्म कैदको माग गर्दै २०७६ असार २२ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। उक्त बुँदामा कसैले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई सवारीमा रहेको सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणामस्वरूप २१ दिनभित्र मरेमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको भए त्यसरी सवारी चलाउने व्यक्तिलाई जन्मकैद हुनेछ।

कसैले ज्यान मार्ने मनसाय लिई त्यस्तो कार्य गरेकोमा ज्यान मर्न पाएको रहेनछ भने त्यसरी सवारी चलाउने व्यक्तिलाई कसूरको मात्राअनुसार पाँच वर्षदेखि १२ वर्षसम्म कैद उल्लेख गरिएको छ। तर जिल्ला अदालतले भने त्यसो नभई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१(२) अनुसार घटना भएको ठहर गरेको छ।

उक्त बुँदा कसैको ज्यान मर्न सक्छ भन्ने अवस्था देखिँदा देखिँदै पनि अपनाउनु पर्ने सतर्कता नअपनाई कसैले लापरबाही गरी कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणामस्वरूप २१ दिनभित्र मरेमा त्यसरी सवारी चलाउने व्यक्तिलाई कसूरको मात्राअनुसार तीन वर्षदेखि दश वर्षसम्म कैद र तीस हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्म जरिवाना हुने उल्लेख गरिएको जिल्ला अदालत सुर्खेतका श्रेष्तेदार भुपाल भण्डारीले जानकारी दिए।

गत जेठमा छिन्चुबाट मेहलकुना जाँदै गरेका गेलाङ सवार भे८प ७६०४ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको बा५ख १६८३ नम्बरको टिपरले ठक्कर दिएको थियो।
 

प्रकाशित: २२ माघ २०७६ ०९:१७ बुधबार

पत्रकार_गेलाङ_मृत्यु_प्रकरण दोषी