समाज

गृह सचिव राईको राजीनामा, अख्तियारको आयुक्त बन्दै

काठमाडौं- गृहसचिव प्रेमकुमार राईले सचिव पदबाट राजीनामा दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा नियुक्त गर्ने तयारी भएको छ । उनले आगामी २२ माघमा अनिवार्य अवकास पाउने भए पनि पाँच दिनअगाडि राजीनामा दिएका छन् । सरकारले राईको २० माघदेखि लागु हुनेगरी राजीनामा स्वीकृतसमेत गरिसकेको छ । अख्तियारमा दुई आयुक्त पद रिक्त रहेको अवस्थामा सरकारले राईलाई सिफारिस गर्ने तयारी गरेको छ । स्रोतका अनुसार केही दिनमै संवैधानिक परिषद्को बैठक राखेर राईलाई आयुक्तमा सिफरिस गरिनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वासपात्र गृहसचिव राईलाई प्रमुख आयुक्त बनाउने विषयमा अन्य मन्त्रीहरूसँग पनि छलफल गरिसकेका छन् । सहसचिव हुँदा अख्तियारमै बसेर लामो समय काम गरेका राई कम विवादित व्यक्ति हुन् । उनलाई आयुक्त बनाउने विषयमा भने ओलीले शीर्ष नेतृत्व तहमा भने छलफल गरेका छैनन । ‘गृहसचिवबाट राजीनामा दिएपछि राईलाई अख्तियारमा नियुक्त गर्ने हल्ला सुनिएको छ तर सचिवालय बैठक वा अन्य शीर्ष तहमा भने छलफल भएको छैन,’ नेकपाका एक सचिवालय सदस्यले भने ।

राईकै पहलमा बालुवाटारको एक सय १३ रोपनी सरकारी जग्गा छानबिन भएको थियो । उनले राजीनामा दिनुअघि बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान प्रतिवेदनसमेत बुझाएको छ । सरकारी जग्गा अपचलनको यो छानबिन प्रक्रिया गृहसचिव राईले सुरू गरेका थिए ।

राईले मुख्य सचिव लोकदर्शन रेग्मीमार्फत प्रधानमन्त्री कार्यालयमा राजीनामा बुझाएका हुन् । राईसँगै अर्थ सचिव राजन खनाल, सचिवहरू गजेन्द्र ठाकुर र रामकुमार आचार्यले पनि अनिवार्य अवकास पाउँदैछन् । राईले राजीनामा दिएपछि गृहसचिव बन्न अन्य सचिवहरूको दौडधुप सुरु भएको छ । स्रोतका अनुसार सूर्य गौतम, महेश्वर न्यौपाने, यादव कोइराला, केदार न्यौपाने लगायतले गृहसचिवका रूपमा काम गर्न चाहेको भए पनि निवर्तमान सचिव राईले गौतमलाई बालुवाटारमा लगेर प्रधानमन्त्री ओलीसँग भेट गराइसकेका छन् ।

प्रकाशित: १९ माघ २०७६ ०३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App