समाज

सूर्योदयको उदाहरणीय पहल

सूर्याेदय नगरपालिका–१० फिक्कलमा जनप्रतिनिधिसामु आफ्नो गुनासो सुनाउँदै लोपोन्मुख लेप्चा समुदायका वृद्ध प्रेमबहादुर लेप्चा। तस्बिर : भीम/नागरिक

फिक्कल (इलाम) – सूर्याेदय नगरपालिका–१२ की एक महिलाले मेयरसहितका जनप्रतिनिधि सहभागी ‘गुनासो चौतारी’ कार्यक्रममा बिहे गरेर आएपछि आफूले उच्च शिक्षा लिन नसकेको गुनासो पोखिन्। उच्च शिक्षाका लागि स्थानीय सरकारी क्याम्पसमा महँगो शुल्क तिर्नुपर्ने भएकाले पनि आफूले पढ्न नसकेको उनले सुनाइन्।

महिलाको गुनासो सुनिसकेपछि मेयर रणबहादुर राईले ‘कुनै न कुनै रूपमा समस्या समाधान गरिदिने’ आश्वासन दिए र त्यहाँबाट फर्किए। ती महिलाको गुनासोबारे नगरको कार्यपालिका बैठकमा छलफल चल्यो। नगरसभामै छलफल भयो। अनि नगरले नयाँ नीति नै ल्यायो– ‘सूर्याेदय नगरको इच्छा, बुहारीलाई शिक्षा।’

सूर्याेदय नगरपालिकामा बिहे गरेर आउने महिलाले गतवर्षदेखि नगरको कार्यक्रमअनुसार स्थानीय करफोक विद्या मन्दिरमा स्नातक तहको शिक्षा निःशुल्क पाउन थाले। गत वर्ष ४० बुहारीले छात्रवृत्ति पाएकामा यो वर्ष ८० जनाले अध्ययन गरिरहेका छन्। नगरपालिकाका अनुसार गत वर्ष बुहारी शिक्षाका लागि १० लाख रुपैयाँ खर्च भयो, यो वर्ष १६ लाख हुने भएको छ। ‘यो सालचाहिँ बुहारीको मात्रै कोटा नपुगेकाले स्थानीय गरिब तथा जेहेन्दार विद्यार्थीलाई पनि छात्रवृत्ति दिएका छौं,’ मेयर राईले भने, ‘१ महिलाले १ मिनेटमा राखेको गुनासो अहिले नगरको नितान्त नयाँ कार्यक्रम भएको छ, निकै प्रभावकारी पनि।’

गतवर्षकै ‘गुनासो चौतारी’ मा वडा नं. ४ की एकल महिलाले आफ्नो आर्थिक अवस्था ज्यादै दयनीय भएको र स्वास्थ्योपचारमा हुने खर्च धान्न नसकेको गुनासो राखिन्। उनले उपचार खर्च अभावले ज्यान जाने अवस्था आउन लागे पनि कसैले ध्यान नदिएको दुखेसो पटकपटक गरिन्। उनको गुनासो सुनेर नगरपालिका फर्की मेयर राईले एकल विधवा महिलाको निःशुल्क स्वास्थ्य बिमा गरिदिने कार्यक्रम पारित गराए। त्यही कार्यक्रमअनुसार १ सय ४४ एकल विधवा महिलाको स्वास्थ्य बिमा गरिदिने लक्ष्य रहेकामा १ सय १४ महिलाको भएको छ। नगरले प्रत्येक महिलाको ३ हजार ५ सय रुपैयाँ तिरेर स्वास्थ्य बिमा गराइरहेको छ।

नगर नीतिको स्रोत नागरिक गुनासो, टोलटोल पुग्दा सर्वसाधारणले राखेको गुनासो सूर्याेदय नगरका जनप्रतिनिधिलाई हरेक वर्ष नयाँ नीति तथा कार्यक्रम ल्याउने स्रोत बनिरहेको छ।

टोलटोल पुग्दा सर्वसाधारणले राखेको गुनासो सूर्याेदय नगरका जनप्रतिनिधिलाई हरेक वर्ष नयाँ नीति तथा कार्यक्रम ल्याउने स्रोत बनिरहेको छ। हरेक वर्ष कुनै न कुनै नयाँ नीति–कार्यक्रम ल्याएर चर्चामा रहेको नगरले गुनासो चौतारी सुरु गरेपछि कार्यक्रम र बजेट वितरणमा समेत सजिलो भएको जनप्रतिनिधि बताउँछन्। वडा नं. १४ की एक वृद्धाले मेयर र जनप्रतिनिधि सहभागी यही गुनासो चौतारीमा आफ्नो गुनासो राखेकी थिइन्– बुढ्यौली उमेर भो, कतै तीर्थव्रत नगरी, घरबाहिर ननिस्की चोला उठ्ने भो।

सुरुमा त धेरैका लागि उनको गुनासो हाँसको विषय बन्यो तर मेयर राईले जवाफ दिए, ‘आमा, तपाईंहरूलाई तीर्थ–व्रत गराउने जिम्मा पनि हाम्रै हो, केही न केही गर्छाैं।’ नभन्दै नगरले ज्येष्ठ नागरिकलाई सम्बोधन गर्न नयाँ कार्यक्रम ल्यायो– ‘ज्येष्ठ नागरिकलाई देश दर्शन’। नगरले प्रत्येक वर्ष १४ वटै वडाका ५÷५ ज्येष्ठ नागरिकलाई पशुपतिनाथ, जनकपुर, मनकामनालगायत देशका दर्जनभन्दा बढी धार्मिक स्थल भ्रमण गराउँदैछ। उमेरले नेटो काटिसकेका तर घर छाडेर कतै जान नपाएका गरिब परिवारका ज्येष्ठ नागरिकलाई नगरले आफ्नै खर्चमा हरेक वर्ष साता दिनसम्मको भ्रमण गराइरहेको छ। गत वर्ष देश दर्शनमा सहभागी सूर्याेदय वडा नं. १० का वृद्ध प्रेम लाप्चा भन्छन्, ‘गाउँ छाडेर कतै नगई मरिने भोजस्तो लागेको थियो, नगरपालिकाले देश घुमायो, मुख फेरायो। हामीजस्ता वृद्धवृद्धाको समस्या बुझिदिने जनप्रतिनिधि पनि रहेछन्।’

झन्डै २ वर्ष जनप्रतिनिधिविहीन बनेका स्थानीय तह संरचना परिवर्तनसँगै जनप्रतिनिधियुक्त भएपछि सकारात्मक र नकारात्मक दुवै पक्षको समीक्षा भइरहेको छ। तैपनि चुनाव जितेपछि जनप्रतिनिधिले मतदातातिर फर्केर नहेरेको, विलासी जीवनयापन गर्न थालेको, आफूलाई जे मन लाग्छ, त्यसैअनुसार नीति–कार्यक्रम थोपर्नेगरेको गुनासो धेरै स्थानीय तहका जनप्रतिनिधिको साझा चुनौती हो। तर सूर्याेदय नगरपालिकाले गतवर्ष टोलटोलमा गएर नागरिकको गुनासो सुन्ने गुनासो चौतारी कार्यक्रम ल्याएपछि हरेक साल नवीन योजना तर्जुमामा बलमात्र पुगेको छैन, अन्य स्थानीय तहलाई सिको गर्ने उदाहरण पनि भएको छ।

अहिले पनि मेयर, उपमेयर, सम्बन्धित वडाका वडाध्यक्षसहितका जनप्रतिनिधि नागरिकको गुनासो सुन्दै वडावडा डुलिरहेका छन्। वडामा नागरिकले जनप्रतिनिधिले गरिरहेका कामको खुला समीक्षा त गरिरहेकै छन्, आफ्ना समस्या सुनाएर नयाँ कार्यक्रमको ‘आइडिया’ समेत दिइरहेका छन्। चालू वर्ष वडा २, ३, १०, ११ र १२ वडामा गुनासो चौतारी सकिएको छ। देशकै लोपोन्मुख लेप्चा जातिको मुख्य बसोबास रहेको सूर्याेदय नगरका लेप्चा समुदायले पनि खुलेर आफ्नो गुनासो जनप्रतिनिधिसमक्ष राखिरहेका छन्।

भर्खरै सम्पन्न वडा ११ को कार्यक्रममा एक वृद्धाले आफ्नो गाउँमा अहिलेसम्म बाटो, बिजुली, खानेपानीलगायत कुनै पूर्वाधार नपुगेको गुनासो गरिन्। यस्तो गुनासो आएको ३ दिनभित्रै मेयरसहितका जनप्रतिनिधि वडा नं. ११ को पराले, कात्तिके र वैशाखे भन्ने ठाउँ पुगे। ‘हामी त के, सम्बन्धित वडाका जनप्रतिनिधिसमेत खासै नपुगेको ठाउँ रहेछ त्यो,’ मेयर राईले भने, ‘वृद्धाले आफ्नो ठाउँको गुनासो शब्दमा जति पोख्नुभो, त्योभन्दा जटिल समस्या रहेछ त्यहाँ। नागरिकहरू आधारभूत सेवाबाटै वञ्चित हुनुभएकोरहेछ।’

मेयर राईले विकट र दुर्गम कात्तिके, पराले र वैशाखेका लागि नगरले विशेष कार्यक्रम ल्याउने निधो गरेको पनि सुनाए। ‘त्यस्तो विकट ठाउँबाट वडा कार्यालयसम्म आएर एउटी वृद्धाले गुनासो नराखेको भए अहिले नै त्यसतर्फ हाम्रो ध्यान जाने थियो कि थिएन, यसै भन्न सकिन्न,’ मेयर राईले भने, ‘हामीले सर्वसाधारणको गुनासोलाई नै धमाधम नगरको नीतिको स्रोत बनाएका छौं, कार्यान्वयन गरिरहेका छौं।’ नगरले गुनासो चौतारीमा आएका समस्यालाई पहिलो प्राथमिकता दिएर नीति–कार्यक्रम बनाइरहेको जानकारी दिँदै उनले स्थानीय तहबाट हुनसक्ने समाधानमा कुनै कसुर बाँकी नराख्ने पनि बताए।

गुनासो चौतारीमा नागरिकले तीनखाले गुनासो राख्नेगरेको उनले बताए। ‘नागरिकका कतिपय माग संघीय सरकारले, कतिपय प्रदेश सरकारले र धेरैजसो चाहिँ स्थानीय सरकारले पूरा गर्नेखालका आइरहेका छन्,’ उनले भने, ‘हामीले पूरा गर्न नसक्ने माग प्रदेश र संघीय सरकारसँग समन्वय गरेर पूरा गर्दैछौं। समन्वय गरेरै नगरमा ठूला विकासे योजनासमेत ल्याएका छौं।’ नगरकै समन्वयमा १ नम्बर प्रदेश सरकारले सूर्याेदयलाई ‘पर्यटकीय नगरी’ घोषणा गरिसकेको छ। संघीय सरकारले सूर्याेदयको कन्याम–फिक्कल–अन्तु सर्किटलाई देशका सय पर्यटकीय गन्तव्यमा सूचीकृत गरिसकेको छ। चियाको ‘राजधानी’ मानिने सूर्याेदयकै कन्याममा नगर र प्रदेश सरकारको साझेदारीमा २३ करोड रुपैयाँ लागतको चिया प्रशोधन केन्द्र बन्दैछ। नगरका प्रत्येक वडामा बाह्रैमास सवारीसाधन चलाउन सक्नेगरी ‘बाह्रमासे सडक’ को अवधारणा ल्याइएको छ।

चुनावका बेला उम्मेदवारले गाउँ–गाउँमा सडक, बिजुली, खानेपानी, कृषि, पूर्वाधारलगायत दर्जनौं क्षेत्रमा सुधार ल्याउने आश्वासन दिएका थिए। तर जितेर आएका जनप्रतिनिधिले फेरि ‘फर्केर नहेरेको’ नागरिकको चिन्ता भइरहेका बेला सूर्याेदयले गुनासो चौतारीलाई पहिलो प्राथमिकतामा राखेको मेयर राई बताउँछन्। ‘हामीले समृद्ध नेपाल, सुखी नेपालीको नारा लिएका छौं,’ उनी भन्छन्, ‘विकटका यी र यस्तै समस्या समाधान भएनन् भनेर गरिबको मुहारमा खुसी आउँदैन, दुरदराजका गरिब नहाँसेसम्म समृद्धि प्राप्त हुँदैन !’

प्रकाशित: १७ माघ २०७६ ०१:०७ शुक्रबार

सूर्याेदय_नगरपालिका नागरिक_गुनासो